माघ २५, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले रू. २ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म रू. ३ करोड ९७ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नाक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १०९ प्रतिशत वृद्धि भएकाले खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष रू. ३ करोड ९८ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ३३ लाखभन्दा बढी यो नाफा गरेको हो । विद्युत् विक्रीबाट गत वर्ष रू. ५ करोड ७१ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ८४ दशमलव ९५ प्रतिशत बढी रू. १० करोड ५६ लाख विद्युत् विक्री आम्दानी गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४६ करोड ५७ लाख १४ हजार छ भने जगेडा कोष रकम रू. २ करोड ९९ लाख ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा यस वर्ष जगेडा कोषको ऋणात्मक रकम ९५ दशमलव शून्य ३ प्रतिशत कम भएको हो ।
कम्पनीको दीर्घकालिन कर्जा भने २ दशमलव १३ प्रतिशत कम रू. ८४ करोड ८२ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ५७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ५७ छ ।