१३ प्रतिशत भ्याटको असर : महँगियो तरकारी, फलफूल

काठमाडौं । सरकारले बजेटमार्फत तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै त्यस्ता वस्तु आयात गर्न व्यवसायीले आनाकानी गर्न थालेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत यसअघि दिइएको छूट खारेज गरी त्यस्ता वस्तुमा १३ प्रतिशत भ्याट लगाउने नीति लिएका छन् । यसले प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्यूजील्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन, खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि उक्त कर लगाइएको छ ।  कर बढेसँगै भाउ पनि उकालो लाग्न थालेको छ । बजेटअघि ४० रुपैयाँ किलोको प्याज अहिले ६० रुपैयाँ पुगेको छ । २८० देखि ३०० रुपैयाँ पर्ने स्याउको मूल्य ३५० देखि ४०० रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको ५ दिनदेखि देशबाहिरको तरकारी आएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीले आलु, प्याजलगायत तरकारी ल्याएका छैनन् । आलुमा व्यापारीले प्रतिकेजी ४ रुपैयाँ भन्सार तिर्दै आएका थिए । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर थपिएको छ । प्याजमा प्रतिकेजी ६ रुपैयाँ भन्सार तिर्दै आएको र अग्रिम बुकिङमार्फत ५ प्रतिशत कर तिर्ने गरेकोमा भ्याट थपिएपछि प्याजको भाउ पनि बढेको छ ।  व्यापारीले कुहिने सामानमा भ्याट हिसाब गर्न नसकिने भन्दै आयात नै नगर्ने बताएका छन् । व्यापारी सुरेन्द्र श्रेष्ठका अनुसार यस्ता वस्तुमा भन्सार छूट हुनुपर्छ । तरकारी फलफूलमा लगाएको मूल्य अभिवृद्धिकर फिर्ता नभएसम्म आयात गर्ने अवस्था छैन । बजेट सार्वजनिक भएको भोलिपल्टबाटै बाहिरी मुलुकबाट तरकारी आयात गर्न व्यापारीले नमानेको श्रेष्ठको भनाइ छ । नेपालमा वार्षिक ४० अर्बको तरकारी र २२ अर्ब रुपैयाँको फलफूल आयात हुने गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पूर्वतयारी गरेको छैन । आन्तरिक उत्पादनले धान्न नसकेको अवस्थामा कृषिजन्य उपजमा मूल्य अभिवृद्धिकर लगाउँदा उपभोक्ताको ढाड सेक्ने काम मात्र भएको जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार राजस्व बढाउने नीति लिएर सरकारले तरकारी र फलफूलमा कर लगाएपछि त्यसको असर उपभोक्ताको भान्छामै परेको छ ।  अर्थ मन्त्रालयका अनुसार त्यस्ता वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरिएको छ । अर्थका अनुसार ५० लाख रुपैयाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धिकर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेले भ्याट तिर्नु पर्दैन । सरकारले भ्याट नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र सेवाको हकमा २० लाख रुपैयाँ मूल्य अभिवृद्धिकरको सीमा तोकिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।   

सम्बन्धित सामग्री

हाटबजार सञ्चालन नहुँदा कैलालीमा महँगियो तरकारी

कैलाली । कैलालीमा किसानको स्थानीय उत्पादन विक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारीको मूल्य चर्को रूपमा बढेको हो । कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । ‘यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार बन्द भएकाले साना किसानको उत्पादनले बजार पाएन,’ किसान शम्भु चौधरीले भने, ‘यसको असर तरकारीको मूल्यमा परेको छ । बाहिर जिल्लाबाट आएको तरकारी छोइनसक्नु छ । गोलभेँडा, करेला, सिमी, बोडीलगायत तरकारीको मूल्य प्रतिकेजी रू. १०० भन्दा माथि छ ।’ स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन् । यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारीसमेत बजारमा आउन पाएको छैन । ‘साना किसानले उत्पादन गरेको तरकारी हाटबजारमा विक्री हुन्थ्यो, तरकारी विक्रेताकहाँ लैजाँदा मूल्य पाइँदैन,’ अर्का किसान रमेश धामीले भने, ‘मूल्य नपाइने भएपछि सम्भव भएजति गाउँमै विक्री गर्छौं, बाँकी बारीमै सड्छ । बजारका विक्रेताले हामीसँग किनेको तेब्बर मूल्यमा बेच्छन् ।’ वैशाखमा लकडाउन भयो । लकडाउनका समयमा बारीमा उत्पादन भएको तरकारी बजार नपाएर किसानले बारीमै नष्ट गरे । ‘काक्रा, लौका, भिन्डी, बोरी, हरियो खुर्सानीलगायत तरकारीले बजार नपाएर बारीमै नष्ट गर्‍यौं, अब त तरकारी खेतीप्रति रुचि घटेको छ,’ उनले भने । जिल्लामा यो सिजनमा तरकारी मात्र होइन फलफूलको समेत मूल्य वृद्धि भएको छ । वर्षात्को सिजनमा स्थानीयस्तरमा तरकारी उत्पादन कम भएर अन्य जिल्लाबाट आउने हुँदा मूल्य उच्च भएको उपभोक्ता माया चौधरीले बताए । अन्य मौसममा सबै किसानले तरकारी उत्पादन गर्ने गरे तापनि वर्षात्मा व्यावसायिक किसानले मात्र तरकारी उत्पादन गर्दछन् । सीमित किसान मात्र तरकारी उत्पादन गर्ने भएकाले अहिलेको सिजनमा तरकारीको मूल्य तुलनात्मक रूपमा बढी हुन्छ । जिल्लामा भारतीय बजारसँगै सुदूरपश्चिमको पहाडी इलाकाबाट तरकारी आउने गरेको छ । पहाडी जिल्ला तथा भारतबाट आउने भएकाले तरकारीको मूल्य उच्च हुने गरेको स्थानीय तरकारी उत्पादक किसान बलीराम चौधरीले जानकारी दिए । रासस