गण्डकी प्रदेशमा घण्टौ हिँड्नुपर्ने, तुईन र फड्केको सहायतामा नदी तथा खोल्सा वारवार गर्ने स्थानमा झोलुङ्गे पुल निर्माणको कामलाई तीव्रता दिइएको छ । पहाडी भूभाग र थुप्रै नदीनाला रहेको गण्डकी प्रदेशका नदी वारपारका लागि निर्माण गरिएका तुईन तथा फड्के विस्थापित तथा एक ठाउँदेखि अर्को ठाउँमा पुग्न घण्टौ हिड्नुपर्ने अवस्थामा रहेको खोल्सामा झोलुङ्गे पुल निर्माणलाई तीव्रता दिइएको हो ।
लामो तथा जटिल प्रकृतिका झोलुङ्गे पुल संघीय सरकारअन्र्तगतको सस्पेन्शन ब्रिज डिभिजन, मझौला प्रकारका पुल गण्डकी प्रदेश सरकारअन्र्तगतको पूर्वाधार विकास निर्देशनालय तथा साना प्रकारका पुल स्थानीय तहले निर्माण गरिरहेका छन् । संघीय सरकारको तुईन विस्थापित अभियानअन्र्तगत गोरखा तथा तनहुँ जिल्लाका दरौदी, त्रिशुली र कालीगण्डकी नदीमा रहेका ८ वटा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण भएका थिए ।
सस्पेन्शन ब्रिज डिभिजन कार्यालयले गण्डकी प्रदेशमा ६६ पुलहरु निर्माणको चरणमा रहेको र २५ वटा नयाँ स्वीकृत भई निर्माणको चरणमा रहेको डिभिजन कार्यालयले जनाएको छ । देशभर विभिन्न दातृ निकायको सहयोगमा लामो तथा जटिल प्रकृतिका पुलहरु निर्माण गर्ने भएपनि मझौला प्रकारका पुलहरु प्रदेश सरकारले निर्माण गर्दै आइरहेको गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्माण प्रक्रियामा रहेका १११ पुल मध्य दुई वटा सम्पन्न, ४३ निर्माणको चरणमा र ६३ वटा डिपिआरको तयारीमा रहेका छन् ।
गण्डकी प्रदेश सरकारले आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माणकालागि प्रस्ताव आव्हान गरेपछि हालसम्म ११५ वटा पुलको सम्भाव्य अध्ययन सुरु गरिएको श्रेष्ठले बताउनुभयो । गण्डकी प्रदेशमा ३७ करोड दुई लाख ३५ हजार रुपियाँ र सम्भाव्य अध्ययनका लागि चार करोड ६० लाख रुपियाँ बजेट व्यवस्थापन गरिएको थियो । संघ तथा प्रदेश सरकार बाहेक स्थानीय तहले आवश्यक ठाउँमा उपभोक्ता समिति गठन गरेर पुल निर्माण गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।
बागलुङमा थप ३० निर्माणाधिन