स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । उपचार गर्ने स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) झण्डै दुई वर्ष अघिदेखि नै कारागारमा छैनन् । कारागार जस्तो संवेदनशिल ठाउँमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई सामान्य उपचार गर्न समेत दमौली अस्पताल र अन्य निजी अस्पतालहरुमा लैजानु पर्ने बाध्यता रहेको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य सहायक सक्षम घिमिरे २०७६ असोज २३ गते सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन भएको सुवेदी बताउनुहुन्छ । ‘‘पदपूर्तिको लागि ठाउँमा कारागार व्यवस्था विभागलाई पटक पटक ताकेता गरेको छु् तर सुनुवाई भएको छैन’’ जेलर सुवेदीले भन्नुभयो ।