बागलुङको स्थानीय तहको आइसोलेशन केन्द्रमा स्वास्थ्यकर्मीको अभाव

जेठ ११, बागलुङ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाएपनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहुँदा संक्रमितको उपचारमा समस्या भएको छ ।  संक्रमितहरुको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेशन सञ्चालन गरे पनि विशेषज्ञ चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भिर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको स्थानीय तहको गुनासो छ ।  जिल्लाको काठेखोला गाउँपालिकाले महामारी नियन्त्रणका लागि भीमसेन प्रथामिक विद्यालयको खाली भएको भवनमा १० बेडको आइसोलेशन कक्ष निर्माण गरिएपनि विशेषज्ञ चिकित्सकको अभावमा गम्भिर बिरामीहरुलाई धौलागरी अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए ।  ‘गाउँपालिकामा १० बेडको आइसोलेशन कक्ष निर्माण गरिएको छ,’ अध्यक्ष थापाले भने ‘विशेषज्ञ चिकित्सकको लागि विज्ञापन गर्दा पनि कसैले आवेदन नभरेकोले गम्भिर प्रकृतिको बिरामीहरुलाई उपचार गर्न समस्या भएको छ ।’  गाउँपालिका अध्यक्ष थापाले जिल्ला सदरमुकामको नजिकको पालिका भएकोले बागलुङ नगरपालिकासँग समन्वय गरि १० जना भन्दा धेरै बिरामी भएमा नगरपालिकामा पठाइने गरेको बताए । ‘बेड मात्र थप गरेर हुँदैन,’ अध्यक्ष थापाले भने ‘बिरामीलाई गम्भिर समस्या देखा परेमा तुरुन्त अस्पताल पु¥याउनुपर्ने समस्या छ, हामीसँग चिकित्सकहरु हुनु हुँदैन बागलुङ नगरपालिकाको आइसोलेशनमा धौलागिरी अस्पतालका चिकित्सकहरुले समन्वय गरिरहेकोले हामीले नगरपालिकासँग समन्वय गरेर गम्भिर बिरामीहरुलाई अस्पतल र नगरपालिकाको आइसोलेशनमा पठाउने गरेका छौं ।’ काठेखालामा जस्तै बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, निसीखोला गााउँपालिकाले पनि त्यस्तै समस्या भोग्नुपरेको छ । पालिकामा विशेषज्ञ डाक्टरहरु नहुँदा गम्भिर विरामीहरुलाई धौलागिरी अस्पतालमै पठाउनु पर्ने समस्या रहेको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।  चिकित्सकको अभाव हुँदा विरामीलाई गाह्रो हुँदा र अक्सिजन लेबल घट्दै जाँदा उपचारमा समस्या हुने र औषधिहरु दिनको लागि पनि गाह्रो हुने बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनले बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरी अस्पतालका डाक्टरहरुसँग समन्वय गरि काम गरिरहेको समेत बताए ।  ‘हामीले अस्पतालका डाक्टरहरुसँग समन्वय गरि काम गरिरहेका छौं,’ उनले भने ‘नगरस्वास्थ्य शाखाका सबै टोली र नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मी, विद्यालय नर्सहरुलाई पनि आइसोलेशनमा खटाइएको छ । बिरामीहरुलाई धेरै गाह्रो भएमा र उनीहरुको समस्या अस्पतालका चिकित्सकहरुलाई बताएर उहाँहरुको सल्लाह बमोजिम औषधिहरु दिइने गरिएको छ ।’ बागलुङ नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा अस्पतालमा बेड अभाव भएमा कम लेबलको अक्सिजन दिनुपर्ने र निको हुँदै गएका बिरामीहरुलाई राख्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख खनालले बताए । उनले नगरपालिकाको आइसोलेशनमा अहिले म्याग्दी र गुल्मी जिल्लाका बिरामीहरु पनि उपचाररत रहेको बताए । धौलागिरी अस्पतालमा लामो समय काम गर्नुभएका खनालले स्थानिय तहमा एक्स–रे मेसिन नहुँदा जटिल प्रकारको निमोनिया पहिचानको लागि समेत समस्या हुने र उपचारमा गाह्रो हुने गरेको बताए । ‘चिकित्सक र एक्स–रे मेसिन नहुँदा स्थानीय तहहरुमा कोभिडका विरामीहरुको उपचारको लागि समस्या हुन्छ,’ उनले भने ‘बिरामीहरुको फोक्सोको अवस्था के छ र अब कुन औषधि दिने भन्नेमा चिकित्सकहरुसँग सल्लाह लिनुपर्ने भएपनि कतिपय स्थानीय तहले संचालन गरेका आइसोलेशनमा चिकित्सक नहुँदा समस्या भोग्नुपरेको छ ।’ बागलुङ जिल्लाको जैमिनी नगरपालिका १ जना, ढोरपाटन नगरपालिकाले आइसोलेशन निर्माण गरेको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा २ जना, गल्कोट नगरपालिकामा २ जना, बडिगाड गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना र ताराखोला गाउँपालिकामा १ जना विशेषज्ञ चिकित्सक रहेको पालिकाहरुले जानकारी दिएका छन् । पालिकामा विशेषज्ञ डाक्टर भएपनि अक्सिजनको प्राप्त सुविधा नभएकोले हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामीहरुलाई अस्पतालमै पठाउनु पर्ने समस्या रहेको छ । यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट नगरपालिका र जैमिनी नगरपालिकामा मात्र एक्स–रेको सुविधा भएपनि अन्य पालिकामा एक्सरेको सुविधा नभएकोले उनीहरुले पनि कोरोनाको बिरामीलाई समस्या भएमा धौलागिरी अस्पतालमै पठाउनुपर्ने अवस्था रहेको छ ।