सरकारले चाहेजस्तो कानून असम्भव छ

उद्योगीले बैंक चलाउन नपाउने कुरामा केही व्यावहारिक समस्याहरू रहेका छन् । बैंक चलाउन पुँजी आवश्यक पर्छ । पुँजी सामान्य व्यक्तिदेखि उद्योगपतिले पनि राख्ने गर्छन् । बैंकमा भएको लगानी उद्योगपतिको हो वा होइन भनेर कुरा स्पष्ट हुनु जरुरी छ । वित्तीय क्षेत्रमा लगानी गर्ने व्यक्ति र औद्योगिक क्षेत्रमा लगानी गर्ने व्यक्ति एउटै हुनुहुँदैन भन्ने सरकारको निर्णयमा सहमत हुन सकिँदैन । किनकि लगानीकर्ता एउटै हुँदा स्वार्थको द्वन्द्व हुन्छ । सरकारी निर्णयका दुईवटा उद्देश्य छन् । पहिलो आफै ऋणी भएर कर्जा दुरुपयोग नहोस् । दोस्रो, बैंक चलाउँदा बैंक चलाउने हैसियतले चलाउने हो कि ऋणीको हैसियतले चलाउने हो भन्ने जरुरी छ । सरकारले चाहेजस्तो कानुन ल्याउन असम्भव जस्तै छ । किनभने यस विषयमा स्पष्ट परिभाषा छैन । त्यस्तै अन्तर्राष्ट्रिय मान्यतामा पनि एकरूपता छैन । त्यस कारण कानुन बने के होला भन्ने विषयमा पूर्वानुमान गर्नुको पनि कुनै अर्थ छैन । मुलुकको अनुगमन गर्ने निकाय फितलो छ । बैंकमा लगानी गर्ने लगानीकर्ता आफैले छुट्याउनु राम्रो हुन्छ । यसका लागि स्वयं निर्धारण प्रक्रियामा जानुपर्छ । बैंकहरूले आफूले पाएको सहुलियतको दुरुपयोग गरेकाले आज यो समस्या आएको हो । उद्योगी आफैं बैंकको साहू पनि हुने र ऋण पनि लिने गरिरहेका छन् । उनीहरूले सरकारसँग ब्याज घटाऊ भन्ने दोहोरो चरित्र देखाइरहेका छन् । (खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतानसँगको कुराकानीबाट) वर्ष ५, अंक ४३, २०६७, असार १४–२०

सम्बन्धित सामग्री

निर्माण व्यवसायीका माग र सरकारको अडान

सरकारले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजना सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्नेलगायत कारबाही रोकिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गर्नुपर्ने, सबै आयोजनाको म्याद एकमुष्ट थप गर्नुपर्नेलगायत माग राखेका छन् । उनीहरूको माग कतिपय सम्बोधन गर्न नसकिने खालका होलान् तर भुक्तानी माग गर्दै आन्दोलन गर्नुपर्ने अवस्था आउनु भनेको सरकारको बदमासी हो । यसले अर्थतन्त्रलाई त राम्रो गर्दैन नै, साथै सरकारकै अन्तरराष्ट्रिय छविसमेत बिगार्छ ।  सरकारले कुनै पनि आयोजना ठेक्कामा लगाउँदा विभिन्न शर्त, प्रावधान र मापदण्डसहितका कुरामा सम्झौता गरेको हुन्छ । त्यही सम्झौतामा भुक्तानी केकति हुने, कति काम गरेपछि कति भुक्तानी दिने, मोबिलाइजेशनको रकम कति दिनेजस्ता सबै कुरा खुलस्त पारिएको हुन्छ । त्यसमा दुवै पक्षले हस्ताक्षर गर्ने भएकाले सरकार र निर्माण व्यवसायीका लागि त्यसको पालना बाध्यकारी हुन्छ । यदि कसैले त्यो टेर्दैन भने अपराध हुन्छ र त्यो मामिला अदालतमा समेत लैजान सकिन्छ । कानून पालनाको जिम्मेवारी लिएको सरकारले नै सम्झौता मिचेर काम सकिएका आयोजनाको भुक्तानी दिँदैन भने कहाँ उजुरबाजुर गर्न जाने ? व्यवसायीले कसलाई विश्वास गर्ने ? त्यही भएर आन्दोलनमा जानु उनीहरूको बाध्यता हो । त्यति मात्र नभई जुन देशको सरकारले नै करार पालना गर्दैन त्यहाँ दण्डहीनताको अवस्था सृजना हुन्छ । कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान रहेको निर्माण क्षेत्र ठप्प हुँदा निर्माण कार्य ढिला हुने मात्र होइन, समग्र अर्थतन्त्र नै समस्यामा पर्न जान्छ । निर्माण व्यवसायीको भुक्तानी रोकिँदा वित्तीय प्रणालीमा असर परेको त छ नै, समग्र अर्थतन्त्रमा पनि असर पर्न थालेको छ ।  सरकारले पूँजीगत खर्च गर्न सकेको छैन । त्यसको दोष ठेकेदार कम्पनीमाथि पनि लाग्ने गरेको छ । यसमा उनीहरूको दोष नभएको पनि होइन तर त्योभन्दा बढी दोष सरकारको देखिन्छ । ठेकेदार कम्पनीलाई भुक्तानी नदिएपछि उनीहरूले कसरी काम गर्ने ? उनीहरूले एउटा ठेक्काबाट प्राप्त रकमबाट अर्को ठेक्काको काम अघि बढाउने गर्छन् । काम सक्किएको ठेक्काको भुक्तानी नपाए पछि नयाँ ठेक्काको काम अघि बढाउन उनीहरूसँग पर्याप्त पूँजी नहुन सक्छ । त्यसैले सरकारले कुनै पनि हालतमा निर्माण सम्पन्न आयोजनाको भुक्तानी तत्काल दिनुपर्छ ।  स्रोतको अभाव भएको भन्ने सरकारी तर्क हुन सक्छ । तर, स्रोतको सुनिश्चितता नभई आयोजनाको कामै शुरू गरिँदैन । त्यसैले यो अर्थ मन्त्रालय र विकासे मन्त्रालयले जानाजान गरेको बदमासी हो । यसमा सुधार हुनैपर्छ ।  निर्माण व्यवसायीले सरकारले ठेक्काको कामको प्रगति हेरेर म्याद थप्ने प्रक्रिया शुरू गरेकामा पनि विरोध गरेका छन् । सबै ठेक्काको म्याद एकमुष्ट थप्नुपर्छ भन्ने मागमा भने सहमति जनाउन सकिन्न । कुनै आयोजना सम्पन्नै हुन नसक्ने भनी बजेट नै रोकिएको छ । कुनैमा मोबिलाइजेशन रकम लिएर ठेकेदार बेपत्ता छन् । कतिपय आयोजनामा स्थानीयको अवरोध भएकाले काम अघि बढाउनै नसक्ने अवस्था छ । कतिपय आयोजना भने अन्तिम चरणमा पुगिसकेका छन् । यस्ता सबै खाले आयोजनाको म्याद सोलोडोलो एकैचोटि थप्ने कुरामा व्यावहारिकता देखिँदैन । त्यसैले सरकारले सम्भव भएजति माग तत्काल पूरा गर्नुपर्छ र असम्भव माग यस कारणले पूरा गर्न सकिँदैन भनेर व्यवसायीलाई स्पष्ट पार्न सक्नुपर्छ ।  कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान रहेको निर्माण क्षेत्र ठप्प हुँदा निर्माण कार्य ढिला हुने मात्र होइन, समग्र अर्थतन्त्र नै समस्यामा पर्न जान्छ । निर्माण व्यवसायीको भुक्तानी रोकिँदा वित्तीय प्रणालीमा असर परेको त छ नै, समग्र अर्थतन्त्रमा पनि असर पर्न थालेको छ । निर्माण उद्योगले आफ्नो उत्पादन कटौती गर्नुपरेको छ । राजस्व १३ प्रतिशतले घट्नुमा यस क्षेत्रको पनि भूमिका देखिन्छ । त्यसैले सरकार यसमा गम्भीर हुन आवश्यक छ ।

विद्युत् निकासीका शर्त: प्रतिस्पर्धी मूल्य र कूटनीतिक चातुर्य

काठमाडौं/वीरगञ्ज। नेपालले आगामी १० वर्षमा भारतलाई १० हजार मेगावाट विद्युत् निकासी गर्ने महत्त्वाकांक्षा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा यसमा समझदारी पनि भयो । त्यस्तै सन् २०४० सम्ममा बंगलादेशलाई ९ हजार मेगावाट विद्युत् बेच्ने भनिएको छ । धरैले यसलाई उत्साहजक भनेका छन्, तर ऊर्जा उत्पादकहरू थुप्रै नीतिगत सुधारदेखि कूटनीतिक चातुर्य नअपनाएसम्म यो असम्भव देख्छन् ।  आर्थिक सर्वेक्षण २०८० का अनुसार अहिलेको विद्युत्को जडित क्षमता २ हजार ६६६ मेगावाट छ । अहिले करीब १७ सय मेगावाटको आन्तरिक खपत धान्न पनि आयात भइरहेको छ । यो अवस्थामा १० वर्षमा १० हजार मेगावाट बिजुली निकासी गर्ने लक्ष्यमा पुग्ने हो भने आजैदेखि गम्भीर गृहकार्यमा लाग्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् ।  निकासीका लागि उत्पादन प्राथमिक शर्त हुने अध्यक्ष कार्कीको भनाइ छ । ‘जलविद्युत् भारत निकासीका लागि सबैभन्दा पहिला त उत्पादन बढाउनुपर्‍यो । स्वदेशमा उत्पादन र खपत बढाउन थुप्रै नीतिगत सुधारको खाँचो छ,’ उनले भने । विद्युत् विकासदेखि वितरणका पूर्वाधार निर्माणमा देखिएका प्रक्रियागत र नीतिगत समस्या समाधान नभई विद्युत् उत्पादन सहज नहुने उत्पादकहरूको दाबी छ ।  विद्युत् विकासका लागि जग्गा प्राप्ति सबैभन्दा झन्झटिलो भएको अनुभव अध्यक्ष कार्कीको छ । ‘वनसँग सम्बद्ध कानूनहरू विद्युत् विकासका विरोधी छन् । यस्ता कानून र प्रक्रियालाई कम्तीमा १० वर्षका लागि निलम्बन गर्नुपर्छ । जग्गाको हदबन्दी नलाग्ने र निजी जग्गाको मुआब्जा दिनुपर्ने भएमा सरकारले त्यसको व्यवस्थापन नगरेसम्म अपेक्षित उत्पादन हुन सक्दैन,’ उनले भने । विद्युत् निकासी चर्चा गरिएजस्तो सहज नभएको बताउँछन् इप्पानका सल्लाहकार कुमार पाण्डे । प्रतिस्पर्धी मूल्यमा विद्युत् उत्पादन नै मुख्य चुनौती भएको पाण्डे बताउँछन् । ‘भारतको भन्दा सस्तो दरमा विद्युत् दिनसक्ने क्षमता नभएसम्म निकासी हुँदैन । भारतबाट प्रविधि र उपकरण आएर यहाँ उत्पादन हुने हो । सरकारले यसमा सहुलियत नदिए प्रतिस्पर्धी मूल्य दिन सकिँदैन,’ उनले आर्थिक अभियानसित भने ।  उत्पादनलाई लक्षित बजार (भारत/बंगलादेश)सम्म पुर्‍याउन प्रसारण लाइनमा खर्बौं रुपैयाँ लगानी चाहिने पनि उत्पादकहरूले बताए । प्रसारणका पूर्वाधारमा कसले, कुन मोडेलमा लगानी गर्ने भन्ने पनि नीतिगत रूपमै स्पष्ट हुनुपर्नेमा उनीहरूको जोड छ ।  उत्पादन र प्रसारणका पूर्वाधारमा बैंक र बाह्य लगानीकर्ताको लगानी भित्त्याउन स्पष्ट नीतिगत व्यवस्था हुनुपर्ने अध्यक्ष कार्कीको सुझाव छ । ‘विद्युत् उत्पादनमा अवरोध बनेका कानून र प्रक्रियाहरूलाई कम्तीमा १० वर्षका लागि निलम्बन गर्ने हो भने मात्रै यो क्षेत्रमा वित्तीय क्षेत्रको लगानी बढ्छ,’ उनले दाबी गरे ।  नेपालले प्रतिस्पर्धी मूल्य र निरन्तर उत्पादन गरेमात्र निकासी निश्चित हुने दाबी गरिएको छ । ‘अहिले त वर्षामा २/३ महीनाको लागि मात्रै विद्युत् किनिदेऊ भन्नुपरेको छ । यस्तोमा विद्युत् नजाँदा भारतलाई नोक्सान हुने होइन । हामी विद्युत् आपूर्तिमा भारतको भरपर्दो स्रोत बन्ने अवस्था आएमात्रै त्यसमा भारतको स्वार्थ हुन्छ,’ उत्पादकहरू भन्छन् ।  भारतले विद्युत् आयातसम्बन्धी नीति र निर्देशिकामार्फत भारत र नेपालको लगानी भएको विद्युत्मात्र आयात गर्ने शर्त अघि सारिरहेको अवस्थामा नेपालले कूटनीतिक चातुर्य अपनाउनुपर्ने इप्पानका सल्लाहकार पाण्डेको तर्क छ । ‘यो नेपालको कूटनीतिक र बार्गेनिङ क्षमतामा भरपर्ने कुरा हो । नेपाल र भारतबाहेकका देशको लगानीकर्ता संलग्न भएको उत्पादन पनि लिन भारतलाई सहमत गराउन सक्नुपर्छ,’ उनले भने ।  भारत निर्भर बंगलादेश निर्यात  नेपालको विद्युत् बंगलादेश निकासीमा पनि भारत सकारात्मक हुनुपर्ने जानकारहरूको मत छ । बंगलादेशले नेपालसँग सन् २०४० सम्म ९ हजार मेगावाट विद्युत् खरीदको समझदारी गरेको छ । नेपाल र बंगलादेशको ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।  ऊर्जा आपूर्तिमा ५१ प्रतिशत ग्यासमा निर्भर रहेको बंगलादेश जलविद्युत्मा भने आयातको भरमा छ । सन् २०१८ मा ऊर्जा क्षेत्रमा दुई देशबीच सहयोगको समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालबाट जलविद्युत् निर्यातको बाटो खुलेको हो ।  तर, यसमा भारतको भूमिका सकारात्मक नभएसम्म नेपालबाट भारतीय भूमि भएर सोझै बंगलादेश विद्युत् निकासी हुन नसक्ने मत विश्लेषक जगदीशप्रसाद अग्रवालको छ । ‘भारतले विभिन्न नीति निर्देशनमार्फत विद्युत् व्यापार नियन्त्रण गर्न खोजिरहेको अहिलेको अवस्थामा उसको भूमि भएर सीधै निकासी गर्न सहमति देला भन्नेमा आशंका छ । नेपालबाट भारतले खरीद गरेर बंगलादेशलाई निकासी गर्ने स्थिति पनि हुन सक्छ,’ अग्रवालको भनाइ छ ।  इप्पान अध्यक्ष कार्की पनि बंगलादेश निकासीमा यो विकल्पको सम्भावना देख्छन् । उनी भन्छन्, ‘बंगलादेश निकासीलाई भारतले रोक्न सक्दैन । यसमा अन्तरराष्ट्रिय दबाबका कुराहरू पनि हुन्छन् । बरु, भारतले नेपालसँग किनेर बंगलादेशलाई दिन सक्छ ।’

विशेष अदालतको फैसला- ८ करोडको सम्पत्ति भएकासँग ६ अर्ब असुल्नुपर्ने

प्रतिवादीतर्फका एक कानून व्यवसायी भन्छन्, ‘नेपालका कोही पनि व्यक्तिले ४ अर्ब रुपैयाँ धरौटी राख्न सक्दैनन् । यो असम्भव जरिबाना हो । जसरी पनि जेलमै सडाउने षडयन्त्र भएको छ ।’

आगामी वर्षको बजेट : कति यथार्थ, कति झुट ?

आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक बजेट जेठ १५ गते संसद्मा पेश भयो । ५४ वर्षपछि पहिलोपटक लक्षित राजस्व उठ्ती लक्ष्यको ६० प्रतिशत मात्रै भएको अहिलेको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ सक्दैन ? मुलुक आर्थिक अराजकता, कुशासन र भ्रष्टाचारबाट मुक्त हुन र बढ्दो चालू खर्चलाई निर्ममतापूर्वक नियन्त्रण गरी विकास खर्च बढाउन यो बजेटले सक्छ सक्दैन ? सबैको प्रतीक्षाको विषय थियो ।  यो बजेटले सरकारको चालू खर्च घटाउन २० ओटा सरकारी कार्यालय बन्द वा आपसमा गाभ्ने कुरा गरेको छ । नयाँ घर नबनाउने र नयाँ गाडी नकिन्ने भनेको छ । मुलुकमा सञ्चालित ठूला पूर्वाधारका प्रोजेक्टमा स्वदेशी सिमेन्ट र स्वदेशी छडको प्रयोग गर्ने, त्यस्ता प्रोजेक्टको लागि विदेशबाट आउने छड र सिमेन्टमा भन्सार लगाउने भनेको छ ।  देशमा बन्ने सडकहरूमा छड र सिमेन्ट प्रयोग गर्ने भनेको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग भएको सम्झौताअनुसार १ अर्ब रुपैयाँ अनुसन्धानमा छुट्ट्याएको छ । सरकारी खरीद तथा कर प्रशासनलाई पारदर्शी बनाउन इ–बिडिङका माध्यम अपनाउने भनेको छ । यी सकारात्मक पक्ष भएर पनि बजेट वास्तविक छैन । अनुमानित १७ खर्ब ५१ अर्बको बजेट आएको छ । त्यसमा करीब १२ खर्ब राजस्वबाट, २ खर्ब ५० अर्ब वैदेशिक ऋण तथा सहयोगबाट र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने भनेको छ । यस वर्ष जम्मा ९ खर्ब ५० अर्ब आन्तरिक राजस्व उठ्ने अनुमानमा आगामी वर्ष १२ खर्बभन्दा माथि आन्तरिक राजस्वबाट उठ्छ भन्ने तर्क जायज छैन ।  वैदेशिक सहायता यस वर्ष ८, ९ अर्ब प्राप्त भएकोमा आगामी वर्ष ५० अर्ब उठ्छ भन्ने कुनै आधार छैन । वैदेशिक ऋण पनि आजसम्म कहिल्यै पनि लक्ष्यको ५० प्रतिशतसम्म पनि प्राप्त भएको छैन । त्यसैले सरकारको प्रक्षेपण सही छैन ।  सरकारले करीब ३ खर्ब आन्तरिक ऋण उठाउने भनेको छ । यति ठूलो रकम बैंकहरूबाट महँगो ब्याजमा सरकारले नै लिँदा बजारमा लगानीयोग्य पूँजी रहने छैन । उद्योग व्यवसायका लागि पूँजीको कमी हुनेछ । साधारण खर्च र ऋणको सावाँ ब्याजमा करीब १४ खर्ब ५० अर्ब खर्च गर्ने अनुमान छ । यो खर्च सरकारले चाहेर पनि घट्ने छैन । यस वर्ष जम्मा १५ खर्ब बजेट भएको अवस्थामा आगामी वर्ष आन्तरिक राजस्व, वैदेशिक ऋण सहयोग र आन्तरिक ऋणबाट जति गरे पनि १४/१५ खर्बभन्दा बढी प्राप्त हुने छैन । आगामी वर्ष विकास बजेटका लागि सरकारले रकम उपलब्ध गराउन सक्ने छैन ।  सरकारले चालू खर्च घटाउनुपर्थ्यो । ज्येष्ठ नागरिक भत्ता न्यून आय भएका ज्येष्ठ नागरिकलाई मात्र दिनुपर्थ्यो । भ्रष्टाचार नियन्त्रण गरी खर्च घटाउनुपर्थ्यो । र, विकास बजेट ठोस तथा उपलब्धिपूर्ण आयोजनामा लगानी गरी प्रतिफल प्राप्त गर्नुपर्थ्यो । सरकारले बजेट ल्याउनुपूर्व अघिल्लो वर्षको बजेटको कठोर समीक्षा गर्नुपर्थ्यो ।  संसारमा एउटा प्रचलन बढिरहेको छ, उद्योगी व्यवसायीसँग विना झन्झट सजिलो प्रक्रियाबाट कर लिने र उद्योग व्यवसाय गर्न पूर्ण छूट दिने । कर तिर्न लामो प्रक्रिया नहोस्, सरकारी नियम कानून सरल र बढी अड्डा अदालत धाउनु नपरोस् । तर, सरकार यस वर्ष पनि त्यतातर्फ चुक्यो । अनेकौं नयाँ नियम लगाइएको छ । कर मूल्यांकन गर्न वर्षौं लाग्ने प्रक्रिया छ । ससाना व्यवसायले पनि छुट्टै हिसाब राख्नुपर्ने व्यवस्था गरिएको छ जुन व्यावहारिक छैन ।  बजेट राजस्वमुखी मात्रै भयो । यसले जनतालाई प्रत्यक्ष असर पर्ने, महँगी बढ्ने, ससाना कुरामा पनि कर लगाएको र आयकरको सीमा ३९ प्रतिशतसम्म पुर्‍याएकाले नेपाल सबैभन्दा बढी कर लगाउने मुलुकतर्फ देश गयो । बजारलाई चलायमान बनाउन सरकारले कुनै नीति ल्याएन । बैंकमा खाता खोल्दा नागरिकतासहित प्यान र राष्ट्रिय परिचयपत्र अनिवार्य गर्‍यो । अब ठूलो संख्यामा नागरिक बैंकमा खाता खोल्न जाने छैनन् र बैंकमा पैसा जम्मा हुने छैन । अधिकांश पैसा घरको सन्दुकमा नै रहनेछ । सरकारले औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुमा १ तह भन्सार दर फरक गर्ने घोषणा गरे पनि व्यवहारमा कतिपय वस्तुमा त्यस्तो गरेको छैन र उद्योग व्यवसायलाई प्रतिकूल प्रभाव पर्ने गरी औद्योगिक कच्चा पदार्थमा भंसार महशुल बढाएको छ ।  भ्रष्टाचारको मूल जड संसदीय विकास कोषलाई पुनर्जीवित गरी सरकारले भ्रष्टाचार, कुशासनलाई बढावा दियो । बजेटले ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । जो असम्भव छ । यस वर्ष २ प्रतिशत वृद्धि भएको अर्थतन्त्र जादूको छडी चलाएमात्रै यो सम्भव छ । चुरे दोहनबाट ढुङ्गागिट्टी निर्यात गरी कुल जनसंख्याको आधा बसोवास भएको तराई क्षेत्रलाई मरुभूमीकरण गरेपछि यो देश कस्तो हुनेछ ? सबैभन्दा महत्त्वपूर्ण कुरा केही सत्तासीन स्वार्थी तत्त्व र माफियाबाहेक सम्पूर्ण नेपालीको विरोध रहने यो नीति सरकारले किन ल्यायो ? कतै सरकारभन्दा माफिया बलिया भएका त होइनन् ? समग्रमा यो बजेट जनमुखी छैन, उद्योगमैत्री छैन, व्यवसायमैत्री छैन । यसले महँगी बढाउँछ । राजस्वको अधिकांश रकम चालू खर्चमा खर्चिनेछ । विकास कार्य सुस्त हुनेछ र मुलुकलाई आर्थिक अराजकतातर्फ लैजानेछ । र, यसको परिणाम भयावह हुनेछ ।  गौतम वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन् ।

निकै महँगो अमेरिकी ल फर्म 'वाकटेल'मार्फत 'कमब्याक' योजना बनाउँदै अदानी

काठमाडौं । अमेरिकी अनुसन्धान लगानी कम्पनी हिन्डेनबर्ग रिसर्चले अदानी समूहको नाममा प्रतिवेदनरुपी बम फोडेपछि समूहका कम्पनीहरुको बजार पूँजीकरण १ खर्ब ३२ अर्ब डलर गुमेको छ । हिन्डेनबर्गले समूहमाथि शेयरमा चलखेल गरेको, वित्तीय अनियमितता र कर्पोरेट अव्यवस्थाको आरोप लगाएपछि समूहले मात्रै होइन अदानीले पनि निकै ठूलो घाटा बेहोर्नु पर्यो । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रिपोर्ट सार्वजनिक हुनु अघि तेस्रो स्थानमा रहेका अदानी आज २७ औं स्थानमा ओर्लिएका छन् । यो अवधिमा उनले गुमाएको सम्पत्तिको त हिसाब गरेर साध्य नै छैन ।  अदानीले यस मामिलामा अमेरिकी संकट व्यवस्थापन तथा कानूनी समूहहरुलाई भर्ती गरेको छ । ८५ करोड डलरमा कोइला कारखाना किन्ने सम्झौता खारेज गरिदिए, खर्च घटाए अनि शेयर धितोमा राखेर लिएको केही कर्जा तिरिदिए । भविष्यमा थप कर्जा पुनःभुक्तानी गर्ने वाचा पनि गरेका छन् । हिन्डेनबर्गको रिपोर्टका कारण चौपट भएको कम्पनीहरुका शेयर मूल्य र अवस्थालाई विस्तारै पहिलाकै स्तरमा ल्याउने आशा अदानीको छ ।  हिन्डेनबर्गको सबै आरोपको अदानी समूहले खन्डन गरिरहेको छ । हिन्डेनबर्गको प्रतिवेदनको गम्भीरता कस्तो रहेछ भन्ने कुरा समूहका कम्पनीको शेयर मूल्य साढे ७७ प्रतिशतसम्म घट्नुले पनि छर्लङ्ग बनाउँछ । यसको असरले भारतीय शेयर बजार नै कयौं दिनसम्म त्रस्त रह्यो । विश्वव्यापी शक्ति बन्ने भारतको महत्वकांक्षामाथि नै प्रश्न उठाइयो ।  अदानीले ग्लोबल कम्युनिकेशन एड्भाइजरका रुपमा केक्स्ट सीएनसीलाई ल्याएको खबरहरु आइरहेको छ । न्यूयोर्क र म्युनिखमा मुख्यालय रहेको यो कम्पनीले हालैका वर्षहरुमा कयौं कर्पोरेट झट्काहरु मत्थर पार्न काम गरेका छन् । यीमध्ये एक सन् २०१९ मा अमेरिकी को–वर्किङ स्पेश प्रदायक विवर्क इंकको शेयर मूल्यमा देखिएको विष्फोट थियो । केक्स्टले अदानी समूहलाई लगानीकर्ताहरुको विश्वास पुनःप्राप्तिमा सघाउने ठानिएको छ । अहिले अदानी समूहमाथि हिन्डेबर्गको आरोप मात्रै होइन  व्यवसायको मजबूतिसम्बन्धी चिन्ताहरु पनि उब्जिएका छन् । यी सबै चिन्ताहरु साम्य पार्न केक्स्टले कसरी सघाउला यो भने हेर्न बाँकी छ ।  हिन्डेनबर्ग कान्डपछि अदानी समूहका शीर्ष कार्यकारीहरुले शान्तिको सास फेर्न पाएका थिएनन् । केक्स्टले अदानीका सीईओ र कम्युनिकेशन टिमसँग मिलेर काम गरिरहेको छ । अदानी समूह अमरिकी कानून कम्पनी वाकटेल, लिप्शन, रोसेन एन्ड काट्जसँग मिलेर हिन्डेनबर्गविरुद्ध कानूनी लडाइ लड्ने तयारीमा भएको भन्दै अज्ञात स्रोतहरुलाई उद्धृत गरेर फाइनान्सियल टाइम्सले समाचार छापेको थियो । वाकटेल अमेरिकाको सबैभन्दा महँगो कानून कम्पनी मध्ये पर्दछ । शेयरधनी अभियन्ताहरुबाट आक्रमणको सामना गरिरहेका क्लाइन्टको बचावमा उसँग राम्रै अनुभव छ । अदानी समूहका प्रवक्ताले तत्कालै अमेरिकी कम्पनीहरुसँगको साँठगाँठबारे बारे केही बताएनन् । केक्स्ट वाचटेलले पनि यसबारे केही भनेका छैनन ।  शेयर बजार रक्ताम्मे भएर कल्पनै गर्न नसकिने बजार पूँजीकरण गुम्दा पनि अदानीले त्यति महँगा वकिलहरु राख्न सक्ने अवस्था भएको देखाएको छ । लगानीकर्ताहरुको मनमा अझै पनि अदानी समूहका कम्पनीहरुबारे अनेकौं प्रश्नहरु छन् । लगानी गन्तव्यमा भारतले चीनलाई उछिन्ने सपना धूमिल भएको छ । अमेरिकी अर्बपति लगानीकर्ता जर्ज सोरोसको आरोपले अड्कलबाजीहरु झनै बढाएको छ ।  अदानीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट मानिनछ । यो विषयमा मोदीले प्रत्यक्ष रुपमा चुक्क बोलेका छैनन् । तर अदानीसँगको सम्बन्धबारे विपक्षीहरुले आफूलाई र्‍याखर्‍याख्ती पारेपछि मोदी उल्टै उनीहरुमाथि खनिएका थिए । अहिले लगानाीकर्ताहरुको आँखा दुई चिजमा छ, त्यो हो समूहको उच्च लिभरेज अनुपात अनि साढे २ अर्ब डलरको एफपीओ फिर्ता गर्नु परेपछि समूहको नगद प्रभाव गर्ने क्षमता । यी चासोहरु सम्बोधन गर्न अदानी व्यवस्थापनले एक पछि अर्को गर्दै विस्तारै कदम चालिरहेको छ ।  आगामी वर्ष कम्पनीको ब्याज, कर, मूल्यह्रास र ऋण भुक्तानिपछिको खूद कर्जा अनुपात तीन गुणाभन्दा तल झार्ने समूहको लक्ष्य छ । यो अनुपात अहिले ३ दशमलव २ प्रतिशत छ । समूहको समग्र पुजिजीगत खर्चमा कटौती गर्न र नगद जोगाउन अदानी पावरले डीबी पावरको कोइला कारखाना किन्ने योजनै रद्द गर्यो । अहिलेको संकट समाधान गर्न यस्ता खालका थप कदम चाल्नु पर्ने पर्यवेक्षकहरु बताउँछन् । समूहसँग केही निकै मूल्यवान सम्पत्तिहरु पनि छ । यस्तो सम्पत्ति बेचेर नगद प्रवाह सृजना गर्न सक्ने सम्भावना पनि छ । समूहका कम्पनी र अदानीका परिवारका सदस्यहरुले लिएको कर्जाको पुनः भुक्तानी वा भाका अगावै कर्जा भुक्तानीले पनि लगानीकर्ताहरुको मनमा बजार पूँजीकरण घटेर आधामा आएको भएपनि समूहमा तरलता वा ऋण चुक्ता गर्ने समस्या रहेनछ भन्ने पर्नेछ । अदानी परिवारका सदस्यहरुले फेब्रुअरी ६ मा समूहका तीन कम्पनीको शेयर धितो राखेर लिएको १ अर्ब ११ करोड डलर बराबरको ऋण म्याद घर्किनुभन्दा २० महीना अगावै तिरिदिए । कम्पनीहरुले धमाधम ऋण चुक्ता गर्ने योजना घोषणा गरिरहेका छन् । अहिले बजारमा देखिएको अस्थीरता अस्थायी भएको अदानी स्वयम्ले अदानी इन्टरप्राइजेजको वित्तीय विवरण सार्वजनिक गर्दा एक विज्ञप्तिमा भनेका थिए । समूहले अहिले सुस्त तर स्थिर वृद्धिको रणनीति रोजेका छन् ।  नयाँ रणनीतिले लगानीकर्ताहरुलाई हिन्डेनबर्गको रिपोर्टलाई पचाएर वा उसको प्रतिवेदन अदानीलाई हिलोमा डुबाएर आफू कमाउने खेल हो भन्नेमा विश्वस्त पार्न सक्छ कि सक्दैन यो चाँहि हेर्न बाँकी छ । समूहले वित्तीय अनुशासनहिनता र नियामक अनुपालनाको अभावको अरोपमा स्वतन्त्र अनुसन्धान नियुक्त गर्न हिच्किचाइरहेको स्पष्ट देखिन्छ । हालैको फाइलिङहरुमा अम्बुजा सिमेन्ट र अदानी ग्रिन इनर्जीले नियामक अनुपालना र आन्तरिक नियन्त्रणसम्बन्धी मामिलामा अनुसन्धान गर्न स्वतन्त्र कम्पनीहरुलाई नियुक्त गर्नेबारे विचार गरेको बताएका थिए ।  तर कुनै पनि कम्पनीले अहिलेसम्म यसबारे घोषणा गरेका छैनन् । विश्वचर्चित कम्पनीहरुको नियुक्ति सकारात्मक कदम हुन सक्छन् । आफ्ना विविध ट्रष्ट र निजी कम्पनीहरुको निरीक्षणका लागि अदानीले वित्तीय नियन्त्रक नियुक्त गर्ने योजना बनाएका छन् । अहिलेका लागि अदानी मेमा हुने इन्डेक्स रिभ्यूमा फ्रि फ्लो अपडेट कार्यान्वयनलाई पछाडि धकेल्ने एमएससीआई इंकको घोषणा पछि बजार मूल्यमा आएको कमी पुनःप्राप्तिमा लागेको देखिन्छ ।  एमएससीआईले अदानी समूहको कुनै पनि शेयरको इन्डेक्सलाई कटौती गर्यो भने कम्पनीको कोष प्रभावित हुने ब्लुम्बर्ग इन्टेलिजेन्सका एक वरिष्ठ विश्लेषकले गएको बिहीवार एउटा प्रतिवेदनमा भनेका थिए । कम्पनीको कोर वृद्धि रणनीति  हासिल नै असम्भव हुनेछ । विश्वभर महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने प्रवृत्तिका कारण कर्जाको लागत बढेको अवस्थामा समूहका कम्पनीहरुलाई आवश्यक रकम जुटाउन पनि धौंधौं हुन सक्छ । कर्जाको दायित्व पूरा गर्न सक्नेमा समूहका कम्पनीहरु विश्वस्त देखिन्छन् । नयाँ कर्जाको जोहो चाँहि अदानी समूहले कसरी गर्ला त्यो भने हेर्न बाँकी छ । एजेन्सीहरुको सहयोगमा

‘निजीक्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो असम्भव’

काठमाडौं । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान रहेको निजीक्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो सम्भव नहुने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । कुनै पनि बहानामा अब निजीक्षेत्रलाई हतोत्साही गर्न नपाइने भन्दै उनले ऊर्जा, ब्याजदर, उत्पादन लागत बढाउने विषयमा सरकारले एकतर्फी निर्णय गरेको पनि गुनासो गरे ।  महासंघले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारलाई सोमवार औपचारिक सुझाव हस्तान्तरण गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनी र विभिन्न वस्तुगत संघका पदाधिकारीको उपस्थितिमा महासंघले एक कार्यक्रम गरी बजेटका लागि सुझाव पेश गरेको हो । सो अवसरमा अध्यक्ष गोल्छाले केन्द्रीय तथ्यांक विभागले गरेको आर्थिक वृद्धिदरको प्रक्षेपण अस्वाभाविक नभएको बताए । चालू आर्थिक वर्षको शुरूआतसँगै बढेको आर्थिक गतिविधि टिकाउ हुन सकेको भए यो वृद्धि ८ प्रतिशतसम्म हुने उनको दाबी छ । ‘कुनै पनि बहानामा अब निजीक्षेत्रलाई हतोत्साही गर्न पाइँदैन,’ गोल्छाले भने, ‘निजीक्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो सम्भव छैन ।’ अहिले उद्योग क्षेत्रमा ४५० मेगावाट हाराहारी बिजुली कम भएको उनको भनाइ छ । ऊर्जा उपभोग बढाउनुुपर्ने भनिए पनि उद्योगलाई मारमा पार्ने परम्परागत प्रवृत्ति हालसम्म कायम रहेको उनको भनाइ छ । ‘उद्योगहरूमा ४/५ दिनयताको बिजुली कटौती हाम्रा लागि स्वीकार्य छैन,’ गोल्छाले प्रश्न गरे, ‘खपत बढाउनुस् भन्ने नेपाल विद्युत् प्राधिकरणले किन यसको व्यवस्थापन गर्न सकेन ?’  यस्तै बैंकको ब्याज नघटेको भन्दै गोल्छाले आयातमा प्रतिबन्ध लगाउँदा व्यवसायीको आत्मविश्वास गुमेको बताए । यसले उत्पादन संकुचित हुने र अर्थतन्त्र थप जोखिममा जान सक्ने महासंघको भनाइ छ । ‘हाम्रो अर्थतन्त्र समस्याग्रस्त भइसकेको छैन,’ गोल्छाले भने, ‘ऊर्जा, ब्याज लगायतका समस्याको व्यवस्थापन गरिएन भने जोखिम कायमै छ ।’ कार्यक्रममा उनले यो ५ वर्षमा राजस्व संकलन ६० प्रतिशत बढे पनि यसलाई सेवा, सुरक्षा र लगानीसँग जोड्न नसक्दा निराशा छाएको बताए । सो अवसरमा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सार्वजनिक संस्थान निजीक्षेत्रलाई दिनुपर्ने आवश्यकता औंल्याए । चुरे संरक्षण गर्दै ढुंगा–गिट्टी निर्यातलाई प्राथमिकता दिन पनि उनले आग्रह गरे । नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डिप्रसाद अर्यालले निर्यात नीति आवश्यक भएको बताए । उनले कोभिडको समयमा गार्मेन्ट क्षेत्रले १ अर्ब २५ करोड नोक्सानी बेहोरेको बताए । उनले नगद अनुदान उत्पादित वस्तुका आधारमा दिने व्यवस्था गर्न पनि सुझाए । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले सरकारले निर्यातमा सहजीकरण गरे स्वदेशी सिमेन्ट उद्योग १५० अर्ब रुपैयाँको सिमेन्ट निर्यात गर्न तयार रहेको बताए । कार्यक्रममा विभिन्न वस्तुगत संघका पदाधिकारीले धारणा राखेका थिए । गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न दिन माग महासंघले निर्माण सम्पन्न भई उडान परीक्षणसमेत भइसकेको गौतमबुद्ध अन्तररााष्ट्रिय विमानस्थलको सञ्चालन निजीक्षेत्रलाई दिन सुझाएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रलाई दिएर दक्षिण एशियाकै सस्तो विमानस्थल बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनका अनुसार यस्तो नीतिले वैदेशिक रोजगारीमा जान चाहने युवालाई सहज र सस्तो दरमा टिकट र अन्य सुविधा प्राप्त हुनेछ । सरकारले जेठ २ गतेदेखि यो विमानस्थलबाट औपचारिक रूपमा व्यावसायिक उडान शुरू गर्ने घोषणा गरेको छ । अन्तरराष्ट्रिय एयरलाइन्स जजिराले उडान अनुमति लिइसकेको छ । महासंघले प्रस्तुत गरेका सुझावमा निजीक्षेत्रको प्रवर्द्धनमार्फत सम्पत्ति निर्माणमा ध्यान दिनुपर्ने, बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा मै आमूल परिवर्तन गर्नुपर्ने, रेमिट्यान्स पठाउनेलाई स्मार्ट रेमिट्यान्स कार्ड जारी गर्नुपर्ने, निर्यातकर्तालाई हुने जोखिम कम गर्न ‘निर्यात क्रेडिट इन्सुरेन्स’ नीति बनाएर लागू गर्नुपर्ने जस्ता माग समेटिएका छन् ।  त्यसैगरी, भारतीय पर्यटकले नगद बोक्न पाउने सीमा बढाएर भारु २ लाख पुर्‍याउन र भारु २००, ५०० र २,००० का नोट नेपालमा चल्ने बनाउन पनि महासंघले माग गरेको छ । यसले भारतीय पर्यटक आगमन बढाउन मद्दत गर्ने व्यवसायी बताउँछन् ।  त्यसैगरी निजीक्षेत्रको संलग्नतामा आयुर्वेदिक ग्राम, प्राकृतिक उपचार केन्द्र परियोजना विकासको नीति ल्याउन, एक अर्बभन्दा बढीका करीब २०० सामान आयात भइरहेको सन्दर्भमा ती वस्तुहरू स्वदेशमै उत्पादन गर्न प्रोत्साहन प्याकेज ल्याउन महासंघले माग गरेको छ ।  कच्चा पदार्थमा लाग्ने भन्सार महशुल तयारी वस्तुमा लाग्नेभन्दा तीन तह कम गर्न र रुग्ण उद्योग पुनस्र्थापना गर्न सरकारले छुट्टै एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्न पनि महासंघले सुझाएको छ ।  त्यसैगरी ५० मेगावाट वा सोभन्दा बढीको जलाशय र अर्धजलाशययुक्त विद्युत् उत्पादन गर्ने परियोजनालाई १५ वर्षसम्म आयकर छुट दिन, विदेशीलाई अपार्टमेन्ट बिक्री गर्ने सम्बन्धमा कानून बनाई लागू गर्न, स्टार्ट अपलाई कर छूटसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।  नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायत उपकरणको व्यवस्था ल्याउनुपर्ने र कालाबजारी एवम् अन्य सामाजिक अपराध तथा सजायसम्बन्धी ऐन २०३२ लाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने माग पनि सुझावमा समेटिएको छ । २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था खारेज गर्नुपर्ने माग महासंघले दोहोर्‍याएको छ । खाद्यान्न प्रशोधन उद्योगलाई सहुलियत कर्जाको व्यवस्था गर्न तथा आयकर नलाग्ने सीमाको हकमा व्यक्तिलाई ७ लाख र दम्पतीलाई ८ लाख पुर्‍याउन महासंघले आग्रह गरेको छ ।  भन्सार मूल्यांकनका क्रममा धरौटीमा छुटेका सामानको सम्बन्धमा ३० दिनभित्र निर्णय गरिसक्नुपर्नेमा महासंघले जोड दिएको छ । सरकारी निकायसँग गरिने निर्माण तथा मालवस्तु आपूर्तिको ठेक्कामा लाग्ने मूल्य अभिवृद्धि करको ३० प्रतिशत कर रकम कट्टा गर्ने व्यवस्था खारेज गर्नुपर्नेलगायत व्यवस्था आगामी बजेटमार्फत गर्न महासंघले सुझाएको छ । करमा धेरै करकर नगरौं : अर्थमन्त्री शर्मा अर्थतन्त्रमा ७० प्रतिशत योगदान दिने निजीक्षेत्रलाई बेवास्ता गरेर सरकार अघि बढ्न सक्दैन । अर्थ मन्त्रालय निजीक्षेत्रकै हो । कर बढाउने नीतिमा सरकार हुन्छ भने घटाउनेमा निजीक्षेत्र । यसमा हामी धेरै नलागौं । कर प्रणालीमा भएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि ठोस सुझाव दिन सक्नुहुन्छ । नेपाललाई कोभिड र रूस–युक्रेन तनावले पाठ सिकाएको छ कि उत्पादनमुखी र उत्पादनमा आधारित अर्थतन्त्र जरूरी छ । ३ खर्ब रुपैयाँको खाद्यान्न आयात हुन्छ, यसलाई न्यूनीकरण गर्न बाँझो, सरकारी जग्गा तथा वन प्रयोग गरौं यसका लागि नीति बनाइन्छ । करका नयाँ क्षेत्रको जानकारी देऊ : अर्थसचिव  सरकार राजस्वका दरभन्दा पनि दायरा बढाउने पक्षमा छ । निजीक्षेत्रबाट करका नयाँ क्षेत्रको विषयमा जानकारी गराउनुहोस् । जुनसुकै वस्तुभन्दा पनि निर्यातमा उच्च योगदान दिएका वस्तुको पहिचान गरौं । अहिले जुत्ता, सिमेन्ट, विद्युत्, पानी, जडीबुटीको अन्तरराष्ट्रिय स्तरमा राम्रो बजार र निर्यात छ । देशभित्रै दिगो उत्पादनमा लागौं । आगामी बजेटले यसलाई उच्च स्थान दिन्छ । निजीक्षेत्रलाई लक्ष्य गरेर बजेट ल्याइनेछ । पूर्वाधारका क्षेत्र फ्लाइओभर, सुरूङमार्ग, टोल रोड आदिमा निजीक्षेत्र आउनुपर्छ ।

बौद्धिक सम्पत्ति कानून र घूसपैठका तत्त्व

देशको विगत अंकमा घूसपैठको प्रारम्भिक जानकारीसहित बौद्धिक सम्पत्ति संरक्षणमा घूसपैठ नियन्त्रण कानूनको भूमिकाबारे चर्चा गरिएको थियो । आजको मूल विषय पनि घूसपैठसँग सम्बद्ध प्रसंग फरक अर्थात् घूसपैठका घटक तत्त्वहरूसँग सम्बद्ध रहेको छ । ती तत्त्वको प्रतिपादन ‘क्यानडाको कर्कवी ए जी विरुद्ध रितिविक होल्डिङ इङ्क, २००५’ लगायत अन्य धेरै केसहरूबाट भएको छ । यसअनुसार घूसपैठका पाँच तत्त्वहरू रहेका छन् अर्थात् पाँच तत्त्वको मेलबाट घूसपैठ काम सम्पन्न हुन्छ : पहिलो मिथ्याकथन (मिसरेप्रन्जेन्टेशन) भएको हुनुपर्‍यो, दोस्रो त्यस्तो मिथ्याकथन व्यवसायीले कारोबारको सिलसिलामा गरेको हुनुपर्‍यो, तेस्रो फेरि विक्रीवितरण गर्ने वस्तु वा सेवा प्रवाहको क्रममा मिथ्याकथन सम्भाव्य ग्राहक वा उपभोक्तासँग गरेको हुनुपर्‍यो, चौथो अर्को व्यवसायीको प्रतिष्ठा वा साखमा क्षति पुग्ने गरी वा क्षति पुर्‍याउने उद्देश्यले गरेको हुनु पर्‍यो र पाँचौं दोस्रो पक्षले जुन व्यवसायीविरुद्ध यस्तो व्यवहार गरिएको हो, उसको व्यावसायिक प्रतिष्ठामा क्षति पुगेको वा पुग्ने सम्भावना भएको हुनुपर्‍यो । कहिलेकाहीं स्वतन्त्र रूपले वस्तु उत्पादन गरिरहेका दुई व्यवसायीको सामानमा कुनचाहिँ कसको हो भन्ने विषयमा यत्तिकै पनि उपभोक्ताहरू भ्रममा पर्न सक्छन्, त्यसमा एउटा व्यवसायीले अर्कोलाई दोष लगाउनुको औचित्य छैन । मिथ्याकथनमा विपक्षीले आफ्नो वस्तु वा सेवालाई पक्षकै हो भन्ने झलक वा आभास दिन उसका मिल्दाजुल्दा चि⋲नहरू प्रयोग गरेर वा उस्तै प्रस्तुतीकरण गरेर भ्रमको खेती गर्न समर्थ हुन्छ । यसले गर्दा ग्राहक वा उपभोक्ताले आपूmले प्रयोग गरेको माल सामान वा सेवा विश्वास गरेको पहिलो पक्षकै हाला भन्ने ठानेर दोस्रो पक्षको प्रयोग गर्छन् । कहिलेकाहीँ स्वतन्त्र रूपले वस्तु उत्पादन गरिरहेका दुई व्यवसायीको सामानमा कुनचाहिँ कसको हो भन्ने विषयमा यत्तिकै पनि उपभोक्ताहरू भ्रममा पर्न सक्छन्, त्यसमा एउटा व्यवसायीले अर्कोलाई दोष लगाउनुको औचित्य छैन, यो उपभोक्ताहरूको अफ्नै दुर्भाग्यले भएको भनी ‘मोरेङगोविरुद्ध डेली स्केच एन्ड सन्डे गाफिक कम्पनी १९९२’ को केसमा भनिएको छ । फेरि अर्को ‘हेक्स्ट फर्मास्युटिकल प्रालिविरुद्ध ब्युटिबक्स प्रालि’को केसमा यदि यस्तो भ्रम विपक्षीको मिथ्याकथनको कारणबाट भएको छ भने कारवाहीयोग्य हुन्छ भनिएको छ । ‘काउन्टी साउन्डविरुद्ध ओसियन साउन्ड’को केसमा पनि यही तथ्य औंल्याइएको छ । उक्त तीनओटै केसबाट के स्पष्ट हुन्छ भने उपभोक्ता भ्रममा परेर वा झुक्केर मात्र केही बिग्रँदैन त्यो उनीहरूको आफ्नै कमजोरी पनि हुन सक्छ तर ग्राहकले सामान किन्दा वा सेवा उपभोग गर्दा के कारणले गरे त ? त्यही कुरा विचारणीय हुन्छ । यदि अर्को व्यवसायीको व्यवहारले धोका भएर यसरी गलत निर्णय लिन विवश भएका हुन् भने त्यो मिथ्याकथन भयो र कारवाहीयोग्य हुन्छ । दोस्रो कुरा उपर्युक्तबमोजिमको आचरण विपक्षीबाट व्यावसायिक कारोबारको सिलसिलामा भएको हुनुपर्छ । व्यावसायिक कारोबारको क्षेत्रभन्दा बाहिर भएका वा घटेका घटनालाई घूसपैठको घटनाविरुद्धको कारबाहीमा राखिँदैन । व्यवसायीले आफ्नो आय आर्जनका लागि अवलम्बन गरेका उद्योग व्यापार र अन्य सेवा सञ्चालनका क्रममा हेराफेरीको मामला आकर्षित हुन्छ । तेस्रो कुरा हेराफेरी दुई व्यवसायीबीच भएको व्यवहार हो तापनि यस्तो व्यवहारबाट प्रतिकूल असर पर्ने तेस्रो पक्ष ग्राहक वा उपभोक्ता हुन् । पहिलो केसमा चर्चा पनि गरिसकेको छ मिथ्याकथनबाट उनीहरूलाई भ्रम पैदा हुन्छ र धोकाबाट गलत निर्णय गरी वस्तु वा सेवाको गलत छनोट गर्न विवश हुन्छन् । चौथो तत्त्व हो : व्यवसायीको प्रतिष्ठामा क्षति पुग्नु । प्रतिष्ठा भनेको कुनै व्यवसायीको सम्बद्ध वस्तु वा सेवाले ग्राहक वा उपभोक्तालाई आकर्षित गर्ने वा लोभ्याउने शक्ति हो । यस्तो शक्ति निरूपण गर्ने आन्तरिक तत्त्वमा कम्पनी वा कारोबारको इतिहास, वस्तु वा सेवाको स्रोत र ट्रेडमार्क, नाम, प्रस्तुतीकरण, गुणस्तर आदि हुन् भने बाह्य तत्त्वमा मुलुक, गाउँ, समाज, समुदाय, जनसंख्या मुख्य हुन् । यी सबैको संयुक्त मेलबाट प्रतिष्ठा निर्माण भएको हुन्छ । घूसपैठ भएको प्रमाणित गर्दा कुनै पनि पक्षले आफूले कारोबार गर्ने वस्तु वा सेवामा भएको प्रतिष्ठा प्रमाणित गर्न सक्नुपर्छ । प्रतिष्ठा ग्राहक वा उपभोक्ताको व्यक्तिगत विचारको कुरा भएकाले प्रमाणित गर्न त्यति सजिलो नभए पनि वस्तुको ट्रेडमार्क लोगो प्रस्तुतीकरण र नामबाट पनि ग्राहक बीच छवि निर्माण हुने र भावना अभिव्यक्त हुने भएकाले असम्भव पनि छैन । प्रतिष्ठाको कुरा औद्योगिक वा व्यापारिक प्रतिष्ठानमा मात्र सीमित रहँदैन, गैरव्यावसायिक प्रकृतिका सामाजिक संस्थामा पनि हुन सक्छ । तर पनि हाम्रो सरोकार भने व्यावसायिक कारोबारमा मात्र केन्द्रित रहन्छ । प्रतिष्ठा आर्जनमा व्यापारिक वस्तु वा सेवाका स्रोतको महत्त्वपूर्ण भूमिका रहन्छ । कारोबार समाप्त भए पनि त्यसको प्रतिष्ठा समाप्त भएको हुँदैन । यसमा मिथ्याकथनले भने व्यवसायको वस्तु वा सेवाको प्रतिष्ठामा ठूलो क्षति पुर्‍याउँछ । पाँचौं तŒव हो, क्षति । क्षति हाल भइरहेको वास्तविक क्षति पनि हुन सक्छ अथवा भविष्यमा हुने देखिएको सम्भावित क्षति पनि हुन्छ । कुनै व्यावसायिक पक्षलाई क्षति धेरै प्रकारले पुग्न सक्छ । यस्तो क्षति पुर्‍याउने कारक तत्त्व मिथ्याकथन नै हो । पहिलो क्षति वस्तु वा सेवाको विक्रीवितरणमा पर्छ अर्थात् विक्रीवितरण घट्छ । दोस्रो प्रयोग गरिएको ट्रेडमार्क वा डिजायनको महत्त्व घट्छ (डाइल्युशन हुन्छ) । तेस्रो विपक्षीबाट घूसपैठ भएको कमसल माल सामानको अपजसको भारी बोक्नुपर्छ । चौथो, पहिलो पक्षबाट कारोबार भएका वस्तु वा सेवाको लोकप्रियता घट्छ । पाँचौं, ग्राहक र उपभोक्ताहरू भड्किन्छन् । अन्तिममा भन्नु पर्दा पहिलो पक्षले ट्रेडमार्क वा डिजाइनको इजाजत सम्झौताबाट फाइदा लिने अवसर पनि घट्छ । यसरी व्यापारिक सेवा वा मालसामानको कुनै अर्को पक्षबाट हेराफेरि भएमा वास्तुविक रूपमा कारोबार गर्ने व्यवसायीलाई ठूलो क्षति पुग्न जान्छ । घूसपैठसम्बन्धी कानूनी व्यवस्था भएको मुलुकमा (जस्तो छिमेकी मुलुक भारत) ट्रेड्मार्क कानूनमा भएको देवानी उपचारसरह क्षतिपूर्ति, नाफा विभाजन, कैफियती माल सामान संकलन र नष्ट, अन्तरिम आदेशजस्ता उपचार प्रदान गरिन्छ । नेपालमा भने यसको न त छुट्टै कानूनी व्यवस्था छ नत अस्वस्थ प्रतिस्पर्धा सम्बन्धी कानूनमा यो विषय समेटिन सकेको छ । त्यसैले त व्यापार क्षेत्रमा बढी छाडातन्त्र हाबी रहेको छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण मञ्च नेपालका उपाध्यक्ष हुन् ।

क्रिप्टोलाई नियमनको दायरामा ल्याउने सरकारको संकेत

काठमाडौं । सरकारले क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ । कानूनी मान्यता नपाएको क्रिप्टो करेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाएको हो । अर्थमन्त्री जनार्दन शर्माले बिहीवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटको अर्ध वार्षिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो संकेत गरेका हुन् । उनले क्रिप्टो करेन्सीलाई नियमन गर्ने बताएका छन् । अर्थमन्त्रीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गरी भइरहेका क्रिप्टो, हाइपर फन्ड, अनलाइन गेमिङलगायत अवैध कारोबार चुनौतीका रूपमा आएको छ । यिनको प्रभावकारी नियमन र अनुगमन गरी वैदेशिक मुद्रा विचलन हुनबाट रोक्न कडाइ गरिनेछ ।’ यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकलगायत निकायसँग सहकार्य र आवश्यक अनुसन्धान गरिएको उनको भनाइ छ । ‘नयाँ सूचना प्रविधिको विकास मानवका लागि आफैमा एक उपलब्धि हो । तर, हाइपर फन्ड, बेटिङ, गेमिङ, क्रिप्टो करेन्सीलगायत विषय नकारात्मक रूपमा आएका छन् । हाम्रो कानून एकातिर छ, अर्कातिर तिनको कारोबार भइरहेको छ । विभिन्न प्रविधिका माध्यमबाट आज ‘क्यापिटल फ्लाई’ भइरहेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसलाई कसरी नियमन/नियन्त्रण गर्ने भनेर हामीले विभिन्न कमिटी निर्माण गरेका छौं । राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त संमूह पनि बनाएर अनुसन्धान प्रारम्भ गरिएको छ । त्यसमा पनि हाम्रो ध्यान केन्द्रित भएको छ ।’ यस विषयमा थप बुझ्न खोज्दा अर्थमन्त्री, मन्त्रीका सचिवालय तथा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू भने सम्पर्कमा आएनन् । राष्ट्र बैंकका अधिकारीहरूले भने क्रिप्टो करेन्सीलाई नियन्त्रण नै गर्नुपर्ने बताउँदै आएका छन् । राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले क्रिप्टो करेन्सीलाई नियन्त्रण नै गर्नुपर्ने बताए । ‘यस विषयमा सरकारको धारणा के हो, त्यसमा हामी जानकार छैनौं । तर, राष्ट्र बैंकको धारणा भने यही हो ।’ क्रिप्टो करेन्सीको कारोबार नियन्त्रण गर्न असम्भव रहेको बताइन्छ । कानूनी मान्यता नपाएको अवस्थामा यसलाई नियन्त्रणसँगै नियमनको दायरामा ल्याउनुपर्ने विज्ञहरूको भनाइ छ । सरकार पनि सोहीअनुसार नै अगाडि बढ्न खोजेको हुन सक्ने विज्ञहरूको व्याख्या छ । तर, तत्काल भने सरकार नियन्त्रणमा मात्र जानुपर्ने बैंकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् । ‘समग्रमा सरकारको भनाइ ठीक छ । क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई नियन्त्रणसँगै नियमन नै गर्नुपर्छ,’ उनले भने, ‘सरकारको भनाइ पनि त्यस्तै देखिन्छ । तर, तत्काल भने यसलाई नियन्त्रण मात्र गर्नुपर्ने देखिन्छ ।’ पछिल्लो समय नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ । साथै, नेपालको अर्थतन्त्रको आकार तथा संरचना पनि बलियो छैन । ‘यस्तो अवस्थामा तत्कालै नियमन गर्न खोज्दा समस्या हुन्छ । त्यसमाथि यो लिगल टेन्डर पनि होइन,’ उनले भने, ‘तर, यो प्रविधिले ल्याएको नयाँ आयाम हो । यसको नियन्त्रण गर्न सम्भव नै छैन । तसर्थ, आवश्यक पूर्वाधार बनाएर क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई नियमन गर्नुपर्छ । साथै, नियमन गर्ने क्रममा नै यसलाई कडाइ गर्नुपर्छ ।’ छिमेकी मुलुक भारत पनि क्रिप्टो करेन्सी कारोबारलाई नियमनको दायरामा ल्याउने तयारीमा छ । केही दिनअघि नयाँ बजेटमार्फत भारतले यस्तो कारोबारमार्फत हुने आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेको छ । ‘अहिले लुकीछिपी क्रिप्टो करेन्सीमा लगानी भइरहेकै छ । तर, यो निकै जोखिमपूर्ण कारोबार हो । त्यो जोखिम लिने कि नलिने भन्ने स्वयम् व्यक्तिमा छोड्नुपर्छ,’ भट्टराईले भने, ‘र, निकट भविष्यमा खुला रूपमा नै लगानी गर्न दिनुपर्छ । तर, जथाभावी रूपमा भने लगानी गर्न दिनु हुँदैन । नियमनसँगै कडा नियन्त्रण पनि गर्नुपर्छ ।’

नयाँ सार्वजिनक खरीद ऐन ल्याउने तयारी अघि बढेको छ : मन्त्री झाँक्री

मंसिर २२, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरीद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकि छन् ।           १४ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको औंल्याइन्।            समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उनले आग्रह गरिन् । उनका अनुसार व्यवसायीलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न र कामदारमैत्री बन्न आवश्यक छ ।       निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको मन्त्री झाँक्रीले बताइन्। निर्माण व्यवसायी मैत्री कानून आवश्यक भएको उनको भनाइ छ । उनले  निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको बताइन्।            नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारबिना समृद्धि मुलुकको परिकल्पना असम्भव रहेको बताए । निर्माण उद्योगमा धेरै समस्या रहेको उल्लेख गर्दै उनले सरकारले व्यवसायीमैत्री ऐन नियम ल्याउनेमा महासङ्घ आशावादी रहेकोसमेत बताए।

करार परिपालनामा देवानी संहिताको व्यवस्था

व्यावसायिक जगत्मा करारको परिपालनाको महत्त्वपूर्ण स्थान छ । करारबमोजिमका शर्त र दायित्वहरू सम्बद्ध पक्षहरूले निर्धारित स्थान, समय, तरीका र माध्यमलगायत विधि र प्रक्रिया अपनाई करारीय दायित्व पूरा गर्नु नै करारको परिपालना हो । मुलुकी देवानी संहिता २०७४ को दफा ५२१ देखि ५३४ सम्म यससम्बन्धी व्यवस्था गरिएको छ । करारीय पक्षले करारबमोजिमको आआप्mनो दायित्व अक्षरशः पालना गर्नुपर्ने व्यवस्था दफा ५२१ मा गरिएको छ । यसको निर्माण नैे परिपालनाका लागि भएको हो, तैपनि केही अवस्थामा करारीय दायित्व पूरा नभएका कारण कानूनी झमेलाहरूको अवस्था आउने गर्छ । करार गर्दाकै अवस्थामा करारको परिपालना करार गर्ने व्यक्तिबाटै हुनुपर्ने भनेर तोकिएकोमा बाहेक निजको प्रतिनिधि वा निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजका तर्पmबाट अन्य कसैबाट पनि परिपालना गराउन वा करारअन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न सकिनेछ । करारीय पक्षहरूले सँगसँगै दायित्व पूरा गर्ने गरी भएको करारमा एक पक्षले आधारभूतरूपमा आफ्नो दायित्व पूरा नगर्ने खालको व्यवहार वा मनसाय देखाएमा अर्को पक्षले आफ्नो कबुल पूरा गर्न नपर्ने, करारमा नै कबुल पूरा गर्ने सम्बन्धमा पक्षहरूबीचमा प्राथमिकता क्रम तोकिएको छ भने सोहीबमोजिम परिपालना गर्नुपर्छ । त्यसरी प्राथमिकता क्रम नतोकिएकोमा करारको प्रकृतिअनुसार जसले पहिले परिपालना गर्नुपर्ने हो, उसैले पहिले परिपालना गर्नुपर्छ । कुनै करारमा एउटा पक्षले पूरा गर्नुपर्ने कबुल पूरा नगरी अर्को पक्षले आफ्नो कबुल पूरा गर्न नसक्ने हुनसक्छ । यदि त्यस्तो अवस्था रहेछ भने दायित्व पूरा नगरेबाट भएको हानिनोक्सानीबापतको क्षतिपूर्ति मर्का पर्ने पक्षले दोषी पक्षबाट भराई लिन सक्छ । एक पक्षले अर्को पक्षलाई त्यस्तो करारको परिपालना गर्न नसक्ने गरी रोक लगाएमा मर्का पर्ने पक्षले सो करारलाई रद्द गराउन र त्यसरी रद्द भएको कारणले कुनै हानिनोक्सानी परेको भए त्यो समेत भराई लिन पाउने गरी करारको पारस्परिक परिपालनाका सम्बन्धमा दफा ५२२ मा उल्लेख छ । करारीय पक्षहरूले करार पूरा गर्ने समय र तरीका करारमै उल्लेख गरेका रहेछन् भने सोहीबमोजिम र तोकिएको रहेनछ भने त्यस्तो काम कुनै खास समयमा वा कुनै खास तरीकाले मात्र गर्न सकिने रहेछ भने सोही समयमा सोही तरीकाबमोजिम गर्नुपर्ने हुन्छ । करारमा पूरा गर्ने समय र तरीका उल्लेख नभएमा उपयुक्त समयभित्र र उचित तरीका अपनाई करार पूरा गर्नुपर्ने व्यवस्था दफा ५२३ ले गरेको छ । करारमा नै करार पूरा गर्ने निश्चित ठाउँ तोकिएको छ भने उक्त काम सोही स्थानमा पूरा गर्नुपर्छ । यदि स्थान तोकिएको रहेनछ भने वस्तु रहेको ठाउँमा नै वस्तु बुझाउनुपर्ने भन्ने व्यवस्था दफा ५२४ ले गरेको छ । कुनै खास समयमा परिपालना गर्नुपर्ने गरी भएको करार त्यस समयभित्र परिपालना नभएमा करार परिपालना गर्न विलम्ब भएको मानिने र यसो हुनु करारको परिपालना नहुनु अर्थात् उल्लंघन हुनु हो । कहिलेकाहीँ तोकिएको समयपछि पनि करार परिपालना गर्न सकिने खालको रहेछ भने करारको एकपक्षले अर्को पक्षलाई उचित समय दिई परिपालनाको सूचना दिनुपर्ने, यसरी सूचना दिएको कारणबाट मात्र करारको विलम्ब गरी परिपालना भएको अवस्थाबाट हुन गएको हानिनोक्सानीबापतको क्षतिपूर्ति मर्का पर्ने पक्षले अर्को पक्षबाट भराइलिन पाउँछ । करारको पुनः परिपालनाका लागि सूचना दिँदा पनि परिपालना नभएमा सूचना दिने पक्षले करार रद्द गर्न सक्ने व्यवस्था दफा ५२५ ले गरेको छ । तोकिएको समयभित्र करारको परिपालना नभई करारको प्रकृति, करारका पक्षहरूको करार गर्दाको बखत देखिएको मनसाय वा करारको प्रयोजन वा उद्देश्य प्राप्त हुन नसक्ने भएमा त्यस्तो करारमा परिपालना गर्ने समय करारको सारतत्त्वको रूपमा रहेको हुन्छ । त्यस्तो करार कुनै एक पक्षबाट त्यस्तो दिन, समय वा अवधिभित्र परिपालना नभएमा त्यस्तो करार उल्लंघन भएको मानिने र अर्को पक्षले तुरुन्त रद्द गर्न सक्ने व्यवस्था दफा ५२६ ले गरेको छ । कहिलेकाहीँ करारको परिपालना गर्नु नपर्ने अवस्था पनि हुनसक्छ । जस्तो करारको एक पक्षले अर्को पक्षलाई करारबमोजिमको दायित्व पूरा गर्न नपर्ने गरी छूट दिएमा, करार बदर गराउन पाउने पक्षले बदर गराएमा अर्को पक्षले करार उल्लंघन गरेका कारण करारको परिपालना हुन नसक्ने भएमा, करारबमोजिमको काम गर्नु नपर्ने भएमा र कार्यान्वयन हुन नसक्ने करार भएमा करार पूरा गर्नु नपर्ने व्यवस्था दफा ५२७ ले गरेको छ । व्यक्तिगत दक्षता वा योग्यतासम्बन्धी करार बाहेक अन्य करारअन्तर्गतको हक र दायित्व करारीय पक्षहरूको हकवालामा सर्ने, त्यसरी हकवालामा सरेको दायित्व निजले प्राप्त गरेको सम्पत्तिले खामेको हदसम्म मात्र बेहाुर्नु पर्ने व्यवस्था दफा ५२८ ले गरेको छ । करारबमोजिम प्राप्त भएको अधिकार र दायित्व अर्को पक्षमा सार्ने प्रक्रियालाई करारको हस्तान्तरण भनिन्छ । सामान्यत करारीय दायित्वहरू हस्तान्तरण हुँदैनन ।  तर, व्यक्तिगत खुबी वा योेग्यतासम्बन्धी करारबाहेक अन्य करारअन्तर्गतको हक र दायित्व करारका पक्षहरूको हकवालामा सर्ने व्यवस्था कानूनले गरेको छ । करार गर्दाकै अवस्थामा करारको परिपालना करार गर्ने व्यक्तिबाटै हुनुपर्ने भनेर तोकिएकोमा बाहेक निजको प्रतिनिधि वा निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजका तर्फबाट अन्य कसैबाट पनि परिपालना गराउन वा करारअन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न सकिनेछ । तर, करारको अर्को पक्षको मञ्जुरीविना करारीय दायित्व हस्तान्तरण गर्न पाउँदैन । यदि करारीय दायित्व हस्तान्तरण गर्ने हो भने, अन्यथा उल्लेख भएकोमा बाहेक लिखतरूपमा, निःशर्त हुनुपर्ने, कानून वा करारले हस्तान्तरण गर्न रोकेको हुन नहुने, हक वा दायित्व हस्तान्तरण भएकोमा त्यसको म्यादसहितको सूचना दिनुपर्ने हुन्छ । कुनै पनि पक्षले तेस्रो व्यक्तिबाट भए गरेको कुनै कामलाई स्वीकार गरिसकेपछि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार गर्ने पक्षबाटै त्यस्तो काम हुनुपर्ने भनी पछि दाबी गर्न पाउने छैन । संयुक्त रूपमा अर्को पक्षसँग करार गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक संयुक्तरूपले करार गर्ने व्यक्तिहरूमध्ये कुनै वा सबैबाट त्यस्तो करारबमोजिमको दायित्व पूरा गर्नुपर्ने हुन्छ । संयुक्तरूपमा करार गरिएकोमा कुनै व्यक्तिले दायित्व पूरा नगरेकोमा दायित्व पूरा गर्ने व्यक्तिले सयुंक्तरूपले करार गर्ने अरू व्यक्तिबाट दायित्व पूरा नगरेबापत समानुपातिक हिसाबमा हर्जाना वा नोक्सानी भराउन सक्नेछ । संयुक्तरूपमा भएको करारमा कुनै एक पक्षले अर्को पक्षमध्येको कुनै व्यक्तिलाई निजको अंशमा पर्ने दायित्वबाट छूट दिए पनि बाँकी रहेका अन्य व्यक्तिहरू त्यस्तो करारको दायित्वबाट मुक्त हुने छैन । भन्ने व्यवस्था दफा ५२९ ले गरेको छ । प्रिभिटी अफ कन्ट्र्याक्टको सिद्धान्तअनुसार करारले सृजना गरेका अधिकार र दायित्व सम्बद्ध पक्षहरूलाई मात्र लागू हुने र करारको पक्ष नरहेको व्यक्तिलाई त्यसले कुनै असर नगर्ने भएकाले यो व्यवस्था गरिएको हो । तर, तेस्रो पक्षको हितका निमित्त करार भएकोमा भने तेस्तो तेस्रो पक्षले पनि करारको परिपालनाको माग गर्न सक्छ । करार भएपछि करारको पक्ष रहेको व्यक्तिले मात्र अर्को पक्षसँग करारको परिपालनाको माग गर्न सक्छ । तर, कुनै तेस्रो व्यक्तिको हितको निमित्त करार गरिएकोमा त्यस्तो व्यक्तिले करारको पक्ष नभए पनि परिपालनाको माग गर्न सक्नेछ । संयुक्त रूपमा करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यसरी करार गर्ने सबै व्यक्तिहरूले संयुक्त रूपमा करारको परिपालनाको माग गर्न सक्ने व्यवस्था दफा ५३० ले गरेको छ । पक्षहरूकाबीच करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना गर्न असम्भव भएमा करारबमोजिमको दायित्व पूरा गर्नु पर्दैन । निम्न अवस्थामा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिन्छ । कानूनमा भएको संशोधनले करारबमोजिमको कार्य अवैध भई परिपालना गर्न नसकिने भएमा, युद्ध, बाढी, पहिरो, आगलागी, भूकम्प, ज्वालामुखी जस्ता मानवीय नियन्त्रणभन्दा बाहिरको परिस्थिति उत्पन्न भई करारको परिपालना गर्न असम्भव भएमा, करार परिपालना हुनका लागि आवश्यक वस्तु नष्ट वा विनाश भएमा त्यसको अस्तित्व नरहेमा वा त्यस्तो वस्तु प्राप्त हुन नसकेमा, व्यक्तिगत सक्षमता, दक्षता वा प्रतिभाबाट सेवा प्रदान गर्ने गरी भएको करारमा त्यस्तो सेवा प्रदान गर्ने व्यक्तिको मृत्यु भएमा वा निजको होश ठेगानमा नरहेमा वा निजको शारीरिक वा मानसिक अशक्तताको कारणले करार पूरा गर्न नसक्ने भएमा करारको परिपालना गर्नु पर्दैन भन्ने व्यवस्था दफा ३१ ले गरेको छ । यसै गरी करारबमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र नालिस गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी करारको परिपालनाका सम्बन्धमा संहिताले स्पष्ट व्यवस्था गरेको छ । लेखक अधिवक्ता हुन् ।