फालिएका तरकारी र दूधको अर्थशास्त्र : बिचौलियाको तह कम गर्न आवश्यक

केही दिन पहिले चितवनका मूल सडकमा त्यहाँका किसानले आफूले उत्पादन गरेका तरकारीहरू फालेर एकखाले सांकेतिक विद्रोह गरेका छन् । यस्तै खाले विरोध यसअघि पनि हुने गरेकै हुन् । कसैले दूध सडकमा घोप्ट्याएर, कसैले तरकारी सडकमा पोखेर, कसैले खाल्डोमा पुरेर पनि विरोध जनाएकै हुन् । यी दृश्य हामीले सञ्चारका माध्यमबाट हेरेकै हौं, सुनेकै हौं । त्यस्तो विद्रोहका पछि अनेकौं कारण होलान् । तर, त्यसले तत्काललाई भने किसानले आफ्ना उपजको उचित मूल्य पाएका छैनन्, बिचौलियाका कारण स्वदेशी तरकारी उत्पादनले बजार पाउन सकेको छैन, शीतकेन्द्र र भण्डारणको व्यवस्था छैन भन्ने संकेत प्रवाह भएको छ, जुन कटु यथार्थ हो । नेपाली किसानहरूलाई अर्थतन्त्रको बलियो आधार मान्ने हो भने यो पेशामा लाग्नेहरूको संरक्षण गर्न ढिला गर्नु हुँदैन । किसानले सीधै उपभोक्तामा सहजरूपले उपजहरू पुर्‍याउने गरी वा थोक व्यापारीमार्फत एक तहको बिचौलियाको मात्र उपस्थिति हुने प्रणालीको विकास गर्नैपर्छ । यसले के देखाएको छ भने किसानहरूले आफ्ना उपजको उचित मूल्य कहिल्यै पाउँदैनन् । विरोधको आवाज सुन्ने सुनाउने ठाउँ पनि छैन । तीन प्रकारका सरकार भए पनि तिनका लागि नभएकै बराबर देखिएको छ । किसानले आफ्ना उपजको मूल्य त पाएनन् पाएनन्, खाद्य सम्प्रभुताको जोगाड गर्नुपर्छ भन्ने चेतले पनि सरकारमा बस्नेहरूको कानमा बतास नलागेको देख्दा लाग्छ, यो देशमा किसान हुनु भनेको एक विडम्बना हो र ती भनेका जहिल्यै ठगिने पात्र मात्र हुन् । हुन त यसखाले विद्रोह गरेर यहाँका किसानले आत्मसन्तोषको थोरै सास फेर्लान् तर त्यसले समस्याको समाधान दिँदैन । जबसम्म भारतीय तरकारी र विदेशी फलफूल नियन्त्रण वा व्यवस्थापनको घेरामा ल्याउन सकिँदैन यसको समाधान कहिले हुँदैन । यसैले सरकारी तवरबाटै तरकारी आयात र फलफूल आयातमा नियन्त्रण, व्यवस्थापन गर्न जरुरी छ भने उसैगरी यहाँका किसानलाई त्यस्तो कृषि व्यवसायमा लाग्न हरतरहको प्रोत्साहनलगायत आवश्यक पूर्वाधारहरूको बन्दोबस्ती पनि गर्नुपर्छ । हो, यी सबै थोक गर्न समय लाग्छ । यो क्षेत्रमा यसखाले समस्या आउन थालेको अहिले होइन, लोकतन्त्र र संघीय गणतन्त्र आउनुअघिकै हो । लोकतन्त्र आएकै पनि ३ दशक (२०४७–२०७९) नाघिसक्यो । संघीय लोकतान्त्रिक गणतन्त्र आएको पनि १५ वर्ष (२०६५—२०७९) पुग्दै छ । यो अवधि कम भन्न नमिल्ला । यो समयसम्ममा त कृषिक्षेत्रमा देखिएका यस्ता समस्या समाधान गर्न नसकिने भन्ने थिएन । फलफूलको बजार, त्यसको आपूर्ति सबै बिचौलिया र भारतीय व्यापारीको हातमा भएपछि यहाँका किसानले मूल्य पाएनन् भन्नुको तुक रहँदैन । बिचौलिया को हुन् त्यसको खुलासा भएको छैन । ६ तहसम्मको बिचौलिया रहेको उजागर भएको छ । यदि ती बिचौलिया पनि भारतीय नै हुन् भने त सामान्य अर्थमा बुझ्दा पनि तिनले उतैकालाई त पोस्ने हुन् । जो भए पनि बिचौलियाको कर्म भनेकै बिथोल्नु हो र नाफा तिनको एकमात्र अभीष्ट हो । उपभोक्ता र उत्पादनकर्ताका बीचमा सहजता ल्याउने कर्म र धर्म तिनमा हुँदै हुँदैन । तरकारी र फलफूलको ठूलो बजार भनेकै पचासौं लाखको आवादी भएको काठमाडौं खाल्डो नै हो । यहाँको तरकारी बजार कुनकुन र कसकसको नियन्त्रणमा छ भन्ने कुरा सरकारमा बस्नेहरूलाई थाहा नहोला भन्न सकिँदैन । विगतको नाकाबन्दीताका भारतीय तरकारी बोकेका मालवाहक साधनहरू सजिलै नेपाल भित्रिन्थे र तीबाहेक अन्य सामान बोकेका साधनहरू महीनांैसम्म सीमा नाकामा थन्किन्थे । यसको अर्थ यो होइन कि आयातै गर्न हुँदैन र स्वदेशी उत्पादनै पर्याप्त छ । मूल आशय के हो भने यहाँका किसानहरूको उपजले उचित मूल्य पनि पाउनुपर्छ र आयातित तरकारी र फलफूलको व्यवस्थापन गरिनुपर्छ । चितवनमा ५ रुपैयाँ प्रतिकिलोमा पाइने गोलभेंडालाई काठमाडौंका उपभोक्ताले ६० रुपैयाँ तिर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । किसानले कमसे कम तीसै रुपैयाँ मात्र पाएको भए पनि उपभोक्ताबाट लिइने यो मूल्यको औचित्य पुष्टिन्थ्यो । किसान र उपभोक्ताबीच मूल्यको यति ठूलो खाडल बनाउने काममा कसकसको हात छ भन्ने कुराको खोज्ने प्रयास सरोकारीहरूले गर्ने हो भने त्यसको अन्त्य क्षणभरको काम मात्र हो । यसमा सरकारले अनदेखा गर्न मिल्दैन । किसानका उपज सहकारीका माध्यमबाट खरीद विक्रीलगायत तीमार्फत कृषि उत्पादनसित सरोकार राख्ने अन्य कुराको बन्दोबस्त गर्न कुनै ठूलो नीति आवश्यक पर्दैन । यसको व्यवस्थापन गर्न धेरै समय पनि चाहिँदैन । मात्र असल नियत र कार्यान्वयनको इमानदारी आवश्यक छ । किसान र युवा बेरोजगारहरूलाई व्यावसायिक खेती गर्नुपर्छ भन्ने सरकारले तिनका उपज वा उत्पादनको संकलन केन्द्रको स्थापना, बजारीकरण, भण्डारण, मलखादको व्यवस्था, सिँचाइ, विद्युत्को व्यवस्था, सहुलियत कृषि ऋणको व्यवस्था, अनुदानलगायत प्रविधि र तालीम आदिको सरसहयोगमा पनि लाग्नुपर्छ भन्ने कुरा भनिरहन नपर्ने विषय हुन् । ती त कृषिकर्मसितै जोडिएर आउने विषय हुन् । उदाहरणका लागि उखुखेती गर्ने किसान जहिल्यै चिनी मिलले रकम भुक्तानी दिएन भनेर माइतीघर मण्डलामा आएर धर्ना दिने प्रथाको अन्त्य हुनैपर्छ । जबसम्म किसान सुविधा स्वतस्फूर्त रूपमा उपलब्ध हुन्छ भन्ने कुरामा ढुक्क हुन सक्दैन यो कर्ममा लाग्नेहरूको नियति सडकमा तरकारी फाल्ने र दूध पोख्नेजस्तै भई नै रहन्छ । यस्तै हुने हो भने नेपाली तरकारी बजारमा बिचौलियाकै राज रहिरहने र उपभोक्ताचाहिँ जहिल्यै मूल्यको मारमा परिरहनुपर्ने नियति आई नै रहनेछ । उपभोक्ताले तिर्ने मूल्यको राजस्व न सरकारमै पुगेको छ न त बिचौलियाले तिर्ने करकै टुंगो छ । किसानका त के कुरा गर्नु जहिल्यै उपज सडकमा फाल्नुपर्ने नियतिले गर्दा यो क्षेत्रमा १ दिन यस्तो पनि आउला तिनले किसानी कर्म नै छाडी दिनेछन् र खाडी मुलुकतिरै लस्कर लाग्न पनि पुग्नेछन् । हुन त सबै समस्याको समाधान सडकमा तरकारी फालेर र दूध पोखेर मात्र हुँदैन । नीतिगत व्यवस्थाका लागि तिनले सरकारलाई दबाबमा राख्नु त पर्छ नै बिचौलिया राजको अन्त्यका लागि एकजुट हुन पनि आवश्यक छ । यसका लागि ती संगठित हुनैपर्छ । सहकारी त्यसको एक माध्यम हुनसक्छ । तरकारीलाई लामो समयसम्म जोगाएर राख्न स्थानीय सरकारहरूले उचित भण्डारण सुविधा उपलब्ध गराउने, लघुउद्यममा लाग्नेहरूलाई सहुलियतपूर्ण ऋणको व्यवस्था मिलाउने र सरकारले अनुदान उपलब्ध गराउनेजस्ता कार्यमा लाग्नैपर्छ । यस्तो सुविधा पहुँच हुनेका लागि मात्र हुने शैलीको पनि अन्त्य हुनुपर्छ भने आम कृषकले यस्ता सुविधा कसरी सहजरूपले पाउन सक्छन्, त्यसको बन्दोबस्तीचाहिँ चुस्त र इमानदारीपूर्वक हुनुपर्छ । यसो हुनसक्यो भने मात्र नेपालीहरूको भातभान्सा पनि केही सरल होला । अर्बौंको केरा र फलफूलको आयात रोकिएला र यहाँका कृषि उपजले पनि बिस्तारै बजार पाउला । नेपाली किसानहरूलाई अर्थतन्त्रको एक बलियो आधार मान्ने हो भने यो पेशामा लाग्नेहरूको संरक्षण गर्न अब ढिला गर्नु हुँदैन । किसानले सीधै उपभोक्तामा सहजरूपले उपजहरू पुर्‍याउने गरी वा कमसे कम थोक व्यापारीमार्फत एक तहको बिचौलियाको मात्र उपस्थिति हुने प्रणालीको विकास गर्नैपर्छ । यो क्षेत्रमा लाइसेन्स प्रणालीका आवाज पनि यसबेला गुञ्जन थालेकाले कतै त्यसले बिचौलियाहरूकै पृष्ठपोषण गर्ने कामचाहिँ नहोस् । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

सम्बन्धित सामग्री

१३ प्रतिशत भ्याटको असर : महँगियो तरकारी, फलफूल

काठमाडौं । सरकारले बजेटमार्फत तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै त्यस्ता वस्तु आयात गर्न व्यवसायीले आनाकानी गर्न थालेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत यसअघि दिइएको छूट खारेज गरी त्यस्ता वस्तुमा १३ प्रतिशत भ्याट लगाउने नीति लिएका छन् । यसले प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्यूजील्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन, खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि उक्त कर लगाइएको छ ।  कर बढेसँगै भाउ पनि उकालो लाग्न थालेको छ । बजेटअघि ४० रुपैयाँ किलोको प्याज अहिले ६० रुपैयाँ पुगेको छ । २८० देखि ३०० रुपैयाँ पर्ने स्याउको मूल्य ३५० देखि ४०० रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको ५ दिनदेखि देशबाहिरको तरकारी आएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीले आलु, प्याजलगायत तरकारी ल्याएका छैनन् । आलुमा व्यापारीले प्रतिकेजी ४ रुपैयाँ भन्सार तिर्दै आएका थिए । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर थपिएको छ । प्याजमा प्रतिकेजी ६ रुपैयाँ भन्सार तिर्दै आएको र अग्रिम बुकिङमार्फत ५ प्रतिशत कर तिर्ने गरेकोमा भ्याट थपिएपछि प्याजको भाउ पनि बढेको छ ।  व्यापारीले कुहिने सामानमा भ्याट हिसाब गर्न नसकिने भन्दै आयात नै नगर्ने बताएका छन् । व्यापारी सुरेन्द्र श्रेष्ठका अनुसार यस्ता वस्तुमा भन्सार छूट हुनुपर्छ । तरकारी फलफूलमा लगाएको मूल्य अभिवृद्धिकर फिर्ता नभएसम्म आयात गर्ने अवस्था छैन । बजेट सार्वजनिक भएको भोलिपल्टबाटै बाहिरी मुलुकबाट तरकारी आयात गर्न व्यापारीले नमानेको श्रेष्ठको भनाइ छ । नेपालमा वार्षिक ४० अर्बको तरकारी र २२ अर्ब रुपैयाँको फलफूल आयात हुने गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पूर्वतयारी गरेको छैन । आन्तरिक उत्पादनले धान्न नसकेको अवस्थामा कृषिजन्य उपजमा मूल्य अभिवृद्धिकर लगाउँदा उपभोक्ताको ढाड सेक्ने काम मात्र भएको जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार राजस्व बढाउने नीति लिएर सरकारले तरकारी र फलफूलमा कर लगाएपछि त्यसको असर उपभोक्ताको भान्छामै परेको छ ।  अर्थ मन्त्रालयका अनुसार त्यस्ता वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरिएको छ । अर्थका अनुसार ५० लाख रुपैयाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धिकर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेले भ्याट तिर्नु पर्दैन । सरकारले भ्याट नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र सेवाको हकमा २० लाख रुपैयाँ मूल्य अभिवृद्धिकरको सीमा तोकिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

कालिमाटी तरकारी बजारले दिने संकेत

नेपालमा भारतबाट अत्यधिक मात्रामा तरकारी र फलफूल अयात हुन्छ भनेर धेरैले भन्ने गरे पनि तथ्यांकले तरकारीको आपूर्तिमा आन्तरिक उत्पादनको अंश नै बढी रहेको देखाएको छ । त्यस्तै नेपालका १९ जिल्लाबाट प्रमुख रूपमा तरकारी भित्रिएको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारत र चीनबाट पनि तरकारी र फलफूल आयात भएको देखिन्छ । यहाँ दैनिक ४ करोड रुपैयाँ बराबरको तरकारी कारोबार हुन्छ । यो थोक बजार भए पनि केही मात्रामा खुद्रा व्यापारसमेत हुने गरेको छ । ७७ जिल्लामध्ये १९ जिल्लाले यति ठूलो परिमाणमा तरकारी आपूर्ति गर्दा रहेछन् भने बाँकी जिल्लाबाट पनि तरकारी आयात गर्ने हो भने नेपाली तरकारीले नै आपूर्ति धान्न सक्ने देखिन्छ । नेपालभित्रबाट तरकारी काठमाडौं ल्याउँदा ५ प्रतिशत कुहिएर खेर जाने गरेको छ । त्यस्तै खुद्रा व्यापारीले उपभोक्तासम्म पुर्‍याउँदा ८ देखि १० प्रतिशतसम्म तरकारी खेर जाने गरेको पाइन्छ । यस्तै किसानले उत्पादन गरेको तरकारी संकलन केन्द्रसम्म पुर्‍याउँदा पनि केही तरकारी खेर जान्छ । यी सबैलाई जोड्ने हो भने कुल उत्पादित तरकारीको झन्डै २० प्रतिशत कुहेर खेर जान्छ । यसको अर्थ तरकारीको भण्डारण गर्ने शैली र उपकरण राम्रो छैन भन्ने हो । यसरी तरकारी खेर जाँदा किसानलाई त क्षति हुन्छ नै यसको भार उपभोक्तामाथि पर्छ । त्यसैले यसमा देखिएको क्षतिलाई पूरा गर्न चिस्यान सुविधासहितको गाडी व्यवस्था गरिनुपर्छ । साथै, कालिमाटी तरकारी विक्री केन्द्रमा समेत यस्तो व्यवस्था गरिनु उपयुक्त हुन्छ जसको लाभ उपभोक्ता र किसान दुवैले पाउन सकून् । नेपालको तरकारी वितरण प्रणालीमा सुधार गर्ने हो भने किसान र उपभोक्ता दुवैले लाभ लिन सक्छन् । अर्को दूरदराजका क्षेत्रबाट समेत तरकारी ढुवानी सहज बनाउँदा आन्तरिक उत्पादन बढ्न सक्छ । यसको साथै भारतीय तरकारीमा अत्यधिक विषादीको मात्रा छ भनेर उपभोक्ताले गुनासो गरिरहेका बेला यथार्थ अलि फरक देखिएको छ । काठमाडौंको बजारमा नेपालको तरकारीको अंश ठूलो भएपछि विषादी पनि नेपाली उत्पादनकै बढी हुने भयो । त्यसैले भारतीय तरकारी विषादी बढी भएको भनेर भाषण गर्नुभन्दा समस्या यकीन गरी जनचेतना फैलाउनुपर्ने देखियो । तथ्यांकले भारतबाट आयात गरिने तरकारीमा मात्र होइन, नेपाली तरकारीमै विषादीको मात्रा बढी देखिएपछि विषादी प्रयोगको न्यूनीकरणमा तीन तहका सरकारले के काम गरेर बसेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । नेपालमा विषादीको आयात बढिरहेको भन्सार विभागको तथ्यांकले पनि यसलाई स्पष्ट पार्छ । त्यसैले भारतबाट आयात गरिएको तरकारी मात्र होइन, आन्तरिक उत्पादनको समेत विषादी परीक्षण अनिवार्य गरिनुपर्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले यहाँ भित्रिने तरकारीका केही नमूनाको विषादी परीक्षण गर्ने गरेको छ । समितिले कार्बामेट र अर्गानोफस्फेट परीक्षण गरी त्यसको मात्रा जानकारी दिने गरेको छ । नेपालमा विषादीको विषयलाई लिएर बेलाबेला अनेक छलफल हुने गर्छन् । वास्तवमा यस्ता छलफलको आवश्यकता पनि छ, किनकि विषादीले मानव स्वास्थ्यलाई नकारात्मक असर गरेको हुन्छ । तर, त्यसमा समस्या बाह्यभन्दा आन्तरिक नै रहेछ भन्ने कुरा बुझ्न ढिला भइसकेको रहेछ । त्यस्तै, ताजा तथ्यांकले नेपाल तरकारीमा आत्मनिर्भर बन्न सक्ने सम्भावनासमेत देखाएको छ । ७७ जिल्लामध्ये १९ जिल्लाले यति ठूलो परिमाणमा तरकारी आपूर्ति गर्दा रहेछन् भने बाँकी जिल्लाबाट पनि तरकारी आयात गर्ने हो भने नेपाली तरकारीले नै आपूर्ति धान्न सक्ने देखिन्छ । यति मात्र होइन, काठमाडौंमा तीव्र घडेरीकरणका कारण कृषियोग्य जमीनको अभाव भएको भनिए पनि तरकारी आपूर्तिमा उपत्यकाको अंश ठूलै देखिन्छ । त्यस्तै तरकारी बिकेन भनी सडकमा फाल्ने गरिएको चितवनको अंश भने अहिलेको यामको तथ्यांकमा ज्यादै कम देखिन्छ । यी तथ्यांकलाई राम्ररी विश्लेषण गर्दा नेपालको तरकारी उत्पादन र आपूर्तिका बारेमा प्रचलित विश्वास अमिल्दो देखिन्छ । यद्यपि काठमाडौंमा हुने तरकारी आपूर्ति सबै कालिमाटीमार्फत हुँदैन । बल्खु तरकारी बजार, माछापोखरीलगायत उपत्यकामा रहेको कैयौं तरकारी बजारमा सीधै तरकारी आयात हुने गरेको छ जहाँ विषादी परीक्षण लगायतको काम हुने गरेको छैन । तिनको पनि तथ्यांक हुने हो भने तरकारी आपूर्तिबारे धेरै तथ्य निक्लन सक्छ ।

अर्थविद् भन्छन्ः बारी बाँझो राखेर तरकारी किन्न बजार जानुभएन

अर्थतन्त्रको पछिल्लो अवस्था, अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्धबारे शुक्रबार नागरिककर्मी पुष्प भट्टले ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंशः...

अर्थ व्यवस्थामा नीति होइन, नियत आवश्यक

नीति, सिद्धान्त आदि अर्थतन्त्रको पनि जग मानिन्छ । तर, नियत सही भएन भने यो थला पर्छ र विकृति जन्मिन्छ, जसलाई नीतिगत भ्रष्टाचार भनिन्छ । नेपाल नीतिगत भ्रष्टाचार चरममा पुग्दै छ । विदेशी मुुद्रा सञ्चिति कम हुँदै गएको छ । बीबीसीको एक रिपोर्टअनुसार फेब्रुअरीको मध्यबाट नेपालको विदेशी मुद्रा सञ्चिति १६ प्रतिशतभन्दा बढी घटेको छ । विप्रेषणमा ५ प्रतिशतले कमी आएको छ । विदेशी मुद्रा सञ्चिति बचाउन कार, सुनजस्ता महँगा वस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ भने गैरआवश्यक केही वस्तु उच्च राजनीतिक दबाबका कारण खुला नै राखिएको छ । हाल नेपालको कुल गार्हस्थ्य उत्पादनको करीब ४३ प्रतिशत सरकारी ऋण रहेको तथ्यांकले देखाउँछ । यस अवस्थामा पूँजीगत खर्च विगत वर्षहरूझै निराशाजनक नै छ । आईएमएफको २०२१ को प्रतिवेदनअनुसार नेपालमा आर्थिक वृद्धिदर सन् २०२० सम्म १ दशमलव ९ प्रतिशत (नकारात्मक) रह्यो । सन् २०२१ मा २ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । विगतमा आर्थिक उन्नतिमा नेपालकै करीब समकक्षी मानिने बंगलादेशको वृद्धिदर नेपालको भन्दा निकै बढी छ । जलविद्युत् र पर्यटनलाई मात्रै समुचित विकास गर्न सके नेपालको विदेशी मुद्रा सञ्चिति र निर्यात स्वतः वृद्धि हुन्छ । जलविद्युत्को कुल सम्भावित उत्पादन क्षमताको १ दशमलव ५ प्रतिशत मात्र उत्पादन गर्न सकिएको छ भने कुल खेतीयोग्य जमीनको ५६ प्रतिशत भूमिमा मात्र सिँचाइ सुविधा पुर्‍याउन सकिएको छ । केन्द्रीय तथ्यांक विभागको सन् २०२१ को गणना अनुसार सन् २०११/१२ देखि २०२०/२१ सम्म राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान बढी छ । नेपालले सन् २०१७/१८ मा पर्यटन उद्योगबाट करीब रू. ६७ अर्ब आय आर्जन गर्न सफल भयो, जुन कुल वस्तु निर्यातमार्फत आर्जित विदेशी मुद्राको करीब ७१ प्रतिशत हुन आउँछ । नेपालमा आर्थिक विकासको क्षमता त भरपूर छ तर इच्छा र तत्परता अभाव छ । यहाँ इच्छा र तत्परताको अभावलाई विकास नचाहने नियत भनी बुझ्न सकिन्छ । कृषिप्रधान भनेर चिनिने नेपालमा कृषि उपेक्षित छ । औद्योगिक कच्चा तथा अर्धतयारी वस्तुका साथ अन्न र भान्सा सामग्रीमा समेत भारत र अन्य मुलुकमाथि निर्भर हुनु परेको छ । भूमिमा दोहोरो स्वामित्व हुनु, बैंक तथा वित्तीय संस्थाहरूको कुल ऋणप्रवाहको ७ दशमलव ६ प्रतिशत मात्र उत्पादनमूलक कृषिक्षेत्रमा जानुु, वर्षौंदेखिको कृषि क्षेत्रमा मल बीउबिजन र प्रविधिको अभाव हुनु आदिले कुनै समयमा कुल गार्हस्थ्य उत्पादनमा ९० प्रतिशत योगदान गर्ने कृषि अहिले लगभग २६ प्रतिशतमा सीमित हुन पुगेको छ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने नियत र नीति राखिएको भए अर्थतन्त्र निकै सबल हुने थियो । जबसम्म निर्यातलाई प्राथमिकता दिइँदैन तबसम्म अर्थतन्त्र समस्यामा रहिरहन्छ । नीति छ तर कार्यान्वयन छैन र त्यही भएर नियत सही हुनुपर्छ भनिएको हो । आयातमुखी अर्थतन्त्र भएको नेपालमा अन्तिम उपभोग्य र औद्योगिक वस्तु गरी करीब ९० प्रतिशतभन्दा बढी वस्तु भारतबाट आयात भएको पाइन्छ । किसानको अन्न र उब्जनी खेतमै कुहिन्छन् जबकि हाटमा भारतीय तरकारी र चिनियाँ फलफूलको बजार चम्किएको हुन्छ । प्राविधिक र गुणस्तरीय शिक्षाका लागि आज पनि नेपाली विद्यार्थी कर र जटिल प्रक्रिया पूरा गरेर भए पनि विदेशिन्छन् तर खै त विदेशी बच्चा नेपाल पढ्न भित्रिएको ? सबैमा विदेशी मुद्राको व्यय मात्र भएको छ । एकातिर नेपाली चिनी मिल आफ्नो चिनी बिकेन भनिरहेका छन्, अर्कोतिर बजारमा भारत, सिंगापुर र पाकिस्तानजस्ता मुलुकबाट आयातित चिनी सर्वत्र उपलब्ध हुन्छ । अनि किन चिनी मिल बन्द नहोस् ? अनि उखुखेतीको प्रवर्द्धन कसरी हुन्छ ? सरकारले आयातमा चर्को  शुल्क, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगाएको छ । त्यही आयात र ती वस्तुको विक्रीवितरणबाट सरकारले ठूलो कर उठाइरहेको छ । आयातमा विदेशी विनिमय खर्च हुन्छ भने वाणिज्य बैंकहरूले विभिन्न स्वरूपको ब्याज, मार्जिन र सेवाशुल्कहरू कमाएका हुन्छन् । अर्थ मन्त्रालयले कर र राजस्व संकलन गरिरहेको छ । आयात र विक्री वितरणबाट प्राप्त व्यययोग्य आय र बैंक तथा वित्तीय संस्थाहरूको ब्याज र सेवाशुल्क यो सबमा सरकार रमाइरहेको हुन्छ तर कुल गार्हस्थ्य उत्पादन, स्थानीय स्रोत र साधनहरूको उच्चतम व्यावसायिक उपयोग, कुल राष्ट्रिय आय, प्रतिव्यक्ति आय र देशको आत्मनिर्भर बन्ने सपनामा भने यसले गम्भीर असर पारिरहेको हुन्छ । वास्तवमा यहाँको अर्थव्यवस्थाको ढाड आयातको भारले यति निहुरिएको छ कि उत्पादन, उद्योग र निर्यातको नाम मात्रले यो डराएको अनुभूति हुन्छ । जहाँ अर्थतन्त्रको केन्द्र राजनीतिक महत्त्वाकांक्षा हुन जान्छ त्यहाँ आर्थिक क्रान्ति र उन्नति कठिन हुन्छ । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र केन्द्रीय बैंक आपसी सहकार्य गर्नुको साटो विवादमा फस्छन् । अर्थव्यवस्था सुधार गर्न नियमन र क्रियाशीलत चाहिन्छ । यसो गर्दा नियत भनेको केवल समग्र आर्थिक, सामाजिक र शैक्षिक विकास हुनुपर्छ । आज देखापरेको विदेशी मुद्राका अभाव फितलो अर्थतन्त्रको एक कठोर परिणाम मात्र हो । मूलभूत समस्या त मुलुकले निर्यात गर्न नसक्नु र उच्च चालू खर्च हुनु नै हो । देशका नागरिक बेरोजगारीका कारण विदेशिन्छन् र तिनका विपे्रषणबाट व्यापारीको व्यापार र सरकारको आम्दानी चम्किन्छ । विगत लामो अवधिदेखि अर्थ मन्त्रालयको ध्यानाकर्षण केवल राजस्व संकलनतिर नै रहन गएकाले उद्योगक्षेत्रको समस्या समयमै सम्बोधन हुन सकेन र देश विस्तारै आयातमुखी हुँदै गयो । यसले मुद्रास्फिति बढाउँदै लग्यो । विदेशी मुद्राको सुदृढ स्रोत निर्यात नै हो । यो थाहा हुँदा हुँदै पनि केवल विप्रेषण र वैदेशिक अनुदानमा भर परेकाले राष्ट्रमा विदेशी मुद्राको सञ्चिति कम भएको हो । लेखक नेशनल एकेडमी क्याम्पस, वीरगञ्जमा अर्थशास्त्र अध्यापन गर्छन् ।

गणतान्त्रिक व्यवस्था र वर्तमान अवस्था

अर्थ व्यवस्थामा खतराको तह छोपिसकेको मुलुकको आयात परिमाण, खर्बौंको व्यापार घाटा र आत्मनिर्भर बन्न सकिने सम्भावनालाई पनि समाप्त पारेर मुलुकलाई दाल–चामल, तरकारी र विद्युत् लगायत वैकल्पिक इन्धन इत्यादि सबै क्षेत्रमा पराश्रित बनाइएको छ।...

बजेटमा कृषिलाई प्राथमिकता व्यवहारमा बेवास्ता

अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माण कार्य सुरु गर्दै कृषिक्षेत्रलाई प्राथमिकतामा राखेको बताएको छ । हरेक आवमा झैं यसपटक पनि कृषिलाई प्राथमिकतामा राखेको अर्थमन्त्रालयले बताउँदै गर्दा कृषि वस्तु आयातको तथ्यांक पनि विचारणीय छ । कृषिप्रधान मुलुकमा वार्षिक रूपमा अर्बौंका तरकारी तथा खाद्यान्न आयात बढ्दै जानुका कारण नखोतली कृषिलाई प्राथमिकतामा राख्नुको कुनै अर्थ नरहेको […]

किसान ज्यूँदा सम्पदा

बन्दाबन्दीका कारण बन्दा‐तरकारी)को बिजोग भएपछि भक्तपुरका रुकेश ग्वाछा निराश छन् । ‘किसान पनि त ज्युँदा सम्पदा हुन नि,’ सांस्कृतिक सहर भक्तपुरका ग्वाछाले भने, ‘जवसम्म किसानलाई माथी उठाउने काम हुँदैन बाँकी कुराले कुनै अर्थ राख्दैन ।’

तरकारी, मासु र दूध ढुवानीमा २५ प्रतिशत अनुदान पाइने

काठमाण्डौ - सरकारले तरकारी, फलफुल, खाद्यान्न, मासु र अण्डा ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ । उत्पादनकर्ताले नजिकको बजार केन्द्र वा काठमाण्डौमा ढुवानी गर्न पालिकाले गाडीको बन्दोबन्द गर्ने र ढुवानी भाडामा २५ प्रतिशत अनुदान दिने सरकारले निर्णय गरेको हो । मन्त्रिपरिषद्ले गरेको राहत वितरण घोषणा कार्यान्वयन गर्न अर्थ मन्त्र...