पोखरा (अस) । ‘सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एम’को उपाधि बलभद्र राईको टोलीले जितेको छ । पोखराको पार–६८ हिमालयन गल्फ कोर्समा शुक्रवार भएको सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि राईको टोलीले जितेको हो ।
राईको टोलीले फुरसाङ लामा, राजु थकाली र कवि थापासँग मिलेर १४८ अंकसहित उपाधि जितेको हो । यस्तै भुवन नगरकोटीको टोलीले बद्री राई, किशोर बस्नेत र कर्नल झलेन्द्र भट्टराईसँग मिलेर १३९ अंकका साथ दोस्रो स्थान प्राप्त गरेको छ भने सञ्जय लामाको टोली सुष्मा सिग्देल, अर्सिया बानु र ब्रिगेडियर सुरेश बानियाँसँग मिलेर १३१ अंकसहित तेस्रो भएको छ ।
डम्बर घलेले पिनको नजिक र रूपेन्द्र गुरुङले सबैभन्दा लामो ड्राइभ प्राप्त गरे । दुर्गाकुमारी शाहले ‘होल इन वान अन होल १३’का लागि विशेष पुरस्कार प्राप्त गरिन् ।
स्टेबल फोर्ड फुल ह्यान्डीक्याप ढाँचामा खेलिएको प्रो–एम इभेन्टमा १० पेशेवर सहित ८० खेलाडीले भाग लिएका थिए ।
सो अवसरमा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले कास्कीको युवा विकास समितिलाई १ लाख रुपैयाँ र १ हजार गल्फ बल हस्तान्तरण गरे । गल्फको विकासका लागि युवा तथा बालबालिका विकास कार्यक्रम शुरू गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।