माघ २, काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को शेयरमूल्य एक महीनाको अवधिमा ५५ प्रतिशत बढेको छ । पछिल्लो एक हप्ताम मात्रै बैंकको शेयरमूल्य सय रुपैयाँ बढिसकेको छ ।
डिसेम्बर १३ मा २६८ रुपैयाँमा किनबेच भएको कम्पनीको शेयर जनवरी १६ मा ४१५ रुपैयाँ सम्ममा किनबेच भएको छ ।
लामो समय ३०० रुपैयाँ मुनी बसेको कम्पनीको शेयरमूल्य पछिल्लो एक हप्तादेखि निरन्तर उकालो लागिरहेको छ ।बैंकले भारतमा विद्युत व्यापार गर्न भारतीय कम्पनीसँगै साझेदारी गरेपछि कम्पनीको शेयरमूल्य निरन्तर उकालो लागेको हो ।
बैंकको आइतवार एक घण्टामै ११ करोड रुपैयाँ बराबरको शेयर किनबेच भइसकेको छ ।अधिकतम ४१५ रुपैयाँसम्म पुगेको बैंकको शेयरमूल्य समाचार तयार पार्दासम्म ४०४ रुपैयाँ रहेको छ ।
केहि समयअघि २६८ रुपैयाँ सम्म झरिसकेको बैंकको शेयरमूल्य छोटो समयमै ५५ प्रतिशतसम्म बढेर ४१५ रुपैयाँ पुगेको हो ।
सन्तुलित लगानी गरेको बैंकको वित्तीय अवस्था पनि सन्तुलित नै छ । तर बजारमा सर्वसाधारणतर्फ शेयरको आपूर्ति धेरै रहेका कारण यसको बजार मूल्य अलिकति बढ्ने वित्तीकै विक्री चाप बढ्ने गरेको पाइन्छ ।
सीमित शेयर भएको कम्पनीको जसरी निफ्राको सेयर कर्नरिङ हुने सम्भावना छैन । त्यसैकारण पनि बैंकको शेयरमूल्य बढ्दा विक्री चाप बढी हाल्छ ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको बजार पुँजीकरण करीब ८५ अर्ब रुपैयाँ रहेको छ ।पछिल्लो एक वर्षको अवधिमा बैंकको शेयरमूल्य न्युनतम २६८ रुपैयाँ र अधिकतम ७२६ रुपैयाँ रहेको थियो ।बैंकले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर दिएको थियो ।