‘आयुष्यं भोजनं ।’ यो श्लोकांश सुश्रुत संहिताबाट लिइएको हो । यसको भावार्थ राम्रोसँग पाकेको भोजन खानुपर्छ र खाएको वस्तु पचिसकेपछि मात्र खानुपर्छ भन्ने हो । संहिताको चिकित्सास्थान खण्डमा वर्णित यो श्लोकांश खानपिनसँग सम्बद्ध छ । यो कुरालाई खानपिनबाहेक आवश्यकतानुसार अन्य सान्दर्भिक विषयमा पनि जोड्न सकिन्छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको पूँजीलाई पनि यससँग जोडेर हेर्न सकिन्छ । त्यसमा पनि बैंक र बीमा कम्पनीलाई जोड्दा झन् बढी सान्दर्भिक हुन्छ । अहिले नेपाल राष्ट्र बैंक र बीमा समिति बातैपिच्छे पूँजी बढाउनेबाहेक अरू कुरै गर्दैनन् । यी दुई निकायको गठन नियमन गर्नभन्दा अनावश्यक पूँजी बढाउने निर्देशन दिन मात्र भएको देखिन्छ । विगत ६ वर्षभित्रमा यो दुई निकायले गरेको र अहिले पनि गरिरहेको काम भनेकै पूँजी बढाउने हो । थाम्नै नसक्ने गरी पूँजी बढाएका केन्द्रीय बैंक र बीमा समिति ‘बिग’ मर्ज भन्दै अर्को बेसुरा आलाप अलापिरहेका छन् । संस्था चुक्ता पूँजीले बलियो हुने हो कि जगेडाले हुने हो केन्द्रीय बैंक र बीमा समितिका अधिकारीले बुझ्दै नबुझेका हुन् कि बुझेर बुझ पचाएका हुन् पत्तो पाउन सकिएको छैन ।
नेपालमा बैंक, बीमा र जुनसुकै क्षेत्रका कम्पनी बलियो बनाउने हो भने चुक्ता पूँजी होइन, जगेडा बलियो बनाउने काममा लाग्नुपर्छ ।
मर्जको कुरा
नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर चिरञ्जीवी नेपालले अनावश्यक पूँजीवृद्धि गराएपछि फेरि तिनै बैंकलाई वितरणयोग्य नाफा बाँड्न पनि अनावश्यक र अवाञ्छित रोक लगाउँदै बोनस जारी गराएर पुनः चुक्ता पूँजी वृद्धिमै जोड दिए । अझ रमाइलो त के थियो भने नगद लाभांश बाँड्नमा बैंकले तिरेको ब्याजदरको आधार लिइयो जुन कुनै अर्थमा पनि औचित्ययुक्त थिएन । यसका साथसाथै ‘बिग’ मर्ज गर्न जोडी खोजेर तुरुन्त आउन अर्को हुकुमी आदेश पनि जारी भयो । चिरञ्जीवीको बहिर्गमनपश्चात् डेपुटी गभर्नर भइसकेका महाप्रसाद अधिकारी गभर्नर भएर आउँदा चिरञ्जीवीले गरेका अवाञ्छित र औचित्यहीन कार्य रोकिएला भन्ने अपेक्षामा पनि कुठाराघात भयो । बैंक मर्ज र पूँजी वृद्धिबाहेक केन्द्रीय बैंकको अरू कामै नभएझैं व्यवहार अधिकारीले पनि देखाए । मर्ज गराउने कुरामा विमति होइन । तर, यो उद्देश्यमूलक र यथार्थमा आधारित हुनुपर्छ । संख्या घटाउने बढाउनेभन्दा पनि गुणात्मक सेवाको सुनिश्चितता हुनुपर्छ । विद्यमान अवस्थामा मर्जलाई वास्तविक र बैंकलाई सबल बनाउने हो भने मर्जर नीति ल्यान्ड (जग्गा) पुलिङ गरेजस्तो क्यापिटल (पूँजी) पुलिङ विधिबाट गर्नुपर्छ । जग्गा पुलिङ गर्दा जग्गाधनीले साविकको भन्दा कम जग्गा प्राप्त गरे पनि त्यहाँ उपलब्ध हुने सेवासुविधाले मूल्य बढ्छ । यस्तै विधिले पूँजीको पुलिङ गर्दा कम्पनीको शेयर मूल्यदेखि लिएर आम्दानी सबै बढ्छ र त्यसको लाभ कम्पनी र शेयरधनी दुवैले प्राप्त गर्छन् ।
क्यापिटल पुलिङ विधि
नेपालमा अहिलेसम्म भएका मर्ज कम्पनी (बैंक) को ‘नाम’ मात्र मर्ज हो । दुई कम्पनीको वासलात जोड्ने र दुईओटा नामलाई एउटा बनाउने किसिमको मर्जको कुनै अर्थ छैन । यस्तो मर्जले गुणात्मक तथा परिमाणात्मक कुनै किसिमको वृद्धि गर्दैन र पूँजी थप्नेबाहेक अरू केही गरेको देखिँदैन । मर्जलाई वास्तविकता दिन पूँजीभन्दा जगेडालाई दृष्टिगत गर्नुपर्छ । मर्ज गर्दा प्राप्त हुने स्वाप रकम पूँजीगत जगेडामा राखेर अर्को वर्षदेखि बोनस जारी गराउने कार्यलाई पूर्णतः रोक लगाउनुपर्छ । कुनै पनि प्रकारले प्राप्त हुने पूँजीगत जगेडा रकम आफैमा पूँजी भएको हुँदा ‘पूँजीको पूँजीकरण’ अवाञ्छित कार्य हो । मर्जको पछिल्लो संस्करणको रूपमा नबिल र नेपाल बंगलादेश बैंक लिमिटेड गाभिने प्रक्रियामा छन् । यसलाई तालिकामा देखाइएको जस्तो विधिबाट मर्ज गर्दा चुक्ता पूँजी १० अर्ब रुपैयाँ वा त्योभन्दा कम राखेर तोकिएको अनुपातमा दुवैबाट पूँजी लिएर बाँकी रकमलाई जगेडा कोषमा राख्नुपर्छ । थोरै पूँजीले पनि गुणात्मक प्रगति गर्नसक्छ भन्ने उदाहरण भारतको एचडीएफसी, एक्सीस, इन्दुज इन्ड, स्टेट बैंक अफ इन्डिया, बैंक अफ बरोदा, आईसीआईसीआई, कोटक महिन्द्रा, क्यानरा र पञ्चाब नेशनल बैंकको चुक्ता पूँजी ५ अर्ब ५४ करोडदेखि २० अर्ब ९५ करोड भारूले देखाएको छ । यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले तुरुन्तै ‘क्यापिटल पुलिङ’ विधिसम्बन्धी नीति बनाइदिनुपर्छ ।
शेयर मूल्यमा पर्ने असर
जग्गा पुलिङ गर्दा जग्गाधनीको जग्गा घटेर प्राप्त भए जस्तै क्यापिटल पुलिङबाट मर्ज गर्दा पनि शेयरधनीले धारण गरेको शेयर संख्या घटेर प्राप्त हुन्छ । शेयर संख्या घट्दा पनि पहिलेको पूँजीअनुसारको बजार पूँजीकरण नघट्ने गरी मूल्य समायोजन हुन्छ । उदाहरणको लागि नबिल बैंकको सोमवार (१२ वैशाख २०७९) मा कायम भएको १ खर्ब ७४ अर्ब, ३ करोड ६ लाख २१ हजार ६ सय १ रुपैयाँको आधारमा मूल्य समायोजन गर्दा १ हजार ७ सय ४० रुपैयाँ पहिलो दिनको लागि कारोबार मूल्य कायम हुन्छ । मूल्य बढेर कारोबार खुले पनि अघिल्लो दिनको कुल सम्पत्तिमा कुनै असर पर्दैन । यसरी मर्ज गर्दा बैंकले १८ अर्ब रुपैयाँ पूँजीगत जगेडामा रकम प्राप्त गर्छ जुन रकम पूँजीकोष गणना गर्न पाइन्छ । त्यस्तै चैत त्रैमासिकमा कायम रहेको प्रतिशेयर आम्दानी २२ रुपैयाँबाट बढेर ३३ रुपैयाँभन्दा बढी हुन्छ । यसमा नेपाल बंगलादेश बैंकको आम्दानी जोडिएको छैन । यसलाई जोड्दा ५० रुपैयाँ हाराहारीमा पुग्नसक्छ ।
निचोडमा, चरक संहिताको ‘न रागान् नाऽप्यविज्ञानादाहारमुपयोजयेत् ।’ अर्थात् कहिल्यै पनि राग अर्थात् लोभको वशमा परेर वा आफ्नो हितअहित नजानीकन खाना खाने काम गर्नु हुँदैन भन्ने कुरालाई मनन गर्दै बैंकले बोनस जारी गरेर शेयरधनीलाई खुशी पारेँ भन्ने सोच सर्वथा गलत हुन्छ । नेपालमा बैंक, बीमा र जुनसुकै क्षेत्रका कम्पनी बलियो बनाउने हो भने चुक्ता पूँजी होइन, जगेडा बलियो बनाउने काममा लाग्नुपर्छ । यसैमा देश, शेयरधनी र कम्पनीको पनि हित छ । यो कुरालाई सबैभन्दा बढी मनन केन्द्रीय बैंकको गभर्नर र बीमा समितिको अध्यक्षले गर्नु जरूरी छ ।
लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।