कृषि कार्यक्रमलाई चितवनमा आठ करोड २० लाख

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई चितवनले १५ करोड ३२ लाख बराबरका वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जसमध्ये जोन विकासका लागि संघीय सरकारबाट ८ करोड २० लाख, ब्लक विकासका लागि प्रदेश सरकारबाट तीन करोड ७१ लाख, पकेट विकासका लागि स्थानीय सरकारबाट तीन करोड ४१ लाख बराबरका कार्यक्रम समेटिएका छन् । एकाईका वरिष्ठ कृषि अधिकृत […]

सम्बन्धित सामग्री

तीन महीनामा चितवनमा ७८३ ओटा नयाँ उद्योग दर्ता

कात्तिक १०, चितवन । चितवनमा तीन महीनाको अवधिमा सबै प्रकारका उद्योग गरी ७८३ ओटा नयाँ उद्योग दर्ता भएका छन् । कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका हुन् ।  सो अवधिमा ५८८ ओटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका थिए । यस्तै सो अवधिमा १३३ ओटा सेवामुलक उद्योग, उत्पादनमुलक उद्योग ८८ ओटा र पर्यटन मुलक उद्योग ८ ओटा दर्ता भएको तथ्यांक छ ।  ऊर्जामुलक उद्योग, खनिजजन्य उद्योग, निर्माणमुलक उद्योग र विज्ञान तथा सूचनाप्रविधि उद्योग भने दर्ता भएका छैनन् । कार्यालयका प्रमुख यादवनाथ आचार्यले चितवन कृषि तथा पशुपालन उद्योग गर्न उर्वर र उपयुक्त भूमि तथा अनुदानको व्यवस्था भएकोले कृषि तथा वनजन्य उद्योग अन्तर्गत उद्योग दर्ता गर्नेको संख्या बढेको बताए । ‘चितवन आफैमा कृषिको हब र उर्वरभूमि हो, उनले भने, कृषि क्षेत्रमा स्थानीय सरकार, प्रदेश र संघीय सरकारले बढी प्राथमिकता पनि दिएको छ ।’  महिला उद्यमी झण्डै दोब्बर  तीन महीनाको अवधिमा पुरुष उद्यमीभन्दा महिला उद्यमीको संख्या झण्डै दोब्बर भएको पाइएको छ । तथ्यांक अनुसार सो अवधिमा ५५३ ओटा महिला उद्यम दर्ता भएको छ भने २९२ ओटा पुरुषको नाममा उद्योग दर्ता भएको छ । यसमध्ये उत्पादनमुलक उद्योगमा ६३ महिला, ५६ जना पुरुष उद्यमी, कृषि तथा वनजन्य उद्योगमा ३८३ महिला, १९३ जना पुरुष उद्यमी, सेवामुलक उद्योगमा १०१ जना महिला उद्यमी, पुरुष उद्यमीको संख्या ४० र पर्यटनमुलक उद्योगमा ६ जना महिला उद्यमी र ३ जना पुरुष उद्यमी रहेका छन् ।  कार्यालयका प्रमुख आचार्यले पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट व्याजदरमा थप सहुलियत उपलब्ध हुने भएकोले महिला उद्यमीको संख्या पुरुषको तुलनामा बढी भएको बताए । ‘पुरुषलाई भन्दा महिलालाई उद्योग दर्ता गर्न सहज पनि छ । सहुलियत पनि छ ।  उनले भने, दर्ता भएका उद्योगहरु मध्ये महिलाले उद्यम गर्ने प्रकृतिका उद्योगहरु बढी दर्ता छन् ।’ अधिकांश महिलाहरुले आफ्नो नाममा उद्योग दर्ता गर्ने, कृषि तथा वनजन्य उद्योगमा पनि महिलाहरुनै बढी भएकोले पनि महिलाको नाममा उद्योगहरुको संख्या दर्ता बढी भएको उनको भनाइ छ । २२९८ जनालाई रोजगारी  तीन महीनाको अवधिमा दर्ता भएका उद्योगमा २ हजार २९८ जना रोजगार संख्या थपिएको छ । ती मध्ये उत्पादनमुलक उद्योगमा महिला पुरुष गरी ४०५ जना, कृषि तथा वनजन्य उद्योगमा १ हजार ४८६ जना, सेवामुलक उद्योगमा ३७६ जना र पर्यटनमुलक उद्योगमा ३१ जनाले रोजगारी पाएका छन् ।  कार्यालयले यी सबै प्रकारका उद्योग दर्ताबाट १ करोड ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ । यी रोजगारीमा पनि महिलाहरुले नै रोजगारी प्राप्त भएको प्रमुख यादवको भनाइ छ ।  ‘महिलाले दर्ता गरेको उद्योगमा महिलालाईनै प्राथमिकता र अवसर पाउँछन् । स्वतः रोजगारी पनि बढी महिलाको नै हुन्छ ।’ उनले भने कार्यालयमा हाल ५ लाखदेखि पाँच करोड पूँजी भएका उद्योगहरु दर्ता हुँदै आएका छन् । पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ । कार्यालयमा हाल पाँचलाख देखि २० लाख पूँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैयाँ, २० लाख ५० लाख पूँजी भएका उद्योग दर्ताका लागि २० हजार, ५० लाख देखि १ करोडसम्म ३० हजार र १ करोड भन्दा माथि पाँच करोडसम्मका उद्योगका लागि ५० हजार रुपैयाँ दर्ता शुल्क लाग्ने गर्दछ ।

चितवनमा एक हजार ७०० कृषि उद्योग दर्ता

साउन १२, चितवन । गत आर्थिक वर्षमा जिल्लामा एक हजार ७०२ कृषिजन्य उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार ३९२ उद्योग दर्ता भएकोमा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् । कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्रमा सरकार र वित्तीय संस्थाको समेत प्राथमिकताको क्षेत्र परेकाले कृषिजन्य उद्योगको संख्या अन्य क्षेत्रको भन्दा बढी भएको जानकारी दिए । पछिल्ला वर्षमा त्यस्ता उद्योग दर्ता हुने क्रम बढ्दो रहेको उनको भनाइ छ ।  त्यस्ता उद्योगमा अनुदान र सहुलियत ऋण उपलब्ध हुनाले उद्योग दर्ता हुने क्रम बढेको हो । अन्य व्यवसायभन्दा कृषिजन्य व्यवसाय जोखिम कम हुने र सजिलै गर्न सकिने हुँदा विदेशबाट फर्किएर पनि उद्योग सञ्चालन गर्ने गरेको पाइन्छ । निषेधाज्ञाका कारण विदेश जान रोकिएकाहरुले पनि उद्योग दर्ता गरेका छन् । उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषिका ऋणमा अनुदान र व्यवसायमा पनि सहुलियत पाइने हुँदा धेरैको ध्यान कृषि उद्योगमा गएको हो । उनले भने, ‘कृषि नै गर्दा त राम्रो हो तर कृषिको नाममा अनुदान लिएर अन्य काम गर्ने धेरै छन् ।’ यस जिल्ला कृषिका लागि राम्रो भएको जनाउँदै अनुदानलाई कृषिमा नै प्रयोग गर्न कँडेलले सुझाव दिए । कुखुरापालन, पशुपालन, तरकारी खेती जस्ता काम गर्नका लागि कृषिजन्य उद्योग दर्ता हुने गरेका छन् । कुखुरापालनमा चितवन देशकै अग्रणी जिल्ला हो । दूध उत्पादनमा स्थानीय तहमा भरतपुर महानगर पहिलो हो ।  त्यसैगरी तरकारी, केरा, मौरीपालन लगायतमा जिल्ला अग्रणी मानिन्छ । जिल्लामा सबैभन्दा कम एउटा मात्र उद्योग ऊर्जामूलक उद्योग दर्ता भएको छ । यसैगरी सेवामूलक  २९०, उत्पादनमूलक २४५, पर्यटनमूलक १५८ उद्योग दर्ता छन् ।  गत आर्थिक वर्षमा जिल्लामा खनिजजन्य, निर्माणमूलक र विज्ञान तथा सूचना प्रविधिजन्य  शीर्षकमा भने  उद्योग दर्ता भएका छैनन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको स्थिर पूँजी रू. दुई अर्ब ९६ करोड ९६ लाख ३२ हजार, चालू पूँजी रू. दुई अर्ब ६६ करोड २३ लाख ९३ हजार र कुल पूँजी रू. पाँच अर्ब ६३ करोड २० लाख २५ हजार कार्यालयले जानकारी दिएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रू. १६ अर्ब १३ करोड ३६ लाख बराबर छ । रासस