‘चालू पूँजी कर्जा मार्गदर्शनको संशोधन सकारात्मक’

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमवार चालू पूँजी कर्जा मार्गदर्शनमा गरेको संशोधन सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघ र वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बताएका छन् । मंगलवार महासंघले प्रेस विज्ञप्ति र संघले पत्रकार सम्मेलनमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन् । महासंघले उठाउँदै आएका माग आंशिक रूपमा सम्बोधन भएको महासंघको प्रतिक्रिया छ । यद्यपि सोही दिन एकीकृत निर्देशनमा संशोधन गरी कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति भने आफ्नो ध्यानाकर्षण भएको महासंघको विज्ञप्तिमा उल्लेख छ । एकीकृत निर्देशनमा कुनै पनि कर्जा निष्क्रिय वर्गमा (पुन:संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महीनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नति गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा समूहमा रहेका अन्य ऋणीहरूको उक्त ऋणीसँगको व्यावसायिक अन्तरसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रूपमा प्रभावित हुने समूहका अन्य ऋणीहरूलाई समेत सोही निष्क्रिय वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । यी दुई प्रावधानले निजीक्षेत्रलाई हतोत्साही बनाउनुका साथै बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढेर अर्थतन्त्रमै प्रतिकूल असर पर्ने महासंघले बताएको छ । यसमा तत्काल संशोधन आवश्यक रहेको महासंघको भनाइ छ । यसैगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्था र विभिन्न समुदायप्रति विविध किसिमका नकारात्मक प्रचार एवं टीकाटिप्पणी भइरहेकोप्रति पनि आफ्नो ध्यानाकर्षण भएको महासंघले बताएको छ । सामाजिक सद्भाव र व्यावसायिक वातावरणमा खलल पुग्ने गरी भइरहेका गतिविधिले अर्थतन्त्र र सामाजिक संरचनामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन महासंघले सम्बन्धित सबैमा आग्रह गरेको छ । यता, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले चालू पूँजी कर्जाको सीमा बढाइएकाले कर्जा लगानी बढ्ने बताए । ‘मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाले औचित्यको आधारमा ४०/५० प्रतिशतसम्म चालू पूँजी कर्जा दिन सक्ने प्रावधान राखिएको छ, उत्पादनमूलक उद्योगलाई थप सुविधा दिइएको छ,’ अध्यक्ष केसीले भने, ‘यसले बजार चलायमान गराउन केही सहयोग गर्ने हाम्रो अपेक्षा छ ।’ यसैगरी राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थामा गरेको कडाइले बैंकहरूको खराब कर्जा भने बढ्ने अध्यक्ष केसीले अनुमान गरे । ‘कर्जा नोक्सानी व्यवस्था सम्बन्धी नीतिले कहाँ कहाँ प्रभाव पार्छ भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘तर, वर्गीकरणको प्रावधानमा कडाइ गरिएकाले खराब कर्जा बढ्न सक्ने देखिन्छ ।’ अहिले बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२–८३ प्रतिशतमा रहे पनि अधिक तरलताको अवस्था भने नरहेको संघले बताएको छ । गत साउनदेखि स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत रकम निक्षेपमा गणना नहुँदा ९० अर्ब घटेको बताइएको छ । आगामी पुसमा ऋणपत्रलाई पूँजीकोषमा गणना गर्ने कि निक्षेपमा भन्ने द्विविधा रहेकाले तरलता सहज छ भन्ने अवस्था नभएको संघले स्पष्ट पारेको छ । 

सम्बन्धित सामग्री

उत्पादनमूलक उद्योगले ५० प्रतिशतसम्म चालू पूँजी कर्जा लिन पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगलाई कारोबारको ५० प्रतिशतसम्म चालू पूँजी प्रकृतिको कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादन मूलक उद्योगलाई राहत दिएको हो । यसअघि २ करोड रुपैयाँसम्म र कारोबारको ४० प्रतिशतसम्म मात्रै चालू पूँजी कर्जा उपयोग गर्न पाउने व्यवस्था थियो । […]

बजेटमा निजीक्षेत्रको अपेक्षा : 'अवैध कारोबार बढाउने करका दर घटाऊ'

करको दर कम भए राजस्व बढी उठ्छ । २०५१/५२ सालमा मूल्य अभिवृद्धिकर लागू गर्दा सरकारले अन्तःशुल्क हटाउने भनेको थियो । तर, वर्षेनि अन्तःशुल्क लाग्ने वस्तुको सूची बढिरहेको छ । भन्सारमा पनि महशुल बढाउने, अन्तःशुल्क र भ्याट पनि लगाउने गर्दा ग्रे इकोनोमी बढेको छ । हामीकहाँ भन्सार र भ्याट मिलाएर भारतको जीएसटीबराबर हुन गयो भने यो समस्या समाधान हुन्छ । सबै कारोबार भन्सारको दायरामा आउँछ । यसबाट राजस्व बढ्छ ।  सामाजिक सुरक्षा कोषको केही रकम औद्योगिक पूर्वाधार विकास र विस्तारमा खर्च गर्नुपर्छ । व्यवसायीलाई थुन्ने कानूनले औद्योगिक र व्यापारिक वातावरण बन्दैन । सरकारको काम राजस्व बढाउने हो, व्यापारी थुन्ने होइन । यस्ता कानून संशोधन हुने नीति लिनु पर्छ । आर्थिक अपराधमा सजाय पनि आर्थिक नै हुनुपर्छ ।  व्यापारिक र औद्योगिक कच्चा पदार्थको भन्सारमा एक तह फरक भन्सार महशुलको नीति ठिक भए पनि त्यसमा व्यावहारिक कठिनाइ छ । कति उद्योगले सानो परिमाणमा प्रयोग हुने कतिपय कच्चा पदार्थ ठूलो परिमाणमा ल्याउन सम्भव छैन । त्यसैले व्यापारिक प्रतिष्ठानबाट आएको यस्तो कच्चा पदार्थमा पनि कम भन्सार हुनुपर्छ । अहिले तरलता सहज भएकाले चालू पूँजी कर्जाको सीमा हटाउनु पर्छ । २५ प्रतिशतको सीमा हटाए व्यापारमा सुधार आउँछ । वर्षमा एकपटक कर्जाको शून्य ब्यालेन्सको बाध्यता व्यावहारिक छैन । उद्योग र व्यापारमा शून्य ब्यालेन्स सम्भव हुँदैन । उधारो असुलीसम्बन्धी कानून ल्याउनुपर्छ । यसले उद्योग व्यापारमा भुक्तानीका समस्या समधान भएर जान्छन् । भारतीय पर्यटकलाई सिमानामा राम्रो व्यवहार हुन सकेको छैन । हामीकहाँ धेरै पर्यटक भारतबाटै आउने हुन् । भारतीय पर्यटकलाई सिमानामा दिइने हैरानीले पर्यटक बढ्दैनन् । भारतीय मुद्रा सटही र सहजीकरणको व्यवस्था हुनुपर्छ ।   चालू पूँजी कर्जा मार्गदर्शन स्थगन  चालू पूँजी कर्जा मार्गदर्शन स्थगित गरी बजारको आर्थिक अवस्थामा सुधार भएपछि क्रमबद्ध रुपमा लागू गर्नुपर्छ । उच्च ब्याजदरले बजारको व्यावसायिक कारोबारको चक्रलाई प्रभावित गरिरहेको छ । बचत खातामा दिइने ब्याजदरको सीमा ४ प्रतिशतभन्दा बढी हुनु हुँदैन । यसले ऋणको ब्याजलाई घटाउन सहयोग गर्नेछ । बैंकहरूले व्यावसायिक ऋणमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिनु हुँदैन । नेपाली दाल निर्यातकर्तालाई सरकारले पहिले ४ प्रतिशत नगद अनुदान दिने गरेको थियो ।  अहिले आएर पूर्ण रूपमा हटाइएको छ र १ प्रतिशत भन्सार शुल्कसमेत लिने गरेको छ । निर्यातजन्य उद्योगलाई सरकारले निर्यातमा अनुदान प्रदान गर्ने कार्यविधिअनुसार अनुदान उपलब्ध गराउँदै आए पनि बेलाबखत भुक्तानीमा कठिनाइ हुने गरेको छ । उद्योगको प्रवर्द्धनका लागि कच्चा पदार्थमा लाग्ने भन्सार महशुललाई शून्य गरी तयारी वस्तुमा भन्सार महशुल लिने प्रावधान हुनुपछ । सिमेन्ट तथा इँटा उद्योगका लागि आवश्यक कच्चा पदार्थ फ्लाई एस भारतबाट आयात हुने गरेको छ । भारत सरकारले फ्लाई एस विस्थापन गर्न राज्यस्तरबाटै सम्बद्ध उद्योगलाई सुविधासमेत दिने गरेको छ । हामीकहाँ भने आयात हुने फ्लाई एसमा प्रतिटन हजार रुपैयाँ भन्सार शुल्क लिने गरेको छ । यसलाई घटाएर सय रुपैयाँ कायम गर्नुपर्छ । पीपीसी उत्पादनमा फ्लाई एसको मात्रा अहिले नेपालमा २५ प्रतिशत छ । भारत तथा अन्य मुलुकमा ३५ प्रतिशत रहेकाले नेपाली सिमेन्ट उद्योगका लागि पनि फ्लाई एस मिश्रणको मात्रा ३५ प्रतिशत गरिनुपर्ने हाम्रो माग छ ।

ब्याजदरविरोधी आन्दोलन स्थगित

विराटनगर । बैंक, वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध मोरङ व्यापार संघको अगुवाइमा जारी काठमाडौं केन्द्रित आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आश्वासनपछि आन्दोलन स्थगित गरिएको हो । संघले शनिवार संघीय राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको थियो । त्यसअघि व्यवसायीले विराटनगर केन्द्रित आन्दोलन गर्दै आएका थिए । मंगलवार प्रधानमन्त्री दाहाललाई भेटेर आफ्ना माग बुझाएको र उहाँले सबै समस्याको समाधान गर्ने आश्वासन दिनुभएको संघले बताएको छ । उद्योगी व्यवसायीले उठाएका माग र भोग्नुपरेका समस्यामा प्रधानमन्त्रीले नै बुँदागत सम्बोधन गरेपछि उद्योगी उत्साहित बनेका थिए । उनीहरूले प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित भएको घोषणा गरे ।   संघका अध्यक्ष तथा बैंक, वित्तीय समस्या संघर्ष समितिका संयोजक नवीन रिजालले अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानको पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलन स्थगित गरिएको बताए । आइतवार माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा गरेका उद्योगी व्यवसायीले सोमवार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारअगाडि धर्ना दिएका थिए । व्यवसायीले बैंकको ब्याजदर एक अंकमा आउनुपर्ने, उद्योग र व्यापारको ब्याजदरमा २ प्रतिशतको फरक हुनुपर्ने, आधारदरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने, चालू पूँजी कर्जा मार्गदर्शन खारेज गरी व्यावहारिक  बनाइनुपर्ने माग अघि सारेका छन् । त्यसैगरी उनीहरूले वित्तीय सेवा शुल्क कम गर्नुपर्ने, हालको असहज अवस्थाका कारण कर्जाको पुनर्संरचना र पुनर्तालीकीकरण गर्न पाउनुपर्ने, स्प्रेडदर बढीमा २ प्रतिशत र आधारदर गणना तरिका सार्वजनिक गरिनुपर्नेलगायत माग राखी आन्दोलन अघि बढाएका थिए । ‘वित्तीय क्षेत्रमा देखिएको समस्या र हाम्रा मागबारे प्रधानमन्त्री आफै जानकार हुनुहँुदो रहेछ । उहाँले ती विषयलाई गम्भीरतापूर्वक लिएर ब्याजदर घटाउन सरकारले पहल गर्ने आश्वासन दिनुभएपछि हामीले आन्दोलन स्थगित गरेका हौं,’ रिजालले भने, ‘केही समयपछि नै यसबारे सकारात्मक नतिजा आउनेछ ।’ संघले उठाएका मागलाई उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ जस्ता संघसंस्थाले समर्थन गरेका थिए । आन्दोलनरत पक्षको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघर्ष समितिका संयोजक रिजाल तथा दिलसुन्दर श्रेष्ठ, प्रकाश मुन्दडा र पिताम्बर जोशीको टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको थियो ।

अटो नीति अस्पष्ट भयो : व्यवसायी

चितवन । राज्यले स्पष्ट अटो नीति ल्याउन ढिला गर्न नहुने चितवनका अटो व्यवसायीले बताएका छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनको छैटौं वार्षिक साधारणसभामा व्यवसायीले चालू पूँजी कर्जा मार्गदर्शन सच्याउन माग समेत गरेका गरेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधार नगरे अर्थतन्त्रलाई कसैले जोगाउन नसक्ने उनीहरूको तर्क छ । कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयात खुला भए पनि कर्जा स्वीकृत नहँुदा व्यवसायी थप मारमा परेको गुनासो व्यवसायीले गरेका छन् । बैंक तथा वित्तीय संस्थाले विनाजानकारी ब्याजदर बढाएर १७ प्रतिशतसम्म पुर्‍याउँदा व्यवसाय नै धराशयी भएको उनीहरूले बताए । कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएशनका केन्द्रीय सदस्य तथा डिलर्स समन्वय समितिका संयोजक गोपाल भट्टराईले अटो क्षेत्रलाई चलायमान बनाउन विगतको जस्तो हायर पर्चेज लोनमा विशेष सहजीकरण गरिनुपर्ने बताए । कार्यक्रममा चितवन अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष राजन पियाले राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहन रूपमा समीक्षा गर्नुपर्ने बताए । संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ थियो । एशोसिएशनका निवर्तमान अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बैंकिङ क्षेत्रको सहयोगविना अटोमोबाइल्स क्षेत्र चल्नै नसक्ने भन्दै व्यवसायीमैत्री नीति अवलम्बन गर्न आग्रह गरे ।

‘आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुने’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था हटाएकाले अर्थतन्त्र चलायमान हुने नेपाल चेम्बर अफ कमर्सले बताएको छ । ‘अर्थतन्त्र : अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा चेम्बरले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजीक्षेत्रका समस्या राख्दै समाधानका उपाय सुझाएको थियो,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलगत्तै राष्ट्र बैंकबाट नगद मार्जिनको व्यवस्था हट्नु स्वागतयोग्य छ ।’ यसअघि नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा मार्गदर्शन २०७९’मा गरेको संशोधनको समेत चेम्बरले स्वागत गरेको थियो ।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, समयसापेक्ष कदम कि दवावमा

बैंक तथा वित्तीय संस्थाले ऋणीको चालु सम्पत्ति तथा दायित्वको नियमित मूल्याङ्कन गरेर दिइने कर्जालाई चालु कर्जा भनिन्छ । छोटो अवधिको कर्जाका रुपमा लिइने चालु पुँजी कर्जा व्यावसायिक प्रयोजनका लागि मात्रै दिनुपर्ने व्यवस्था छ । पछिल्लो समय चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्न उद्योगी-व्यवसायीहरुले चर्को दवाव दिइरहेका बेला नेपाल राष्ट्र बैंकले चालु पुँजीसम्बन्धी मार्गदर्शन २०७९ पहिलोपटक …

चालू पूँजी कर्जा स्थगन कि संशोधन ? नैतिक संकटमा गभर्नर अधिकारी

काठमाडौ । नेपाल राष्ट्र बैंकको कदमप्रति अहिले उद्योगी व्यवसायीहरु सबैभन्दा असन्तुष्ट छन् । उद्योगी व्यवसायीहरुको माग छ, ‘राष्ट्र बैंकले कात्तिक १ गतेबाट लागू गरेको चालू पूँजी कर्जा मार्गदर्शन कम्तीमा २ वर्ष स्थगन गर्नुपर्छ ।’ तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा भएकै वेला उद्योगी व्यवसायीहरुले उक्त माग गरेका थिए । त्यतिवेला व्यवसायीहरुले राष्ट्र बैंकको कदमलाई शर्मामार्फत हस्तक्षेप गर्ने […]

चालू पूँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा राष्ट्र बैंक लचक बन्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही लचकतासहित चालू पूँजी कर्जाको मार्गदर्शन कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ७ भदौमा चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गर्दै १ कार्तिकदेखि कार्यान्वयन गर्न निर्देशन दिएको केन्द्रीय बैंकले १४ असोज २०७९ मा एक परिपत्र जारी गर्दै केही पछि हटेको छ । राष्ट्र बैंकले चालू पूँजी […]

राष्ट्र बैंकको नीतिविरुद्ध मधेशका उद्योगी ब्यवसायी सडकमा

६ असोज, वीरगञ्ज । नेपाल राष्ट्र बैंकका निर्देशन र चालू पूँजी कर्जा मार्गदर्शन २०७९ का प्रावधान प्रति असन्तुष्टि जनाउँदै मधेश प्रदेशका उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश समितिको आह्वानमा ८ वटै जिल्लाका उद्योगी व्यवसायीले प्रदर्शन गरेका हुन् । मधेस प्रदेशका ८ वटै जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका […]