काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापकतर्फको ६७ हजार ६०७ कित्ता शेयर सर्वसाधारणमा विक्रीमा ल्याउने भएको छ । बैंकले चैत १६ गतेदेखि २३ गतेसम्म व्यक्तिगत संस्थापकहरूको नाममा रहेको उक्त शेयर विक्रीमा ल्याउने भएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. १८० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको अवधिभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय, नागपोखरी, काठमाडौंमा पेस गर्नुपर्ने बैंकको भनाई छ ।
बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २४ गते एनएमबि क्यापिटलको कार्यालयमा बिहान १० बजे खोलिने कार्यक्रमसमेत तय भइसकेको छ ।