काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. १९ करोड ७० लाख बराबरको हाते औजार आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा हाते औजारको आयातको औसत वार्षिक वृद्धिदर १३ दशमलव ७८ प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा हाते औजारको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा हाते औजारको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र हाते औजार उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले हाते औजार स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।