अटो नीति अस्पष्ट भयो : व्यवसायी

चितवन । राज्यले स्पष्ट अटो नीति ल्याउन ढिला गर्न नहुने चितवनका अटो व्यवसायीले बताएका छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनको छैटौं वार्षिक साधारणसभामा व्यवसायीले चालू पूँजी कर्जा मार्गदर्शन सच्याउन माग समेत गरेका गरेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधार नगरे अर्थतन्त्रलाई कसैले जोगाउन नसक्ने उनीहरूको तर्क छ । कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयात खुला भए पनि कर्जा स्वीकृत नहँुदा व्यवसायी थप मारमा परेको गुनासो व्यवसायीले गरेका छन् । बैंक तथा वित्तीय संस्थाले विनाजानकारी ब्याजदर बढाएर १७ प्रतिशतसम्म पुर्‍याउँदा व्यवसाय नै धराशयी भएको उनीहरूले बताए । कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएशनका केन्द्रीय सदस्य तथा डिलर्स समन्वय समितिका संयोजक गोपाल भट्टराईले अटो क्षेत्रलाई चलायमान बनाउन विगतको जस्तो हायर पर्चेज लोनमा विशेष सहजीकरण गरिनुपर्ने बताए । कार्यक्रममा चितवन अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष राजन पियाले राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहन रूपमा समीक्षा गर्नुपर्ने बताए । संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ थियो । एशोसिएशनका निवर्तमान अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बैंकिङ क्षेत्रको सहयोगविना अटोमोबाइल्स क्षेत्र चल्नै नसक्ने भन्दै व्यवसायीमैत्री नीति अवलम्बन गर्न आग्रह गरे ।