‘सूर्य नेपाल वेस्टर्न ओपन’ आजदेखि पोखरामा शुरू : कुल ८ लाख ४० हजार रुपैयाँ पुरस्कार राशी

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता ‘सूर्य नेपाल वेस्टर्न ओपन’ आज (बुधवार)देखि हिमालयन गल्फ क्लब पोखरामा शुरू हुने भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको रहने बताइएको छ । प्रतियोगितामा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । ३६ होलको समाप्तिमा कट लागू हुने बताइएको छ , जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने बताइएको छ । कुल ८ लाख ४० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताका विजेताले १ लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश: ९६ हजार र ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीले क्रमश: ५९ हजार र ५० हजार रुपैयाँ हात पार्ने छन् । साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद पुरस्कार पाउने बताइएको छ ।