मकवानपुर । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा एक करोड ६ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका छन् । जिल्ला समन्वय समितिको ६० लाख र सो गाउँपालिकाको ४६ लाखको संयुक्त लगानीमा निर्माण भएको सो आयोजनाबाट २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले बताएको छ ।
एक हजार ७०० मिटर टाढाबाट लिफ्टिङ गरी टावर डाँडामा ल्याइएको सो पानी दुई लाख ४० हजारको ट्यांकीमा संकलन गरी खानेपानी स्थानीय २१६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । रासस