मुलुकको अर्थतन्त्रको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रुपमा रहेको पर्यटन क्षेत्रको बृहतर विकास तथा वर्तमान कोभिड–१९ महामारीबाट सुरक्षित पर्यटकीय गतिविधि सञ्चालनका लागि नीतिगत सुधार तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र पर्यटनको रणनीतिक कार्ययोजना तथा दिगो पर्यटन विकासका लागि पर्यटनमैत्री नीतिगत व्यवस्थाका साथै पर्यटकीय पूर्वाधार विकासका साथै सेवा क्षेत्रलाई एकद्धार प्रणालीबाट सरलीकृत गरिनुपर्ने औँल्याउनुभयो ।
साथै उहाँहरुले मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डलगायत अन्तरनिकाय संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाएर पूर्ण क्षमताका साथ परिचालन गर्न आवश्यक व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद दिव्यमणिराज भण्डारीले पर्यटन क्षेत्र अर्थोपार्जनका निम्ति मात्र नभई देशको पहिचान र इज्जतसँग जोडिएको विषय भएकाले पर्यटनमैत्री नीति र पूर्वाधार विकासका साथै पर्यटकीय सेवालाई एकद्धार प्रणालीबाट सेवा दिएर सरलीकृत गर्दै लैजानुपर्ने बताउनुभयो ।