वीरगञ्ज। सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले सो क्षेत्रमा लगानी ल्याउन वीरगञ्जका उद्यमीलाई आग्रह गरेका छन् । आफ्नो नगरमा औद्योगिक र व्यापारिक लगानी भिœयाउने अभियानअन्तर्गत आइतवार वीरगञ्जमा उद्यमीसँगको अन्तरक्रियामा मेयर बुढाथोकीले यस्तो आग्रह गरेका हुन् ।
हरिवन नगरपालिकाभित्र उद्योग स्थापना गर्दै स्थानीय सम्भावनाको आर्थिक रूपान्तरणको उद्देश्य राखिएको मेयर बुढाथोकीले बताए । उनले कृषि उत्पादन तथा कृषिमा आधारित उद्योगको पर्याप्त सम्भावना रहेको औंल्याए । लगानीका लागि पूर्वाधारको प्रबन्ध र उद्योग स्थापनाका क्रममा कुनै समस्या परे समाधानका लागि नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । बारा र पर्साका पालिकाहरूले स्थानीय करका नाममा अराजकता मच्चाएको आरोप लागिरहेका बेला छिमेकी जिल्लाका मेयरले वीरगञ्जमै आएर उद्योगीलाई आफ्नो क्षेत्रमा लगानी ल्याउन आग्रह गरेका हुन् । बारा–पर्सा औद्योगिक क्षेत्रमा पर्ने वीरगञ्ज महानगर र जीतपुरसिमरा उपमहानगर, परवानीपुर गाउँपालिकालगायत स्थानीय तहले स्थानीय करमा मनपरी मच्चाएको गुनासो बढेको छ । स्थानीय पालिकाले लगाएका करका कारण उद्योग व्यापारमा नकारात्मक असर पुगिरहेको अवस्थामा अन्य जिल्लाका पालिका प्रमुखले चलाएको लगानी आकर्षण अभियान अनुकरणीय भएको वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतमले बताए । उनले हरिवनमा उद्योग स्थापनाका लागि जग्गाको प्रबन्ध, नियमित विद्युत् आपूर्ति तथा ढल निकासको व्यवस्था गर्नुपर्ने र शान्ति सुरक्षाको व्यवस्थालगायत पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए । उद्योग स्थापनापछि स्थानीयको अवरोधमुक्त हुनुपर्ने पनि उनले बताए ।