भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गर्नुभएको छ ।
कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न उहाँहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गर्नुभयो ।