काठमाडौ। धितोपत्र बजारबाट सरकारले आर्थिक वर्ष (आव) २०७९/८० मा रू. २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनबाट रू. ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट रू. १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा रू. ३३ करोड १२ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।
गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पूँजीगत लाभकर संकलन गरेको हो । अघिल्लो आव २०७८/७९ मा सरकारले रू. १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू. २ अर्ब ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू. ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो । त्यस वर्ष संस्थागत लगानीकर्ताबाट रू. १ अर्ब २६ करोडभन्दा बढी कर संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा रकमको हिसाबमा सरकारको आम्दानी रू. ७ अर्ब ३८ करोड २४ लाखभन्दा धेरैले घटेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष अल्पकालीन लगानीकर्ताबाट रू. ४ अर्ब ८५ करोड ५८ लाख कम पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीबाट संकलित कर अघिल्लो वर्षको तुलनामा गतवर्ष रू. १ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ कम छ ।
सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले आव २०७८/७९ को कुल पूँजीगत लाभकरमध्ये रू. २२ करोड ५९ लाखभन्दा बढी व्यक्तिगत अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबाट संकलन भएको जानकारी दिए । आव २०७८/७९ नेपालको धितोपत्र बजारले कीर्तिमान कायम गरेको वर्ष भएकोले पूँजीगत लाभकर संकलन बढी भएको उनले बताए । २०७८ भदौ २ गते नेपालको समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक ३ हजार २०० विन्दुभन्दा माथि पुगेको थियो ।
अघिल्लो आवमा जस्तो उत्साह आव २०७९/८० मा लगानीकर्तामा नदेखिएकाले सरकारको आम्दानीमा कमी आएको न्यौपानेको अनुमान छ । उनले आव २०७८/७९ को साउनमा मात्र रू. ३ अर्ब २४ करोड ६९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । शेयर सूचकले कीर्तिमान कायम गरेको दिन कुल बजार पूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । आव २०७९/८० को अन्तिम दिन कुल बजार पूँजीकरण रू. ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । लगानीकर्ताको सम्पत्ति मूल्य कम भएसँगै गत आवमा सरकारको लगानीकर्ताबाट नाफामा उठाउने करमा समेत कमी आएको न्यौपानेको भनाइ छ ।
सरकारले धेरै कर उठाउने क्षेत्रमध्ये धितोपत्र बजार पनि एक हो । कोरोना महामारीले देशका अन्य आर्थिक गतिविधि बन्द रहेको बेला पनि सरकारले धितोपत्र बजारबाट मासिक अर्बौं रुपैयाँ कर संकलन गरेको थियो ।
सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताले कमाएको नाफामा १० प्रतिशतसम्म पूँजीगत लाभकर लिन्छ छ । संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट बढीमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर सरकारले संकलन गर्छ । व्यक्तिगत लगानीकर्ताले दुई प्रकारको पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र सोभन्दा कम अवधि शेयर कायम गर्नेलाई अल्पकालीन लगानीकर्ता मानेर सरकारले अल्पकालीनबाट ७ दशमलव ५ र दीर्घकालीनबाट ५ प्रतिशत पूँजीगत लाभकर असुल्छ । धितोपत्रका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ ।