लाभकर साढे १३ करोड रुपैयाँभन्दा धेरैले घट्यो

काठमाडौं । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएबापत सरकारलाई बुझाउने कर साढे १३ करोडभन्दा धेरैले घटेको छ ।  कात्तिकमा सरकारलाई ८ करोड ४१ लाख ५४ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर प्राप्त भएको छ । यो असोजको तुलनामा १३ करोड ५४ लाख २४ हजार रुपैयाँभन्दा कम हो ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको थियो ।  कात्तिकमा असोजको तुलनामा कारोबार दिन कम भएकाले लाभकर कम भएको न्यौपाने बताउँछन् । उनका अनुसार कात्तिकमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालीनबाट ४ करोड ६० लाख ४१ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । असोजमा अल्पकालीन लगानीकर्ताबाट १५ करोड ७६ लाख रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट ६ करोड १९ लाख रुपैयाँभन्दा धेरै लाभकर संकलन भएको न्यौपानेको भनाइ छ । असोजमा संस्थागत लगानीकर्ताबाट संकलन हुन नसकेको लाभकर कात्तिकमा १ करोड ११ लाख रुपैयाँभन्दा माथि पुगेको न्यौपानेले जानकारी दिए । सरकारले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई व्यक्तिगतको हकमा दुई वर्गमा विभाजन गरी कर संकलन गर्छ । एक वर्षभन्दा बढी शेयर कायम गर्नेलाई दीर्घकालीन र १ वर्षभन्दा कम कायम गर्नेलाई अल्पकालीन लगानीकर्ता मानिएको छ । सरकारले अल्पकालीन लगानीकर्तासँग ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनसँग ५ प्रतिशत पूँजीगत लाभकर असुल्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । लगानीकर्ताले धितोपत्र कारोबारबाट नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ । कात्तिकमा दशैं, तिहारको सार्वजनिक बिदाका कारण धितोपत्र बजारमा जम्मा १२ दिन मात्र कारोबार भएको छ । धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यो १२ कारोबार दिनमा १० अर्ब २१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजार ७४९ कित्ता धितोपत्र किनबेच भएको छ । बजार भने असोज मसान्तमा १ हजार ८६४ दशमलव ६२ विन्दुमा रहेकोमा कात्तिक अन्तिम कारोबार दिनमा १ हजार ८५२ विन्दुमा झरेको थियो ।