नेपाललाई जसरी आत्मनिर्भर बनाउनुपर्छ भन्ने चर्चा हुनेगर्छ, व्यवहारमा त्यसको ठीक उल्टो परनिर्भर बन्ने क्रम जारी रहेको छ । हुँदाहुँदा केही वर्ष अघिसम्म करीब ९० प्रतिशत आत्मनिर्भर भएको भनिएको फूलमा समेत पछिल्लो समयमा आयात बढ्न थालेको छ ।
फूलको व्यावसायिक खेती तथा त्यसको बजारको आधुनिक पद्धति अपनाउन नसक्दा निर्यात गर्ने खालको फूलको खेती हुन नसकेको देखिन्छ । अतः फूलको आन्तरिक प्रयोगका लागि यसको खेती व्यापक रूपमा गरिनुपर्छ भने निर्यातलक्षित फूलखेतीलाई पनि उत्तिकै प्रोत्साहित गरिनुपर्छ ।
सानो आकारको भए पनि फूल आयातको आँकडा हेर्दा यसले नेपालको निर्यात किन कमजोर भइरहेको छ भन्ने कुरालाई देखाइदिएको छ । आव २०७३/७४ मा रू. ११ करोड ३६ लाखको फूल आयात भएको थियो भने रू. ३ करोड ६५ लाख बराबरको फूल निर्यात भएको थियो । चालू आवको ८ महीनामा नै झन्डै १८ करोडको फूल आयात भएको छ । निर्यात भने ३३ लाख ७८ हजारमा खुम्चिएको छ ।
फूल अत्यावश्यक वस्तु होइन । त्यसमा पनि नेपालमै प्रशस्त फूलखेती हुन्छ । आफूलाई आवश्यक पर्ने फूल प्रायः सबैजसोले आफ्नो घरआँगनमा फुलाउने गर्छन् । तिहारमा ठूलो परिमाणमा फूल आयात हुन्छ । त्यही बेलाका लागि नेपाली फूल पनि प्रशस्त उत्पादन हुन्छन् । तर पनि फूल आयातको परिमाण अत्याश लाग्दो देखिन्छ । फूल आयातका लागि विदेशिने रकम सानो परिमाणको देखिन्छ । तर, यस्ता थुप्रै साना साना आकारका वस्तुहरूको आयात बढेर नै व्यापारघाटा डर लाग्दो बनेको हो भन्ने बिर्सनु हुँदैन ।
नेपालमा फूलखेती गरेर विदेश निर्यात गर्न सकिन्छ । गुलाफको खेती गरेर भ्यालेन्टाइन डेका लागि निर्यात गर्न शुरू गरिएको थियो तर अहिले त्यस दिनका लागि मात्रै पनि ठूलो परिमाणमा गुलाफको आयात हुन्छ । फूल निर्यात गर्न रेफ्रिजरेशनको समस्या हुन्छ । साथै विदेशमा चाहिने फूलको गुणस्तरअनुसार नेपालमा उत्पादन गर्न कठिन पनि देखिएको छ ।
निर्यात बढाउन समस्या होला तर आयात घटाउन खासै समस्या नहुनु पर्ने हो । नेपालमा व्यावसायिक फूलखेती शुरू भएको २५ वर्ष पुगिसकेको बताइन्छ । यस अवधिमा झन्डै चार दर्जन जिल्लामा व्यावसायिक पुष्प खेती विस्तार भएको छ । करीब ३ हजार रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएको आकलन छ । तर, कोरोना महामारीका कारण १० प्रतिशत व्यवसायीले यो पेशा छाडेको अनुमान छ । यी तथ्यांक हेर्दा नेपालमा पुष्पखेतीको सम्भावना निकै भए पनि यसलाई व्यावसायिक बनाउन सकिएको छैन ।
नेपाली माटो र हावापानी फूलखेतीका लागि उपयुक्त छ । यसका लागि ठूलो लगानी पनि आवश्यक छैन । नेपालमा खेती गरिएको फूल विशेष प्रकृतिको नभएर मानिसहरूले दैनिक पूजाआजामा प्रयोग गर्ने खालको छ । त्यसैअनुसार फूल खेती र आपूर्ति भइरहेको छ । विशेष प्रयोजन र पर्वलाई लक्षित गरी फूलखेती खासै गरिएको छैन भन्दा हुन्छ । आन्तरिक खपतका लागि मात्रै खेती भइरहेको छ ।
निर्यातका लागि फूलखेती गर्न बैंकले दिने ऋण रकम निकै अपुग देखिन्छ । एक त यसका लागि जग्गा चाहिन्छ जुन अहिले घडेरीमा टुक्रिइसकेको छ । अर्को, जग्गाको मूल्यमा आएको ठूलो वृद्धिले पुष्पखेती गर्न निकै सकस भइरहेको देखिन्छ । फूलको व्यावसायिक खेती तथा त्यसको बजारको आधुनिक पद्धति अपनाउन नसक्दा निर्यात गर्ने खालको फूलको खेती हुन नसकेको देखिन्छ । अतः फूलको आन्तरिक प्रयोगका लागि यसको खेती व्यापक रूपमा गरिनुपर्छ भने निर्यातलक्षित फूल खेतीलाई पनि उत्तिकै प्रोत्साहित गरिनुपर्छ । फूलबाट बन्न सक्ने विभिन्न वस्तुको उत्पादन गरेर पनि आयात प्रतिस्थापन गर्न सकिन्छ । नेपालमा फूललगायत कृषि खेतीको विकास र विस्तार गर्न भन्दै संघदेखि स्थानीय तहले सम्म काम गरेको देखिन्छ । यसका लागि तीनै तहका सरकारले कृषि प्राविधिक पनि भर्ना गर्ने गरेका छन् । तर, बढ्दो आयातको आँकडा हेर्दा तीन तहका सरकारले गरिरहेको कामप्रति नै प्रश्न उठेको छ । सरकारले काम गरिरहेको बताइरहने तर निर्यातमा सुधार नहुने हो भने अब काम गर्ने शैलीमै सोच्नुपर्ने देखिन्छ ।