देशको विगत अंकमा घूसपैठको प्रारम्भिक जानकारीसहित बौद्धिक सम्पत्ति संरक्षणमा घूसपैठ नियन्त्रण कानूनको भूमिकाबारे चर्चा गरिएको थियो ।
आजको मूल विषय पनि घूसपैठसँग सम्बद्ध प्रसंग फरक अर्थात् घूसपैठका घटक तत्त्वहरूसँग सम्बद्ध रहेको छ । ती तत्त्वको प्रतिपादन ‘क्यानडाको कर्कवी ए जी विरुद्ध रितिविक होल्डिङ इङ्क, २००५’ लगायत अन्य धेरै केसहरूबाट भएको छ । यसअनुसार घूसपैठका पाँच तत्त्वहरू रहेका छन् अर्थात् पाँच तत्त्वको मेलबाट घूसपैठ काम सम्पन्न हुन्छ : पहिलो मिथ्याकथन (मिसरेप्रन्जेन्टेशन) भएको हुनुपर्यो, दोस्रो त्यस्तो मिथ्याकथन व्यवसायीले कारोबारको सिलसिलामा गरेको हुनुपर्यो, तेस्रो फेरि विक्रीवितरण गर्ने वस्तु वा सेवा प्रवाहको क्रममा मिथ्याकथन सम्भाव्य ग्राहक वा उपभोक्तासँग गरेको हुनुपर्यो, चौथो अर्को व्यवसायीको प्रतिष्ठा वा साखमा क्षति पुग्ने गरी वा क्षति पुर्याउने उद्देश्यले गरेको हुनु पर्यो र पाँचौं दोस्रो पक्षले जुन व्यवसायीविरुद्ध यस्तो व्यवहार गरिएको हो, उसको व्यावसायिक प्रतिष्ठामा क्षति पुगेको वा पुग्ने सम्भावना भएको हुनुपर्यो ।
कहिलेकाहीं स्वतन्त्र रूपले वस्तु उत्पादन गरिरहेका दुई व्यवसायीको सामानमा कुनचाहिँ कसको हो भन्ने विषयमा यत्तिकै पनि उपभोक्ताहरू भ्रममा पर्न सक्छन्, त्यसमा एउटा व्यवसायीले अर्कोलाई दोष लगाउनुको औचित्य छैन ।
मिथ्याकथनमा विपक्षीले आफ्नो वस्तु वा सेवालाई पक्षकै हो भन्ने झलक वा आभास दिन उसका मिल्दाजुल्दा चि⋲नहरू प्रयोग गरेर वा उस्तै प्रस्तुतीकरण गरेर भ्रमको खेती गर्न समर्थ हुन्छ । यसले गर्दा ग्राहक वा उपभोक्ताले आपूmले प्रयोग गरेको माल सामान वा सेवा विश्वास गरेको पहिलो पक्षकै हाला भन्ने ठानेर दोस्रो पक्षको प्रयोग गर्छन् । कहिलेकाहीँ स्वतन्त्र रूपले वस्तु उत्पादन गरिरहेका दुई व्यवसायीको सामानमा कुनचाहिँ कसको हो भन्ने विषयमा यत्तिकै पनि उपभोक्ताहरू भ्रममा पर्न सक्छन्, त्यसमा एउटा व्यवसायीले अर्कोलाई दोष लगाउनुको औचित्य छैन, यो उपभोक्ताहरूको अफ्नै दुर्भाग्यले भएको भनी ‘मोरेङगोविरुद्ध डेली स्केच एन्ड सन्डे गाफिक कम्पनी १९९२’ को केसमा भनिएको छ ।
फेरि अर्को ‘हेक्स्ट फर्मास्युटिकल प्रालिविरुद्ध ब्युटिबक्स प्रालि’को केसमा यदि यस्तो भ्रम विपक्षीको मिथ्याकथनको कारणबाट भएको छ भने कारवाहीयोग्य हुन्छ भनिएको छ । ‘काउन्टी साउन्डविरुद्ध ओसियन साउन्ड’को केसमा पनि यही तथ्य औंल्याइएको छ । उक्त तीनओटै केसबाट के स्पष्ट हुन्छ भने उपभोक्ता भ्रममा परेर वा झुक्केर मात्र केही बिग्रँदैन त्यो उनीहरूको आफ्नै कमजोरी पनि हुन सक्छ तर ग्राहकले सामान किन्दा वा सेवा उपभोग गर्दा के कारणले गरे त ? त्यही कुरा विचारणीय हुन्छ । यदि अर्को व्यवसायीको व्यवहारले धोका भएर यसरी गलत निर्णय लिन विवश भएका हुन् भने त्यो मिथ्याकथन भयो र कारवाहीयोग्य हुन्छ ।
दोस्रो कुरा उपर्युक्तबमोजिमको आचरण विपक्षीबाट व्यावसायिक कारोबारको सिलसिलामा भएको हुनुपर्छ । व्यावसायिक कारोबारको क्षेत्रभन्दा बाहिर भएका वा घटेका घटनालाई घूसपैठको घटनाविरुद्धको कारबाहीमा राखिँदैन । व्यवसायीले आफ्नो आय आर्जनका लागि अवलम्बन गरेका उद्योग व्यापार र अन्य सेवा सञ्चालनका क्रममा हेराफेरीको मामला आकर्षित हुन्छ । तेस्रो कुरा हेराफेरी दुई व्यवसायीबीच भएको व्यवहार हो तापनि यस्तो व्यवहारबाट प्रतिकूल असर पर्ने तेस्रो पक्ष ग्राहक वा उपभोक्ता हुन् । पहिलो केसमा चर्चा पनि गरिसकेको छ मिथ्याकथनबाट उनीहरूलाई भ्रम पैदा हुन्छ र धोकाबाट गलत निर्णय गरी वस्तु वा सेवाको गलत छनोट गर्न विवश हुन्छन् ।
चौथो तत्त्व हो : व्यवसायीको प्रतिष्ठामा क्षति पुग्नु । प्रतिष्ठा भनेको कुनै व्यवसायीको सम्बद्ध वस्तु वा सेवाले ग्राहक वा उपभोक्तालाई आकर्षित गर्ने वा लोभ्याउने शक्ति हो । यस्तो शक्ति निरूपण गर्ने आन्तरिक तत्त्वमा कम्पनी वा कारोबारको इतिहास, वस्तु वा सेवाको स्रोत र ट्रेडमार्क, नाम, प्रस्तुतीकरण, गुणस्तर आदि हुन् भने बाह्य तत्त्वमा मुलुक, गाउँ, समाज, समुदाय, जनसंख्या मुख्य हुन् । यी सबैको संयुक्त मेलबाट प्रतिष्ठा निर्माण भएको हुन्छ । घूसपैठ भएको प्रमाणित गर्दा कुनै पनि पक्षले आफूले कारोबार गर्ने वस्तु वा सेवामा भएको प्रतिष्ठा प्रमाणित गर्न सक्नुपर्छ ।
प्रतिष्ठा ग्राहक वा उपभोक्ताको व्यक्तिगत विचारको कुरा भएकाले प्रमाणित गर्न त्यति सजिलो नभए पनि वस्तुको ट्रेडमार्क लोगो प्रस्तुतीकरण र नामबाट पनि ग्राहक बीच छवि निर्माण हुने र भावना अभिव्यक्त हुने भएकाले असम्भव पनि छैन । प्रतिष्ठाको कुरा औद्योगिक वा व्यापारिक प्रतिष्ठानमा मात्र सीमित रहँदैन, गैरव्यावसायिक प्रकृतिका सामाजिक संस्थामा पनि हुन सक्छ । तर पनि हाम्रो सरोकार भने व्यावसायिक कारोबारमा मात्र केन्द्रित रहन्छ । प्रतिष्ठा आर्जनमा व्यापारिक वस्तु वा सेवाका स्रोतको महत्त्वपूर्ण भूमिका रहन्छ । कारोबार समाप्त भए पनि त्यसको प्रतिष्ठा समाप्त भएको हुँदैन । यसमा मिथ्याकथनले भने व्यवसायको वस्तु वा सेवाको प्रतिष्ठामा ठूलो क्षति पुर्याउँछ ।
पाँचौं तŒव हो, क्षति । क्षति हाल भइरहेको वास्तविक क्षति पनि हुन सक्छ अथवा भविष्यमा हुने देखिएको सम्भावित क्षति पनि हुन्छ । कुनै व्यावसायिक पक्षलाई क्षति धेरै प्रकारले पुग्न सक्छ । यस्तो क्षति पुर्याउने कारक तत्त्व मिथ्याकथन नै हो । पहिलो क्षति वस्तु वा सेवाको विक्रीवितरणमा पर्छ अर्थात् विक्रीवितरण घट्छ । दोस्रो प्रयोग गरिएको ट्रेडमार्क वा डिजायनको महत्त्व घट्छ (डाइल्युशन हुन्छ) । तेस्रो विपक्षीबाट घूसपैठ भएको कमसल माल सामानको अपजसको भारी बोक्नुपर्छ । चौथो, पहिलो पक्षबाट कारोबार भएका वस्तु वा सेवाको लोकप्रियता घट्छ । पाँचौं, ग्राहक र उपभोक्ताहरू भड्किन्छन् । अन्तिममा भन्नु पर्दा पहिलो पक्षले ट्रेडमार्क वा डिजाइनको इजाजत सम्झौताबाट फाइदा लिने अवसर पनि घट्छ । यसरी व्यापारिक सेवा वा मालसामानको कुनै अर्को पक्षबाट हेराफेरि भएमा वास्तुविक रूपमा कारोबार गर्ने व्यवसायीलाई ठूलो क्षति पुग्न जान्छ ।
घूसपैठसम्बन्धी कानूनी व्यवस्था भएको मुलुकमा (जस्तो छिमेकी मुलुक भारत) ट्रेड्मार्क कानूनमा भएको देवानी उपचारसरह क्षतिपूर्ति, नाफा विभाजन, कैफियती माल सामान संकलन र नष्ट, अन्तरिम आदेशजस्ता उपचार प्रदान गरिन्छ । नेपालमा भने यसको न त छुट्टै कानूनी व्यवस्था छ नत अस्वस्थ प्रतिस्पर्धा सम्बन्धी कानूनमा यो विषय समेटिन सकेको छ । त्यसैले त व्यापार क्षेत्रमा बढी छाडातन्त्र हाबी रहेको छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण मञ्च नेपालका उपाध्यक्ष हुन् ।