काठमाडौं (अस) । नेपाल हस्तकला महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न भाटभटेनी सुपरमार्केटमा हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ । महासंघको हस्तकला वर्ष र उद्योग परिषद्अन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनी, नयाँ ठिमी भाटभटेनी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने भएको हो ।
शुक्रबार महासंघमा आयोजित कार्यक्रममा मेला संयोजक विक्रमसिंह महर्जनले मेलाबारे जानकारी दिए । मेला कात्तिक ८ गतेदेखि नक्साल भाटभटेनीबाट सुरु हुने र कात्तिक १६ गते कृष्णगल्ली भाटभटेनीमा समापन हुनेछ । आयोजकका अनुसार नक्सालमा कात्तिक ८ देखि १० गतेसम्म, ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्णगल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
हस्तकला मेलामा छालाजन्य सामग्री, पस्मिना, उलन, नेपाली कागज, सिसाकला, कपडालगायतका २५ वटा स्टल रहनेछन् । मेलाको बैंकिङ पार्टनर सानिमा बैंक तथा प्रवद्र्धकमा ग्यालरी तिब्बत हाउस रहेका छन् । भाटभटेनीसँगको सयुक्त आयोजनामा हुने मेलाबाट कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा महासंघको छ ।