काठमाडौं (अस) । जगदम्बा मोटर्सले शुरू गरेको ‘एनओजी राइड’ सम्पन्न भएको छ । नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी (एन्टर्क ओनर्स ग्रूप) राइड सम्पन्न गरेको हो । ललितपुरको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड शोरूमबाट शुरू भएर बालकुमारी, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुँदै भोटेचौर हेवनहिल रिसोर्टसम्म पुगेर उक्त राइड सम्पन्न भएको कम्पनीले बताएको छ । राइडमा सहभागीहरूबीच एकतामूलक विभिन्न गेम खेलाइएको कम्पनीले जानकारी दिएको छ । राइडमा टीभीएस एनटर्कका ७० जना राइडरसहित प्रसिद्ध मोटो भ्लगरहरू राजकुमार थापामगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग लगायतको सहभागिता थियो । नेपालमा टीभीएस एनटर्क ५० हजार विक्रीलाई निरन्तरता दिँदै सो राइड आयोजना गरिएको कम्पनीको भनाइ छ । राइडमा सहभागीहरूबीच भएका विभिन्न मनोरञ्जनात्मक खेलका विजेतालाई पुरस्कार वितरण समेत गरिएको थियो ।