प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने ३७ जना प्रदेशसभा सदस्यहरुलाई नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले २४ घण्टे स्पष्टिकरण सोध्नुभएको छ । प्रमुख सचेतक राजभण्डारीले अविश्वासको प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिनुभएको हो ।
संसदीय दललाई जानकारी नगराई संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेकोले उक्त प्रस्ताव फिर्ता गर्न र स्पष्टिकरण पेश गर्न निर्देशन गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो ।
स्पष्टिकरण पत्रमा ‘संसदीय दलका सदस्य इन्द्रबहादुर आङबो प्रस्तावक र लछुमन तिवारी समर्थक भई आफ्नै दलका नेता शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हुँदा संविधान र संसदीय दलको विधान बमोजिक किन कारवाही नगर्ने’, भनिएको छ । २४ घण्टा भित्र प्रस्ताव फिर्ता गरी स्पष्टिकरण नबुझाएमा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कानून र दलको विधान बमोजिम कारवाही भइजाने स्पष्टिकरण पत्रमा उल्लेख छ ।
चुनाबी गठबन्धनमा रहेका दुईवटा साविक दलहरु २०७५ जेठ ३ गते एकतामा रुपान्तरित भए पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलबाट पुनः सर्बसम्मतिबाट मुख्यमन्त्री शेरधन राई दलको नेतामा चुनिनुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ प्रदेशसभा संसदीय दलका ६७ जना सदस्यहरु मध्ये ३७ जनाले हस्ताक्षर गरी आइतबार मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले संसदीय दलका उपनेतालाई अविश्वासको प्रस्ताव बारे औपचारिक जानकारी दिएर प्रदेशसभा सचिवालयमा बुझाएका थिए ।