व्यावसायिक जगत्मा करारको परिपालनाको महत्त्वपूर्ण स्थान छ । करारबमोजिमका शर्त र दायित्वहरू सम्बद्ध पक्षहरूले निर्धारित स्थान, समय, तरीका र माध्यमलगायत विधि र प्रक्रिया अपनाई करारीय दायित्व पूरा गर्नु नै करारको परिपालना हो ।
मुलुकी देवानी संहिता २०७४ को दफा ५२१ देखि ५३४ सम्म यससम्बन्धी व्यवस्था गरिएको छ । करारीय पक्षले करारबमोजिमको आआप्mनो दायित्व अक्षरशः पालना गर्नुपर्ने व्यवस्था दफा ५२१ मा गरिएको छ । यसको निर्माण नैे परिपालनाका लागि भएको हो, तैपनि केही अवस्थामा करारीय दायित्व पूरा नभएका कारण कानूनी झमेलाहरूको अवस्था आउने गर्छ ।
करार गर्दाकै अवस्थामा करारको परिपालना करार गर्ने व्यक्तिबाटै हुनुपर्ने भनेर तोकिएकोमा बाहेक निजको प्रतिनिधि वा निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजका तर्पmबाट अन्य कसैबाट पनि परिपालना गराउन वा करारअन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न सकिनेछ ।
करारीय पक्षहरूले सँगसँगै दायित्व पूरा गर्ने गरी भएको करारमा एक पक्षले आधारभूतरूपमा आफ्नो दायित्व पूरा नगर्ने खालको व्यवहार वा मनसाय देखाएमा अर्को पक्षले आफ्नो कबुल पूरा गर्न नपर्ने, करारमा नै कबुल पूरा गर्ने सम्बन्धमा पक्षहरूबीचमा प्राथमिकता क्रम तोकिएको छ भने सोहीबमोजिम परिपालना गर्नुपर्छ । त्यसरी प्राथमिकता क्रम नतोकिएकोमा करारको प्रकृतिअनुसार जसले पहिले परिपालना गर्नुपर्ने हो, उसैले पहिले परिपालना गर्नुपर्छ । कुनै करारमा एउटा पक्षले पूरा गर्नुपर्ने कबुल पूरा नगरी अर्को पक्षले आफ्नो कबुल पूरा गर्न नसक्ने हुनसक्छ । यदि त्यस्तो अवस्था रहेछ भने दायित्व पूरा नगरेबाट भएको हानिनोक्सानीबापतको क्षतिपूर्ति मर्का पर्ने पक्षले दोषी पक्षबाट भराई लिन सक्छ । एक पक्षले अर्को पक्षलाई त्यस्तो करारको परिपालना गर्न नसक्ने गरी रोक लगाएमा मर्का पर्ने पक्षले सो करारलाई रद्द गराउन र त्यसरी रद्द भएको कारणले कुनै हानिनोक्सानी परेको भए त्यो समेत भराई लिन पाउने गरी करारको पारस्परिक परिपालनाका सम्बन्धमा दफा ५२२ मा उल्लेख छ । करारीय पक्षहरूले करार पूरा गर्ने समय र तरीका करारमै उल्लेख गरेका रहेछन् भने सोहीबमोजिम र तोकिएको रहेनछ भने त्यस्तो काम कुनै खास समयमा वा कुनै खास तरीकाले मात्र गर्न सकिने रहेछ भने सोही समयमा सोही तरीकाबमोजिम गर्नुपर्ने हुन्छ । करारमा पूरा गर्ने समय र तरीका उल्लेख नभएमा उपयुक्त समयभित्र र उचित तरीका अपनाई करार पूरा गर्नुपर्ने व्यवस्था दफा ५२३ ले गरेको छ ।
करारमा नै करार पूरा गर्ने निश्चित ठाउँ तोकिएको छ भने उक्त काम सोही स्थानमा पूरा गर्नुपर्छ । यदि स्थान तोकिएको रहेनछ भने वस्तु रहेको ठाउँमा नै वस्तु बुझाउनुपर्ने भन्ने व्यवस्था दफा ५२४ ले गरेको छ । कुनै खास समयमा परिपालना गर्नुपर्ने गरी भएको करार त्यस समयभित्र परिपालना नभएमा करार परिपालना गर्न विलम्ब भएको मानिने र यसो हुनु करारको परिपालना नहुनु अर्थात् उल्लंघन हुनु हो । कहिलेकाहीँ तोकिएको समयपछि पनि करार परिपालना गर्न सकिने खालको रहेछ भने करारको एकपक्षले अर्को पक्षलाई उचित समय दिई परिपालनाको सूचना दिनुपर्ने, यसरी सूचना दिएको कारणबाट मात्र करारको विलम्ब गरी परिपालना भएको अवस्थाबाट हुन गएको हानिनोक्सानीबापतको क्षतिपूर्ति मर्का पर्ने पक्षले अर्को पक्षबाट भराइलिन पाउँछ । करारको पुनः परिपालनाका लागि सूचना दिँदा पनि परिपालना नभएमा सूचना दिने पक्षले करार रद्द गर्न सक्ने व्यवस्था दफा ५२५ ले गरेको छ । तोकिएको समयभित्र करारको परिपालना नभई करारको प्रकृति, करारका पक्षहरूको करार गर्दाको बखत देखिएको मनसाय वा करारको प्रयोजन वा उद्देश्य प्राप्त हुन नसक्ने भएमा त्यस्तो करारमा परिपालना गर्ने समय करारको सारतत्त्वको रूपमा रहेको हुन्छ । त्यस्तो करार कुनै एक पक्षबाट त्यस्तो दिन, समय वा अवधिभित्र परिपालना नभएमा त्यस्तो करार उल्लंघन भएको मानिने र अर्को पक्षले तुरुन्त रद्द गर्न सक्ने व्यवस्था दफा ५२६ ले गरेको छ । कहिलेकाहीँ करारको परिपालना गर्नु नपर्ने अवस्था पनि हुनसक्छ । जस्तो करारको एक पक्षले अर्को पक्षलाई करारबमोजिमको दायित्व पूरा गर्न नपर्ने गरी छूट दिएमा, करार बदर गराउन पाउने पक्षले बदर गराएमा अर्को पक्षले करार उल्लंघन गरेका कारण करारको परिपालना हुन नसक्ने भएमा, करारबमोजिमको काम गर्नु नपर्ने भएमा र कार्यान्वयन हुन नसक्ने करार भएमा करार पूरा गर्नु नपर्ने व्यवस्था दफा ५२७ ले गरेको छ । व्यक्तिगत दक्षता वा योग्यतासम्बन्धी करार बाहेक अन्य करारअन्तर्गतको हक र दायित्व करारीय पक्षहरूको हकवालामा सर्ने, त्यसरी हकवालामा सरेको दायित्व निजले प्राप्त गरेको सम्पत्तिले खामेको हदसम्म मात्र बेहाुर्नु पर्ने व्यवस्था दफा ५२८ ले गरेको छ ।
करारबमोजिम प्राप्त भएको अधिकार र दायित्व अर्को पक्षमा सार्ने प्रक्रियालाई करारको हस्तान्तरण भनिन्छ । सामान्यत करारीय दायित्वहरू हस्तान्तरण हुँदैनन । तर, व्यक्तिगत खुबी वा योेग्यतासम्बन्धी करारबाहेक अन्य करारअन्तर्गतको हक र दायित्व करारका पक्षहरूको हकवालामा सर्ने व्यवस्था कानूनले गरेको छ ।
करार गर्दाकै अवस्थामा करारको परिपालना करार गर्ने व्यक्तिबाटै हुनुपर्ने भनेर तोकिएकोमा बाहेक निजको प्रतिनिधि वा निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजका तर्फबाट अन्य कसैबाट पनि परिपालना गराउन वा करारअन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न सकिनेछ । तर, करारको अर्को पक्षको मञ्जुरीविना करारीय दायित्व हस्तान्तरण गर्न पाउँदैन । यदि करारीय दायित्व हस्तान्तरण गर्ने हो भने, अन्यथा उल्लेख भएकोमा बाहेक लिखतरूपमा, निःशर्त हुनुपर्ने, कानून वा करारले हस्तान्तरण गर्न रोकेको हुन नहुने, हक वा दायित्व हस्तान्तरण भएकोमा त्यसको म्यादसहितको सूचना दिनुपर्ने हुन्छ । कुनै पनि पक्षले तेस्रो व्यक्तिबाट भए गरेको कुनै कामलाई स्वीकार गरिसकेपछि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार गर्ने पक्षबाटै त्यस्तो काम हुनुपर्ने भनी पछि दाबी गर्न पाउने छैन । संयुक्त रूपमा अर्को पक्षसँग करार गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक संयुक्तरूपले करार गर्ने व्यक्तिहरूमध्ये कुनै वा सबैबाट त्यस्तो करारबमोजिमको दायित्व पूरा गर्नुपर्ने हुन्छ । संयुक्तरूपमा करार गरिएकोमा कुनै व्यक्तिले दायित्व पूरा नगरेकोमा दायित्व पूरा गर्ने व्यक्तिले सयुंक्तरूपले करार गर्ने अरू व्यक्तिबाट दायित्व पूरा नगरेबापत समानुपातिक हिसाबमा हर्जाना वा नोक्सानी भराउन सक्नेछ । संयुक्तरूपमा भएको करारमा कुनै एक पक्षले अर्को पक्षमध्येको कुनै व्यक्तिलाई निजको अंशमा पर्ने दायित्वबाट छूट दिए पनि बाँकी रहेका अन्य व्यक्तिहरू त्यस्तो करारको दायित्वबाट मुक्त हुने छैन । भन्ने व्यवस्था दफा ५२९ ले गरेको छ ।
प्रिभिटी अफ कन्ट्र्याक्टको सिद्धान्तअनुसार करारले सृजना गरेका अधिकार र दायित्व सम्बद्ध पक्षहरूलाई मात्र लागू हुने र करारको पक्ष नरहेको व्यक्तिलाई त्यसले कुनै असर नगर्ने भएकाले यो व्यवस्था गरिएको हो । तर, तेस्रो पक्षको हितका निमित्त करार भएकोमा भने तेस्तो तेस्रो पक्षले पनि करारको परिपालनाको माग गर्न सक्छ ।
करार भएपछि करारको पक्ष रहेको व्यक्तिले मात्र अर्को पक्षसँग करारको परिपालनाको माग गर्न सक्छ । तर, कुनै तेस्रो व्यक्तिको हितको निमित्त करार गरिएकोमा त्यस्तो व्यक्तिले करारको पक्ष नभए पनि परिपालनाको माग गर्न सक्नेछ । संयुक्त रूपमा करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यसरी करार गर्ने सबै व्यक्तिहरूले संयुक्त रूपमा करारको परिपालनाको माग गर्न सक्ने व्यवस्था दफा ५३० ले गरेको छ ।
पक्षहरूकाबीच करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना गर्न असम्भव भएमा करारबमोजिमको दायित्व पूरा गर्नु पर्दैन । निम्न अवस्थामा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिन्छ । कानूनमा भएको संशोधनले करारबमोजिमको कार्य अवैध भई परिपालना गर्न नसकिने भएमा, युद्ध, बाढी, पहिरो, आगलागी, भूकम्प, ज्वालामुखी जस्ता मानवीय नियन्त्रणभन्दा बाहिरको परिस्थिति उत्पन्न भई करारको परिपालना गर्न असम्भव भएमा, करार परिपालना हुनका लागि आवश्यक वस्तु नष्ट वा विनाश भएमा त्यसको अस्तित्व नरहेमा वा त्यस्तो वस्तु प्राप्त हुन नसकेमा, व्यक्तिगत सक्षमता, दक्षता वा प्रतिभाबाट सेवा प्रदान गर्ने गरी भएको करारमा त्यस्तो सेवा प्रदान गर्ने व्यक्तिको मृत्यु भएमा वा निजको होश ठेगानमा नरहेमा वा निजको शारीरिक वा मानसिक अशक्तताको कारणले करार पूरा गर्न नसक्ने भएमा करारको परिपालना गर्नु पर्दैन भन्ने व्यवस्था दफा ३१ ले गरेको छ । यसै गरी करारबमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र नालिस गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी करारको परिपालनाका सम्बन्धमा संहिताले स्पष्ट व्यवस्था गरेको छ ।
लेखक अधिवक्ता हुन् ।