साउन २४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरी कायम भएको शेयर सूचीकरणका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
महिला सहयात्रा लघुवित्तको शेयर कारोबार प्राप्ति गर्ने प्रयोजनका लागि गत माघ ९ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ । प्राप्ति प्रक्रिया सम्पन्न गरी असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गरिसेकेको कम्पनीले प्राप्तिपछि कायम शेयर सूचीकरणका लागि नेपाल धितोपत्र बोर्डमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्नका लागि सिडिएस एण्ड क्लियिरिङ लिमिटेडमा प्रक्रिया पनि अघि बढाइसकेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले नियामक निकायमा सूचीकृत गराई सिडिएससीमा सूचीकरणका लागि प्रक्रिया अघि बढाइसकिएको बताएका हुन् ।
उनले दुई कम्पनी बीच छोटो समयमै प्राप्ति प्रक्रिया पुरा भएको बताउँदै साउन महीनाभित्र नेशनल माइक्रोफाइनान्सको नाममा महिला सहयात्रा लघुवित्तको शेयर सूचीकृत भइसक्ने पनि बताए ।
सिडिएससीले माग गरे बमोजिमको आवश्यक तथ्याङ्क पेश गर्ने क्रममा कम्पनी जुटिरहेकाले साउन महीनाभित्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पनि सूचीकृत गराइसक्ने पनि उनले बताए ।
यी दुई कम्पनी बीच गत माघ ८ गते प्राप्ति सम्बन्धि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै महिला लघुवित्तको शेयर कारोबार माघ ९ गतेदेखि कारोबार रोक्का भएको थियो । नेपाल राष्ट्र बैंकबाट गत वैशाख १५ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले सैद्धान्तिक सहमति प्राप्त गरेकोे थियो ।
महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति गरेको हो । यस आधारमा महिला सहयात्राको १०० शेयर हुने शेयरधनीहरुले नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर प्राप्त गर्नेछन् ।