काठमाडौं । लघुवित्त क्षेत्रमा यस्तो कम्पनी छ, जसको दोस्रो बजारमा पहिलो कारोबार ७२ रुपैयाँ १० पैसामा भएको थियो । पछिल्लो कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ८९६ रुपैयाँ कायम भएको छ । करीब ३ वर्ष शेयर कारोबार रोकिँदा कम्पनीका आईपीओ खरीदकर्ताले समेत शुरुका दिनमा घाटा व्यहोर्नुपरेको थियो ।
सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएकै दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो ।
आईपीओ बाँडफाँटपछि कम्पनीले २०७७ असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराए पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्झौताका कारण सोही दिनदेखि कम्पनीको शेयर कारोबार रोकका भएको थियो । मर्जर प्रक्रिया टुङ्गोमा पुग्न नसकेको स्वस्तिक र समाज लघुवित्तले २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।
करीब तीन वर्षपछि २०८० असार ३१ गतेदेखि लागू हुने गरी आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको हो । २०८० साउन १ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीका आईपीओधनी यतिबेला प्रतिकित्ता १ हजार ७९६ रुपैयाँ नाफामा छन् ।
करीब तीन वर्ष आफ्नो लगानी बन्धक बनाएका समाज लघुवित्तका लगानीकर्ताले कारोबार खुला भएको चार महीनासम्म घाटा व्यहोर्नुपरेको थियो । कम्पनीको शेयर मूल्य १०० रुपैयाँ कायम हुन करीब चार महीना लागेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
यो बीचमा कम्पनीका शेयरधनीका लागि कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट २ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव २०८० साउन ३१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभामार्फत पारित भएको थियो । तर, उक्त बोनस शेयर कम्पनीले हालसम्म धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको देखिँदैन ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ । आईपीओ कारोबारका लागि करीब तीन वर्ष कुर्नुपरेको समाज लघुवित्तका शेयरधनीले पारित भएको आठ महीना बितिसक्दा पनि बोनस शेयर प्राप्त गर्न सकेका छैनन् ।