निकै महँगो अमेरिकी ल फर्म 'वाकटेल'मार्फत 'कमब्याक' योजना बनाउँदै अदानी

काठमाडौं । अमेरिकी अनुसन्धान लगानी कम्पनी हिन्डेनबर्ग रिसर्चले अदानी समूहको नाममा प्रतिवेदनरुपी बम फोडेपछि समूहका कम्पनीहरुको बजार पूँजीकरण १ खर्ब ३२ अर्ब डलर गुमेको छ । हिन्डेनबर्गले समूहमाथि शेयरमा चलखेल गरेको, वित्तीय अनियमितता र कर्पोरेट अव्यवस्थाको आरोप लगाएपछि समूहले मात्रै होइन अदानीले पनि निकै ठूलो घाटा बेहोर्नु पर्यो । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रिपोर्ट सार्वजनिक हुनु अघि तेस्रो स्थानमा रहेका अदानी आज २७ औं स्थानमा ओर्लिएका छन् । यो अवधिमा उनले गुमाएको सम्पत्तिको त हिसाब गरेर साध्य नै छैन ।  अदानीले यस मामिलामा अमेरिकी संकट व्यवस्थापन तथा कानूनी समूहहरुलाई भर्ती गरेको छ । ८५ करोड डलरमा कोइला कारखाना किन्ने सम्झौता खारेज गरिदिए, खर्च घटाए अनि शेयर धितोमा राखेर लिएको केही कर्जा तिरिदिए । भविष्यमा थप कर्जा पुनःभुक्तानी गर्ने वाचा पनि गरेका छन् । हिन्डेनबर्गको रिपोर्टका कारण चौपट भएको कम्पनीहरुका शेयर मूल्य र अवस्थालाई विस्तारै पहिलाकै स्तरमा ल्याउने आशा अदानीको छ ।  हिन्डेनबर्गको सबै आरोपको अदानी समूहले खन्डन गरिरहेको छ । हिन्डेनबर्गको प्रतिवेदनको गम्भीरता कस्तो रहेछ भन्ने कुरा समूहका कम्पनीको शेयर मूल्य साढे ७७ प्रतिशतसम्म घट्नुले पनि छर्लङ्ग बनाउँछ । यसको असरले भारतीय शेयर बजार नै कयौं दिनसम्म त्रस्त रह्यो । विश्वव्यापी शक्ति बन्ने भारतको महत्वकांक्षामाथि नै प्रश्न उठाइयो ।  अदानीले ग्लोबल कम्युनिकेशन एड्भाइजरका रुपमा केक्स्ट सीएनसीलाई ल्याएको खबरहरु आइरहेको छ । न्यूयोर्क र म्युनिखमा मुख्यालय रहेको यो कम्पनीले हालैका वर्षहरुमा कयौं कर्पोरेट झट्काहरु मत्थर पार्न काम गरेका छन् । यीमध्ये एक सन् २०१९ मा अमेरिकी को–वर्किङ स्पेश प्रदायक विवर्क इंकको शेयर मूल्यमा देखिएको विष्फोट थियो । केक्स्टले अदानी समूहलाई लगानीकर्ताहरुको विश्वास पुनःप्राप्तिमा सघाउने ठानिएको छ । अहिले अदानी समूहमाथि हिन्डेबर्गको आरोप मात्रै होइन  व्यवसायको मजबूतिसम्बन्धी चिन्ताहरु पनि उब्जिएका छन् । यी सबै चिन्ताहरु साम्य पार्न केक्स्टले कसरी सघाउला यो भने हेर्न बाँकी छ ।  हिन्डेनबर्ग कान्डपछि अदानी समूहका शीर्ष कार्यकारीहरुले शान्तिको सास फेर्न पाएका थिएनन् । केक्स्टले अदानीका सीईओ र कम्युनिकेशन टिमसँग मिलेर काम गरिरहेको छ । अदानी समूह अमरिकी कानून कम्पनी वाकटेल, लिप्शन, रोसेन एन्ड काट्जसँग मिलेर हिन्डेनबर्गविरुद्ध कानूनी लडाइ लड्ने तयारीमा भएको भन्दै अज्ञात स्रोतहरुलाई उद्धृत गरेर फाइनान्सियल टाइम्सले समाचार छापेको थियो । वाकटेल अमेरिकाको सबैभन्दा महँगो कानून कम्पनी मध्ये पर्दछ । शेयरधनी अभियन्ताहरुबाट आक्रमणको सामना गरिरहेका क्लाइन्टको बचावमा उसँग राम्रै अनुभव छ । अदानी समूहका प्रवक्ताले तत्कालै अमेरिकी कम्पनीहरुसँगको साँठगाँठबारे बारे केही बताएनन् । केक्स्ट वाचटेलले पनि यसबारे केही भनेका छैनन ।  शेयर बजार रक्ताम्मे भएर कल्पनै गर्न नसकिने बजार पूँजीकरण गुम्दा पनि अदानीले त्यति महँगा वकिलहरु राख्न सक्ने अवस्था भएको देखाएको छ । लगानीकर्ताहरुको मनमा अझै पनि अदानी समूहका कम्पनीहरुबारे अनेकौं प्रश्नहरु छन् । लगानी गन्तव्यमा भारतले चीनलाई उछिन्ने सपना धूमिल भएको छ । अमेरिकी अर्बपति लगानीकर्ता जर्ज सोरोसको आरोपले अड्कलबाजीहरु झनै बढाएको छ ।  अदानीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट मानिनछ । यो विषयमा मोदीले प्रत्यक्ष रुपमा चुक्क बोलेका छैनन् । तर अदानीसँगको सम्बन्धबारे विपक्षीहरुले आफूलाई र्‍याखर्‍याख्ती पारेपछि मोदी उल्टै उनीहरुमाथि खनिएका थिए । अहिले लगानाीकर्ताहरुको आँखा दुई चिजमा छ, त्यो हो समूहको उच्च लिभरेज अनुपात अनि साढे २ अर्ब डलरको एफपीओ फिर्ता गर्नु परेपछि समूहको नगद प्रभाव गर्ने क्षमता । यी चासोहरु सम्बोधन गर्न अदानी व्यवस्थापनले एक पछि अर्को गर्दै विस्तारै कदम चालिरहेको छ ।  आगामी वर्ष कम्पनीको ब्याज, कर, मूल्यह्रास र ऋण भुक्तानिपछिको खूद कर्जा अनुपात तीन गुणाभन्दा तल झार्ने समूहको लक्ष्य छ । यो अनुपात अहिले ३ दशमलव २ प्रतिशत छ । समूहको समग्र पुजिजीगत खर्चमा कटौती गर्न र नगद जोगाउन अदानी पावरले डीबी पावरको कोइला कारखाना किन्ने योजनै रद्द गर्यो । अहिलेको संकट समाधान गर्न यस्ता खालका थप कदम चाल्नु पर्ने पर्यवेक्षकहरु बताउँछन् । समूहसँग केही निकै मूल्यवान सम्पत्तिहरु पनि छ । यस्तो सम्पत्ति बेचेर नगद प्रवाह सृजना गर्न सक्ने सम्भावना पनि छ । समूहका कम्पनी र अदानीका परिवारका सदस्यहरुले लिएको कर्जाको पुनः भुक्तानी वा भाका अगावै कर्जा भुक्तानीले पनि लगानीकर्ताहरुको मनमा बजार पूँजीकरण घटेर आधामा आएको भएपनि समूहमा तरलता वा ऋण चुक्ता गर्ने समस्या रहेनछ भन्ने पर्नेछ । अदानी परिवारका सदस्यहरुले फेब्रुअरी ६ मा समूहका तीन कम्पनीको शेयर धितो राखेर लिएको १ अर्ब ११ करोड डलर बराबरको ऋण म्याद घर्किनुभन्दा २० महीना अगावै तिरिदिए । कम्पनीहरुले धमाधम ऋण चुक्ता गर्ने योजना घोषणा गरिरहेका छन् । अहिले बजारमा देखिएको अस्थीरता अस्थायी भएको अदानी स्वयम्ले अदानी इन्टरप्राइजेजको वित्तीय विवरण सार्वजनिक गर्दा एक विज्ञप्तिमा भनेका थिए । समूहले अहिले सुस्त तर स्थिर वृद्धिको रणनीति रोजेका छन् ।  नयाँ रणनीतिले लगानीकर्ताहरुलाई हिन्डेनबर्गको रिपोर्टलाई पचाएर वा उसको प्रतिवेदन अदानीलाई हिलोमा डुबाएर आफू कमाउने खेल हो भन्नेमा विश्वस्त पार्न सक्छ कि सक्दैन यो चाँहि हेर्न बाँकी छ । समूहले वित्तीय अनुशासनहिनता र नियामक अनुपालनाको अभावको अरोपमा स्वतन्त्र अनुसन्धान नियुक्त गर्न हिच्किचाइरहेको स्पष्ट देखिन्छ । हालैको फाइलिङहरुमा अम्बुजा सिमेन्ट र अदानी ग्रिन इनर्जीले नियामक अनुपालना र आन्तरिक नियन्त्रणसम्बन्धी मामिलामा अनुसन्धान गर्न स्वतन्त्र कम्पनीहरुलाई नियुक्त गर्नेबारे विचार गरेको बताएका थिए ।  तर कुनै पनि कम्पनीले अहिलेसम्म यसबारे घोषणा गरेका छैनन् । विश्वचर्चित कम्पनीहरुको नियुक्ति सकारात्मक कदम हुन सक्छन् । आफ्ना विविध ट्रष्ट र निजी कम्पनीहरुको निरीक्षणका लागि अदानीले वित्तीय नियन्त्रक नियुक्त गर्ने योजना बनाएका छन् । अहिलेका लागि अदानी मेमा हुने इन्डेक्स रिभ्यूमा फ्रि फ्लो अपडेट कार्यान्वयनलाई पछाडि धकेल्ने एमएससीआई इंकको घोषणा पछि बजार मूल्यमा आएको कमी पुनःप्राप्तिमा लागेको देखिन्छ ।  एमएससीआईले अदानी समूहको कुनै पनि शेयरको इन्डेक्सलाई कटौती गर्यो भने कम्पनीको कोष प्रभावित हुने ब्लुम्बर्ग इन्टेलिजेन्सका एक वरिष्ठ विश्लेषकले गएको बिहीवार एउटा प्रतिवेदनमा भनेका थिए । कम्पनीको कोर वृद्धि रणनीति  हासिल नै असम्भव हुनेछ । विश्वभर महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने प्रवृत्तिका कारण कर्जाको लागत बढेको अवस्थामा समूहका कम्पनीहरुलाई आवश्यक रकम जुटाउन पनि धौंधौं हुन सक्छ । कर्जाको दायित्व पूरा गर्न सक्नेमा समूहका कम्पनीहरु विश्वस्त देखिन्छन् । नयाँ कर्जाको जोहो चाँहि अदानी समूहले कसरी गर्ला त्यो भने हेर्न बाँकी छ । एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित सामग्री

भारतका केही अस्पतालले कसरी क्यान्सरको औषधीको लागत कटौती गरिरहेका छन् ?

असम (भारत) । भारतको उत्तर–पूर्वी राज्य असमको सिलचरस्थित एक क्यान्सर अस्पतालको प्रतीक्षा क्षेत्रमा सयौं बिरामी छन् ।  पछिल्लो केही महीनायता असम राज्यस्थित कछार क्यान्सर केन्द्रमा आउने बिरामीको संख्या असामान्यरूपमा बढिरहेको छ । उक्त केन्द्रमा आसपासका सहर तथा गाउँबाट बिरामी आउने गरेका छन् । यसको कारण हो– क्यान्सरको औषधी किफायती हुनु ।  यो अस्पताल नेशनल क्यान्सर ग्रिडको हिस्सा हो, जो उपचार केन्द्रको एक समूह हो । यसले ठूलो मात्रामा औषधी खरीद गरी लागत ८५ प्रतिशतभन्दा बढी कटौटी गरेको छ ।  यो कदम देशका गरिब परिवारका लागि जीवनरक्षक बनेको छ । महँगो तथा लामो उपचार चक्रका कारण यहाँका कतिपय परिवार आर्थिक समस्यामा परेका छन् वा उपचारबाट विमुख छन् ।  उदाहरणका लागि : स्तन क्यान्सरको उपचार १० भन्दा बढी चक्रसम्म चल्ने गरेको छ साथै यसको उपचारमा ६ हजार अमेरिकी डलरभन्दा बढी खर्च हुने गरेको छ । औसत मासिक तलब ७०० डलर भएको देशमा यो उपचार धेरैको पहुँचभन्दा बाहिर छ ।  ५८ वर्षीया बेबी नन्दी कछार अस्पताल क्लिनिकमा किमाथेरापीका लागि कुरिरहेकी छन् । यसअघि उनले स्तन क्यान्सरको उपचारका लागि २ हजार किमी यात्रा गर्नुपथ्र्याे । उपचारको पहिलो चक्रमै औषधीको लागत ६५० डलर पथ्र्याे, जबकि उपचारका लागि ६ चक्रको आवश्यकता थियो ।  यात्रा तथा बास खर्चकै कारण उनको परिवारको आर्थिक स्थिति बिग्रिएको थियो । अहिले भने उनले गृहशहर सिलचरमै एक तिहाइ लागतमै उपचार सेवा लिइरहेकी छन् ।  उनका पति नारायण नन्दी भन्छन्, ‘पहिला हामीसँग यति पैसा थिएन । त्यसैले उनको (पत्नी) उपचारका लागि चेन्नई लैजान जमिन बेच्नुपरेको र आफन्तसँग पैसा सापटी लिनुपरेको थियो । कम्तीमा अब हामी घरमै रहेर उनको पूरा उपचार गर्न सक्ने भएका छौं ।’  भारतमा प्रतिवर्ष लगभग २० लाख क्यान्सरका बिरामी देखिन्छन् । तर, कन्सल्टेन्सी फर्म ईवाईले भने यसको तीन गुणाभन्दा बढी बिरामी हुने गरेको अनुमान गरेको छ ।  भारतमा अधिकांश मानिसले स्वास्थ्य उपचारका लागि आफै पैसा खर्चिने गरेका छन् । बीमा वा सरकारी योजनामा सहभागी व्यक्तिहरूलाई पनि त्यहाँको रकमबाट पूर्णरूपमा क्यान्सर उपचार गराउन पुग्दैन ।  असमको ग्रामीण क्षेत्रमा सानो पसल चलाइरहेका अमल चन्द्राले यो समस्याबारे राम्रोसँग बुझेका छन् । सरकारी योजनाको अपर्याप्त रकमका कारण उनकी पत्नीको स्तन क्यान्सरको उपचार बीचमै रोकिएको उनी सम्झन्छन् । उनको पत्नीसँग सरकारी स्वास्थ्य कार्ड छ, जसबाट स्वास्थ्य उपचारमा १८ सय डलर खर्च गर्न सकिन्छ ।  उनले बीबीसीसँग भने, ‘मैले उनको बाँकी किमोथेरापी इन्जेक्सनको भुक्तानी गर्नका लागि २५० डलर सापटी लिनुपरेको थियो ।’ भारतका अधिकांश क्यान्सर बिरामी सहरी तथा ग्रामीण क्षेत्रमा बस्ने गरेका छन्, जबकि स्वास्थ्य देखभालका अधिकांश संशाधन ठूला सहरमा छन् । जसका कारण नन्दीजस्ता बिरामी र तिनका उपचारमा आउने परिवारका सदस्यहरूले उपचारका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।  स्वास्थ्य हेरचाह विशेषज्ञका अनुसार, भारतका यी क्षेत्रमा क्यान्सरको औषधी पुर्याउनु स्वास्थ्य सेवा प्रणालीको सबैभन्दा ठूलो समस्या बनेको छ । कछार क्यान्सर अस्पतालले भारतको उत्तर–पूर्वी पहाडमा उपचार सुविधा दिएर उक्त चुनौती पूरा गर्ने कोशिश गरिरहेको छ ।  अस्पतालमा प्रतिवर्ष ५ हजार नयाँ बिरामीको उपचार हुने गरेको छ । साथै अस्पतालले २५ हजार पुराना बिरामीको उपचार प्रबन्ध गर्ने गरेको छ, जसमा कम तलब पाउने कर्मचारी र उपचार गर्न नसक्ने बिरामी पर्छन् ।  यसबाट गैर–नाफामुखी संगठनको फण्डिङमा तीव्र दबाब पर्ने गरेको छ । अर्थात् अस्पतालले प्रतिमहिना २० हजार डलरभन्दा बढी बजेट घाटाको सामना गर्नुपर्छ ।  अस्पताल सञ्चालनको नेतृत्वकर्ता अन्कोलोजिस्ट डा. रवि कन्नन क्यान्सरको औषधीको लागतमा कटौतीको पहलबाट उनीहरूलाई गुणस्तरीय औषधी खरीद गर्न तथा धेरैभत्दा धेरै बिरामीको निःशुल्क उपचार गर्न मद्दत मिलेको छ ।  यसबाट सानो शहरका अस्पतालहरूले क्यान्सरको औषधी अभावको समस्या भोग्नुपरेको छैन । पहिले बिरामीको कम संख्या तथा औषधी खरीदमा छुट्याइएको सीमित रकमका कारण ठूला शहरभन्दा बाहिर औषधीको आपूर्ति अनियमित हुने गरेको थियो ।  डा. कन्ननले भनेका छन्, ‘औषधीको मूल्य पहिले नै तयार गरिएको छ साथै सबै अस्पताललाई बराबर आपूर्ति गर्ने प्रतिबद्धता गरिएको छ ।’ औषधी थोक मूल्यमा खरिदको पहल गर्ने नेतृत्व देशको सबैभन्दा ठूलो क्यान्सर केन्द्र, मुम्बईको टाटा मेमोरियल हस्पिटलले गरेको थियो । यसको प्रारम्भिक सूचीमा ४९ ओटा सामान्य अफ पेटेन्ट औषधि राखिएको थियो, जसले फार्मेसीको लागत ८० प्रतिशत कभर गथ्र्याे । यसबाट समूहलाई १७० मिलियर डलर बचत भएको थियो ।  योजनाको सफलताबाट देशभरका अस्पताल तथा राज्य सरकारको आकर्षित भए । दोस्रो चरणमा थप १०० औषधी थपिए । यद्यपि धेरै महँगो उपचार भने योजनाको हिस्सा छैन ।  राष्ट्रिय क्यान्सर ग्रिडका संयोजक एवं टीएमएचका निर्देशक सी एस प्रमेश भन्छन्, ‘फार्मास्युटिकल कम्पनीले भारतजस्तो बजारका लागि यो सम्झिन आवश्यक छ कि जबसम्म लागत कम हुँदैन तबसम्म ठूलो परिणाममा विक्री हुँदैन । यो कुखुरा र अण्डाको घटनाजस्तै हो ।’ विश्वमा क्यान्सरबाट मर्ने ७० प्रतिशत बिरामी भारतजस्ता निम्न तथा मध्यम आय भएका देशका भएको अनुमान छ, यसकारण राष्ट्रिय क्यान्सर ग्रिडले गरेको पहल विश्वभरका बिरामीलाई मद्दत गर्न महत्त्वपूर्ण हुन सक्छ । बीबीसी