वैशाख २३, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले कोरोना भाइरस विरोधी खोपमा बौद्धिक सम्पत्ति अधिकार सुरक्षा हटाउने अवधारणालाई समर्थन गर्ने भएको छ ।
कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा विश्वभर खोपको आपूर्तिविस्तार गर्न अमेरिकाले यस्तो उदारता देखाउन थालेको त्यहाँको शीर्ष व्यापार प्रतिनिधि क्याथरिन ताईले बुधवार बताएकी हुन् ।
यो पहलको प्रस्ताव अमेरिका र दक्षिण अप्रिकाले गरेका थिए । यसले विश्वभर खोपको उत्पादन बढाउने उनीहरुको भनाइ छ । तर यसले आशातित प्रभाव नदेखाउने तर्क औषधि निर्माताहरुले गर्दै आएका छन् । यो असाधारण कदमहरु चाल्ने असाधारण समय भएको ताइले बताएकी छिन् ।
यस विषयमा सहमतिमा पुग्न विश्व व्यापार संगठन (डब्ल्यूटीओ)का सदस्य देशहरुलाई समय लाग्न सक्ने चेतावनी उनले दिएकी छन् । विगत ६ महीनादेखि खोपसम्बन्धी प्याटेन्टलाई पाखा लगाउनु पर्ने भन्दै विश्वको करीब ६० देशहरुको समूहले आवजाज उठाइरहेको छ । यसमा भारत र दक्षिण अफ्रिका अगाडि रहेका छन् ।
तर अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसमेत बेलायत र यूरोपेली संघ (ईयू)बाट भने यसको चर्को विरोध भइरहेको थियो । तर अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले भने सन् २०२० को राष्ट्रपति निर्वाचनमै यस अवधारणाको समर्थन गरेका थिए ।
बुधवार पनि उनले आफ्नो समर्थन दोहोर्याएका छन् । कोभिड–१९ विरोधी लडाईमा यो ऐतिहासिक क्षण भएको डब्ल्यूटीओका प्रमुखले बताएका छन् । यो छूटलाई मञ्जुरी मिल्यो भने खोपको उत्पादन तीव्र हुने र गरीब देशहरुले पनि थप सुपथ मूल्यमा खोप पाउन सक्नेछन् । एजेन्सी