काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेट गरेको छ ।
सो अवसरमा महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत देखिएको बताए । यसबाट उद्योग व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण तथा सम्भावित समस्या सामना गर्न सरकार र निजीक्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
ढकालले श्रम बजारको माग अनुसारको शीप विकासमा पनि सो अवसरमा जोड दिएका थिए । उनले वैदेशिक रोजगारीमा जाँदा लिइने केही अव्यावहारिक नीति नियमको पुनरवलोकन हुनुपर्नेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।
मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुझावका सम्बन्धमा मन्त्रालयले गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको बताएका थिए ।