मोहनविक्रम सिंह
नेपालको एकिकरणमा पृथ्वीनारायण शाह को ऐतिहासिक योगदान रहेको छ । तर नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषित गर्न र पृथ्वी जयन्तीका दिन सार्वजनिक छुट्टी दिन अस्वीकार गरेको छ । सरकारको त्यस प्रकारको नीति गलत छ र त्यसको कडा आलोचना र भत्र्सना गर्नुपर्दछ ।
अहिले राजावादीहरुले पृथ्वीनारायण शाह लाई आफ्नो प्रतिगामी उद्देश्यको पूर्तिका लागि उपयोग गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरुले पृथ्वीनारायण शाह को व्यानर मुनि राजतन्त्रको पुर्नस्थापना र नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि आन्दोलन अगाडि बढाउन अभियान चलाईरहेका छन् । त्यो वास्तवमा पृथ्वीनारायण शाह लाई प्रतिगामी उद्देश्य पूर्तिका लागि उपयोग गर्नु नै हो ।
नेपाली काँग्रेसले पनि वीपी कोइराला लाई आफ्नो प्रतिगामी उद्देश्य पूर्तिका लागि उपयोग गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरुले उनको राष्ट्रिय मेलमिलापको नीतिको आँडमा त्यही उद्देश्य पूरा गर्न प्रयत्न गरिरहेका छन् । वीपीको राष्ट्रिय मेलमिलापको नीति, जसको मुख्य आधारशिला राजासितको मेलमिलाप नै थियो, आफ्नो समयमा पनि गलत नै थियो । त्यसका साथै अंशतः त्यो नीति त्यो बेलाको परिस्थितिले पैदा गरेको एक प्रकारको बाध्यता पनि थियो ।
तर यो सोच्नका लागि आधार छ कि ०४६ सालको आन्दोलन र त्यस पछि ०५९ सालको माघ १९ को घटनाको सन्दर्भमा उनले पहिलेको राष्ट्रिय मेलमिलापको नीतिलाई कायम नै राख्दथे भन्न मुश्किल पर्दछ । उनले गिरिजाप्रसाद कोइरालाले भन्दा अगाडि बढेर गणतन्त्रको पक्ष लिने धेरै संभावना थियो ।
तर अहिले नेका भित्रको एउटा पक्षले वि.पि.को राष्ट्रिय मेलमिलापको व्यानर मुनि राजतन्त्रलाई पुर्नस्थापना गर्ने तथा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान संचालन गर्ने प्रयत्न गर्दै छन् निश्चय नै पूरै नेपाली काँग्रेस त्यस प्रकारको प्रतिगामी नीतिको पक्षमा गएको छ भन्ने निष्कर्ष निकाल्नु सही हुने छैन् । तैपनि राष्ट्रिय मेलमिलापको नीतिमा जोड दिनुको पछाडि त्यही प्रकारको प्रतिगामी उद्देश्यले काम गरेको र त्यो नीतिले उनीहरुलाई त्यही प्रतिगामी अवस्थामा पु-याउने कुराको अनुमान गर्न सकिन्छ ।