विगतमा जस्तै मंगलवार पनि नेपालमा ११२ औं अन्तरराष्ट्रिय नारी दिवस मनाइयो । नारी दिवसमा महिला सशक्तीकरणको पक्षमा अनेक चर्चा गरिए । महिलालाई अघि बढाउने सबालमा थुप्रै छलफल भए ।
क्षमताको दृष्टिकोणले निकै राम्रो अवस्थामा रहेका महिलालाई अहिले गरिरहेको काममा सामान्य सहयोग हुन सक्ने हो भने पनि सकारात्मक नतिजा हात पर्ने भएकाले अहिलेको आवश्यकता सबैको सहयोग नै हो ।
तर, यस्ता छलफलमा ठूलाठूला कुरा भए पनि वास्तवमा महिलालाई आर्थिक रूपले कसरी उठाउन सकिन्छ भन्नेबारेमा त्यति धेरै चर्चा भएको पाइएन । पछिल्लो समय महिलाहरू भातभान्साभन्दा बाहिर निस्किएर आर्थिक क्षेत्रमा सक्रिय हुन थालेका छन् । शहरीदेखि ग्रामीण क्षेत्रमा महिलाहरू आयआर्जनका कुनै न कुनै काममा लागिरहेका छन् । सहकारी र लघुवित्तको पहुँच व्यापक भएसँगै ग्रामीण क्षेत्रका महिलाहरू ससाना उत्पादनमूलक कार्यमा लागिरहेका पाइन्छन् । यसले नेपालको अर्थतन्त्रमा राम्रै योगदान दिएको र अझै बढी दिन सक्ने देखिए पनि त्यसमा उनीहरूलाई सहजीकरण हुन नसकेको देखिन्छ ।
नेपालमा महिलाले ठूला उद्योग आफै शुरुआत गरेरै नेतृत्व गर्न सक्ने अवस्था देखिइसकेको छैन, एकाधबाहेक । जति पनि ठूला उद्योगमा महिलाको सहभागिता छ, त्यसमा अधिकांशको घरपरिवारको साथ र सहयोग छ । त्यसैले ठूला उद्योगहरूमा महिला उद्यमशीलता खासै बढेको भन्ने सक्ने अवस्था छैन ।
मुलुकमा महिलाहरूको जनसंख्या ५१ प्रतिशत रहेको छ । तर, विद्यमान तथ्यांक केलाउँदा उद्योग व्यवसायमा उनीहरूको संख्या नगण्य नै छ भन्नुपर्ने भए पनि साना घरेलु उद्योग खोल्ने महिलाको संख्या भने पछिल्लो समयमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले महिला उद्यमशीलताको विकास गर्न सहुलियत कर्जाको व्यवस्था मिलाएको छ । यसका कारणले पनि हुन सक्छ ग्रामीण भेकमा उद्यमशीलतामा लाग्ने महिलाको संख्या बढेको छ । गाउँगाउँमा खोलिएका सहकारी र लघुवित्तको पहुँचले उनीहरूलाई कर्जाको पहुँचमा सहजता भएको छ । उनीहरूमा बचत गर्ने बानीको विकास भएको छ । ग्रामीण महिलाहरू गाईबाख्रा पालन, कुखुरापालन, अचार उद्योग, कपडा उद्योग जस्ता क्षेत्रमा सक्रिय रहेको पाइन्छ । कैयन् महिला मिथिला आर्टस्, ढाका तथा थाङ्का बुनाइजस्ता काममा लागेका छन् । त्यस्तै शहरी क्षेत्रमा ब्युटी पार्लरजस्ता केही साना उद्यम र केही मात्रामा कपडा आदि उत्पादनमूलक कार्यमा महिलाहरू सक्रिय भइरहेका छन् । कैयन्ले सफल उद्यमीको पहिचान बनाएका छन् । यिनीहरूका उत्पादनले आयात प्रतिस्थापनमा राम्रै सहयोग गरेको देखिन्छ । तर, यो पर्याप्त छैन । अब महिलालाई उद्यमीका रूपमा विकास गरी आर्थिक रूपले समुन्नत गराउने हो भने उनीहरूले शुरू गरेका साना व्यवसायलाई बढावा दिन आवश्यक छ । साना स्केलका उद्योगहरूलाई विस्तार गर्न सके अर्थतन्त्रमा राम्रै प्रभाव पर्ने सक्ने देखिन्छ । उद्यम विस्तारका लागि सजिलोसँग कर्जा पाउनदेखि लिएर शीप र दक्षता वृद्धि गर्न सहयोग चाहिएको छ । सामान्य सहयोग गर्न सक्ने हो भने पनि महिलाहरूले गरिरहेको ‘म्यानुफ्याक्चरिङ’ संसारभरि पुग्न सक्छ । नेपाली महिलाले गरिरहेको ‘म्यानुफ्याक्चरिङ’ लाई विश्वभरि मन पराइएको पनि छ ।
महिलाहरूलाई बजार रणनीतिका बारेमा पर्याप्त जानकारी नहुँदा उनीहरू आक्रामक रूपमा लगानी गर्न नसकिरहेको देखिन्छ । आफूले गरिआएको व्यवसायलाई विस्तार गर्न ठूला उद्योगहरूसँग प्रतिस्पर्धा गर्न डराउनु पनि एक कारण मानिन्छ । व्यवसाय सञ्चालनका लागि केही प्राविधिक कुराको जानकारी आवश्यक हुन्छ । ती कुरा सिकाइ उनीहरूलाई व्यवस्थापनसँग सम्बन्धित कुराहरूमा सहजीकरण गरिदिनु आवश्यक हुन्छ ।
क्षमताको दृष्टिकोणले निकै राम्रो अवस्थामा रहेका महिलालाई अहिले गरिरहेको काममा सामान्य सहयोग हुन सक्ने हो भने पनि सकारात्मक नतिजा हात पर्ने भएकाले अहिलेको आवश्यकता सबैको सहयोग नै हो । त्यस्तो सहयोग घरपरिवारदेखि सरकारी, गैरसकारी निकायबाट हुन सक्छ । कुनै पनि पुरुष सफल हुन जसरी महिलाको हात रहेको हुन्छ, त्यसरी नै महिला सफल हुन पनि पुरुष, घरपरिवार र सिंगो समाजको सहयोग चाहिन्छ भन्ने मानसिकताको विकास हुन आवश्यक छ । सरकारी संयन्त्रले पनि त्यस्तै व्यवहार गर्नुपर्छ । यसो गर्न सक्ने हो भने महिला काममा सफल हुन मात्र नभई आर्थिक रूपले सबल हुन कुनै कठीन कार्य होइन । त्यसैले सबै मिलेर काम गर्न खोज्नेलाई हौस्टेमा हैंसे गर्न आवश्यक छ । यसले अन्तत: आर्थिक समृद्धिमा टेवा पुग्छ ।