नेपालको दक्षिणी छिमेकी मुलुक लामो समयसम्म विदेशीको दासतामा रहँदा त्यहाँको समाजमा आफ्नोपन, आफ्ना विद्या, शाास्त्र, विधि र पद्धतिमा यत्ति धेरै अविश्वास पैदा हुन गयो कि सिँगो समाज विस्मृति, हीनताबोधको चरम शिकार हुन पुग्यो । फलस्वरूप आफ्ना पुर्खाहरूबाट रचित, सृजित र अभ्यास गरिने हरेक शास्त्र, विधा र शीपहरू अवैज्ञानिक र अव्याहारिक लाग्न थाले । अरबियन र यूरोपेली प्रभावका कारण पूरै समाजको आँखामा अन्धताको कालो पर्दा बाँधिँदा आजसम्म पनि त्यो समाज पूर्णतया दिग्भ्रममा छ ।
सदैव स्वतन्त्र र सार्वभौम रहेको मुलुक भए तापनि निकटतम छिमेकी मुुलुक भारतमा ९औं शताब्दीयता व्याप्त विस्मृति, हीनताबोध र अन्धताको प्रभाव नेपाली समाजमा पनि समानुपातिक रूपमा परेको पाइन्छ ।
हीनताबोधबाट ग्रस्त यी दुवै समाजले आफ्ना विशिष्ट गुणहरूलाई घृणा गरिरहेका हुन्छन् । जब पश्चिमी कुनै विद्वान्बाट कुनै संस्कृत ग्रन्थ, पूर्वीय पद्धतिका बारेमा सकारात्मक दृष्टिकोण आएपछि मात्र ती ग्रन्थ र पद्धतिले समाजमा मान्यता पाउँछन् । भरतको नाट्यवेद, पिंगलको छन्दशास्त्र, पाणिनीको व्याकरण, वात्स्यायनको योगशास्त्र, पतञ्जलीको योगसूत्र, वात्स्यायनको कामसूत्रलाई पश्चिमले यी ग्रन्थहरू विश्वका सर्वोत्कृष्ट ग्रन्थहरू हुन् भनेर चिनारी दिएपछि मात्रै नेपाल र भारतको समाजले यी ग्रन्थलाई महत्त्व दिन थालेका हुन् । यी दुवै समाज आफूप्रति यत्ति धेरै लज्जित छन् कि आफ्नो पद्धति र भाषामा आफ्ना विद्याहरू अभ्यास र उच्चारण गर्न पनि हिचकिचाउँछन् तर सोही विद्यालाई पश्चिमी लवजमा उच्चारण गर्दा आफूलाई सभ्य ठान्छन् । उदाहरणका लागि यहाँको समाजमा योगा भने पछि मानिसहरू आफूलाई सभ्य ठान्छन् भने योग भने पछि आफूलाई कसैले असभ्य भनिदिने हो कि भनेर संकोच मान्छन् ।
यही विस्मृति र हीनताबोधको दलदलमा नेपाली समाज यत्ति नराम्ररी फसेको छ, उसलाई आफ्ना पुर्खाले आविष्कार गरी प्रयोगमा ल्याएका हरेक विधा, विद्या, शीप र प्रचलनहरू मिथ्या लाग्न थालेका छन् । आफ्ना पुर्खाहरूबाट स्थापित मान्यताको वैज्ञानिकता, व्यावहारिकता र प्रभावकारिताका बारेमा संगठित र नियोजित रूपमा विना अध्ययन अत्यन्त नकारात्मक भाष्य समाजमा स्थापित गर्ने अभ्यास कथित पढे लेखेको वर्गबाट हुँदा यो अवस्था सृजना भएको हो ।
पूरै यूरोप तथा आधी एशियामा बोलिने भाषाहरूको जननीका रूपमा रहेको संस्कृतलाई मृत भाषा घोषणा गर्दै संस्कृत भाषाको नाम उच्चारण गर्नु पनि ठूलै अपराध गरेजस्तो गरी प्रतिरोध शुरू हुन्छ ।
रसायनयुक्त क्रिमले शिशुहरूको छाला बिगार्छ, तोरीको तेल सर्वोत्तम हो भनेर पश्चिमी संसारले भने पछि मात्रै नेपालका कथित शिक्षित परिवारले पुनः नवजात शिशुलाई घाममा राखेर तोरीको तेल घस्न थालेका हुन् । जन्क फुड राम्रो होइन भनेर पश्चिमी संसारले भनेपछि मात्रै नेपालको कथित शिक्षित समाज ढिडो, लिटोमा फर्केको हो ।
आफ्ना जति सबै नराम्रा भन्दै प्रतिरोध गर्ने कथित शिक्षित वर्गका कारण समाजका परम्परागत विद्याहरू क्रमशः लोप हुने अवस्थामा छन् । सर्पको विष रक्सी मुखमा राखी चुसेर फाल्ने थारूहरूको शीप यस्तै कथित शिक्षित वर्गको कुप्रचारको शिकार भई आज लोप हुने अवस्थामा पुगेको छ । जडीबुटीको परम्परागत प्रयोगले धेरै रोगहरू अस्पताल नपुग्दै सञ्चो हुने अवस्था विद्यमान हुँदाहुँदै आज त्यो प्रयोग नगर्ने वातावरण सृजना भएको छ । परम्परागत विद्याको प्रयोग गर्नेहरू असभ्य हुन् भनी प्रचार गरिएकाले घरेलु पद्धतिबाट सन्चो हुने प्रकृतिका रोगहरूको उपचारमा पनि अस्पताल धाउनु परिरहेको छ ।
बसेर शौच गर्ने परम्परागत चलनलाई असभ्य भन्दै कोमोड कल्चरमा रमेको नेपाली शिक्षित समाज पश्चिमी अनुसन्धानले कब्जियतको स्रोत कोमोडमा बसी शौच गर्नु हो भने पछि फेरि टुक्रुक्क बसेर शौच गर्ने दिशामा जान थालेको छ ।
विश्वमा जडीबुटीको अन्तरराष्ट्रिय व्यापारको तथ्यांकले भने यस क्षेत्रको महत्त्वका बारेमा आफै स्पष्ट पार्छ । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०२० मा विश्वका विभिन्न देशहरूले करीब ३ अर्ब ४० करोड यूएस डलर बराबरका विभिन्न किसिमका जडीबुटी आयात गरेको पाइन्छ । ५ वर्षअगाडि जडीबुटीको आयात ३ अर्ब यूएस डलर थियो ।
जडीबुटीका प्रमुख आयातकर्ताहरू यूएसए, जर्मनी, जापान, हङकङ, चीन, ताइवान, फ्रान्स, द.कोरिया, भारत र स्पेनजस्ता विकसित र विकासशील देशहरू रहेबाट जडीबुटीको महत्त्व पुष्टि हुन्छ । ग्लोबलन्यूज वायर डटकमका अनुसार सन् २०३० मा औषधिय जडीबुटीको विश्व बजार करीब ५५० अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ । सन् २०१९ मा यो आकार ८१ अर्ब यूएसडलरमा मात्र सीमित थियो । यी तथ्यांकबाट विश्वमा जडीबुटी र त्यसबाट निर्मित औषधिहरूको आकर्षणका बारेमा एउटा झलक दर्शाउँछ । तर, नेपालको कथित शिक्षित वर्ग जडीबुटीको नियोजित परित्यागको अभियानमा छ ।
विभिन्न देशहरूले आफ्ना परम्परागत चिकित्सा पद्धतिको प्रचारप्रसार गर्न विदेशमा समेत आफ्ना चिकित्सा केन्द्रहरू स्थापना गरेका हुन्छन् । आफ्ना परम्परागत पद्धति, खानपिन र उपभोगका सम्बन्धमा आफ्नै मानक, मान्यता, पद्धति र प्रणालीको स्थापना गरिएको हुन्छ । हजारौं हजार वर्षदेखि प्रयोगको कसीमा उत्तीर्ण भएका यस्ता स्थापित मानकका कारण यी पद्धतिहरू समाज सुहाउँदो, प्रभावकारी, प्राप्य र सहज हुने गर्छन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट हाम्रा पुर्खाले स्थापित गरेका चिकित्सा पद्धति, प्रचलन, रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा प्रयोग हुने परम्परागत खानपिन, जडीबुटीको महŒव, लेपन, सेवन र उपयोगका बारेमा बेलाबेलामा आफ्ना धारणाहरू प्रस्तुत हुने गर्छन् । प्रधानमन्त्रीबाट यस्ता धारणाहरू बाहिर आउँदासाथ कथित शिक्षित वर्ग विषयवस्तुमा प्रवेशै नगरी प्रधानमन्त्रीको धुँवाधार विरोधमा उत्रिने गरेको छ । यसका पछाडि राजनीतिक कारणमात्र होइन । खासमा नेपालमा एउटा यस्तो वर्ग छ जो नेपालीहरूमा परम्परागत शीप, पद्धति, शास्त्र, विधिविधान, प्रचलन, विधा र ज्ञान समाप्त होस्, मूलसँग शाखाहरूको सम्बन्ध विच्छेद होस् भन्ने चाहन्छ ।
विश्वभरि नै आधुनिक चिकित्सा पद्धति र परम्परागत चिकित्सा पद्धति सँगसँगै लैजानुुपर्छ भन्ने सम्यक् मान्यता स्थापित भइरहेको सन्दर्भमा नेपाली हावापानी सुहाउँदो परम्परागत चिकित्सा पद्धतिमाथि सुनियोजित आक्रमण आफैमा चिन्ता र चासोको विषय बन्न पुगेको छ ।
पुर्खाका अभ्यासहरूप्रति प्रायोजित वैरभाव राख्ने प्रवृत्तिबाट नेपाली हावापानी सुहाउँदा अभ्यासहरू माथि भइरहेको सुनियोजित आक्रमणलाई निस्तेज तुल्याउन यस क्षेत्रमा सरकारको सक्रिय उपस्थितिका लागि परम्परागत अभ्यासहरूलाई संस्थागत गरिनुपर्छ । विभिन्न जातजातिमा रहेका परम्परागत चिकित्सीय ज्ञानलगायत शीप र शास्त्रहरूको संरक्षण, प्रवद्र्धन र नवप्रवर्तनका लागि संस्थागत व्यवस्थाका साथै निरन्तरको आर्थिक सहयोग उपलब्ध हुने व्यवस्था हुन पनि त्यत्तिकै जरुरी छ । समाजमा स्थापित शीप, कला, विधा र शास्त्रका बारेमा पूरै समाजलाई सचेत र आकर्षित तुल्याउन राजनीतिक, सामाजिक, अनुसन्धान र शैक्षिक गतिविधिहरूमार्पmत विशेष पहल हुन जरुरी छ । यसो गर्न सकेको खण्डमा परम्परागत नेपाली पद्धतिलाई नियोजित रूपमा निषेध गर्ने वर्ग आफै किनारा लाग्ने तथा परम्परा र आधुनिकता एकअर्काका परिपूरकका रूपमा अस्तित्वमा रहने निश्चित छ ।
नमस्ते गर्नु पाखे हो हात मिलाउन सभ्य हो भन्ने कथित नेपाली शिक्षित समाजको मानसिकतामा वर्तमान महामारीले अभिवादनमा सर्वश्रेष्ठ विधि नमस्कार पो रहेछ भनेर परिवर्तन ल्याएझैं समयक्रम र सत्प्रयासले हाम्रा परम्परागत अभ्यासहरू, आयुर्वेद जडीबुटी आधारित चिकित्सा पद्धति र खानपिन सर्वश्रेष्ठ रहेछ भनेर प्रमाणित हुने निश्चित छ । तसर्थ प्रधानमन्त्रीबाट पूर्वीय पद्धतिको पक्षमा व्यक्त अभिव्यक्तिहरूलाई संस्थागत गर्नु आजको अपरिहार्य आवश्यकता हो ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।