काठमाडौं । दोलखाको शैलुङका जस्ता थुम्का र दामन । सेता हिमशृंखलाको दृश्य । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, ब्रोम्दिङको पर्यटकीय सुन्दरता दर्शाउन यी विशेषता काफी छन् । समुद्री सतहबाट २०८० मिटर उचाइमा रहेको त्यहाँस्थित ब्रोम्दिङ डाँडाबाट गणेश, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमाल देखिन्छन् । यससँगै त्यहाँबाट देखिने सूर्याेदय र सूर्यास्तको दृश्य पनि अवलोकन गर्न सकिन्छ ।
त्यहाँ पुग्ने पर्यटकले प्राकृतिक सुन्दरताको मात्रै होइन, संस्कृतिको पनि आनन्द पाउँछन् । तामाङ बस्ती रहेको त्यो क्षेत्रमा घुम्न आउने पर्यटकले होमस्टेमा बसेर स्थानीय रहनसहन र खानपानको मज्जा लिन सक्छन् ।
ब्रोम्दिङ पुग्नेहरू त्यहाँको प्राकृतिक सुन्दरतामा नलोभिने सायदै होलान् । प्राकृतिक सुन्दरताले भरिपूर्ण ब्रोम्दिङ पर्यटकमाझ परिचित हुन थालेको भने केही समय मात्रै भएको छ । यसअर्थमा त्यो क्षेत्र बाह्य पर्यटकको ‘भर्जिन’ गन्तव्य मानिएको छ ।
‘यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो, यही कारण हामीले यहाँको पर्यटन विकासका लागि काम गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले भने ।
त्यस क्षेत्रको प्रचारप्रसारका लागि गाउँपालिकालगायत अन्य विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् । यही कात्तिक १५ गते नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ आयोजना गरियो । ब्रोम्दिङ डाँडामा आयोजना गरिएको उक्त महोत्सवमा काठमाडौंलगायत स्थानबाट मानिसहरू पुगेका थिए ।
महोत्सव उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ब्रोम्दिङलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले आउँदो वर्ष बजेट छुट्याउने प्रतिवद्धता जनाएका थिए । उनले चालिसेदेखि ब्रोम्दिङसम्मको बाटो कालोपत्र गर्नेसँगै अन्य पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता गरेका थिए ।
महोत्सवको उद्घाटन समारोहमा सबै वक्ताले ब्रोम्दिङ नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका थिए । उक्त समारोहमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले ब्रोम्दिङ नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा एक्सप्लोर भएकाले यो क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले निरन्तर काम गर्नुपर्ने बताएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले ब्रोम्दिङ उत्कृष्ट गन्तव्य रहेको बताएका थिए । ‘म नेपाल र विदेशका धेरै ठाउँ पुगेको छु । यहाँको मौसम, प्राकृतिक स्वरूप र बनावट साच्चै नै उत्कृष्ट छ,’ उनले भनेका थिए । यो ठाउँसम्म बाटो कालोपत्र गर्न सकिए भने पर्यटकका लागि साइट सिन गर्ने नयाँ नगरकोट, बन्दीपुर र सराङकोट बन्न सक्ने उनको भनाइ थियो ।
वक्ताहरूले ब्रोम्दिङको पर्यटकीय विकासका लागि पूर्वाधार निर्माणको आवश्यकता रहेको बताइरहँदा गाउँपालिकाका अध्यक्ष थपलियाले पूर्वाधार निर्माण गर्ने चुनौती थपिएको बताएका थिए । यद्यपि ब्रोम्दिङको पर्यटकीय विकासमा आफूहरू लागिपर्ने उनले बताए । चालिसेदेखि ब्रोम्दिङसम्म बाटो कालोपत्र गर्न बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
त्यहाँको पर्यटन विकासका लागि होमस्टे विस्तार गर्ने पनि उनको योजना छ । यसका लागि काम गरिरहेको उनले बताए ।
काठमाडौंबाट नजिक !
ब्रोम्दिङ संघीय राजधानी काठमाडौंबाट नजिकको गन्तव्य हो । यस कारण पनि त्यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने देखिन्छ । काठमाडौंबाट ९५किलोमिटर दूरीको यात्रा गरेपछि ब्रोम्दिङ पुग्न सकिन्छ । नागढुंगा–मुग्लिन खण्डको चालिसेबाट झण्डै २२ किलोमिटर उकालो मोटरबाटोको यात्रा गरेर पनि त्यहाँ पुग्न सकिन्छ ।
कसरी पुग्ने ?
काठमाडौंबाट तीन घण्टाको मोटर यात्रामा धादिङको चालिसे पुग्न सकिन्छ । चालिसेबाट उकालो लागेमा बढीमा दुई घण्टामा सिमभञ्ज्याङ पुग्न सकिन्छ । सिमभञ्ज्याङदेखि दुई वटा बाटो छन् । सहज बाटोका लागि सोझै ब्रोम्दिङ जान सकिन्छ । तर, होमस्टेलगायत गाउँ र बस्ती हेर्नका लागि जरुङ झर्नुपर्छ । जरुङ तामाङ समुदायका घर भएको बस्ती हो ।