पर्यटन र वायुसेवाका निकटतम सम्बन्ध हुन्छ । जहाँ वायुसेवा प्रभावकारी हुन्छ त्यहीँ पर्यटकको ओइरो लाग्छ । नेपालमा आउने भारतीय पर्यटकबाहेक अत्यधिक पर्यटक विमानबाट नै नेपाल आउँछन् । पर्यटकले गर्ने खर्चमध्ये बढी खर्च यातायात नै हुन्छ । अर्थात् जति पर्यटन गतिविधि बढ्छ त्यति नै वायु सेवा कम्पनीले बढी व्यवसाय पाउँछन्, मुनाफा कमाउँछन् । नेपालमा विश्वका करीब ३० ओटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । र, नेपाल आउने पर्यटक र विदेशमा काम गर्न जाने नेपालीबाट ती कम्पनीले प्रशस्त मुनाफा कमाइरहेका छन् । नेपाल भने तिनले लिएको नाफा हेरेर बसिरहनुपर्ने बाध्यता छ । कुनै बेला नेपालबाट हुने अन्तरराष्ट्रिय उडानमा नेपाल वायु सेवा निगमको हिस्सा दुई तिहाइसम्म हुन्थ्यो भन्ने कुरा अहिले किंवन्दती जस्तो भइसकेको छ । यूरोपका प्रमुख शहरमा निगमको उडान हुन्थ्यो र त्यहाँबाट गुणस्तरीय पर्यटकको आगमन हुन्थ्यो । तर, अहिले परिस्थिति भिन्न छ ।
अहिले नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्, त्यसपछि चिनियाँ र त्यसपछि अमेरिकी । विगत केही समयको तथ्यांकले भने चीन तेस्रो र अमेरिका दोस्रो भएको देखिन्छ । त्यसपछि बढी पर्यटक यूरोपेली मुलुकबाट आएको देखिन्छ । यूरोपेली मुलुकबाट आउने पर्यटकले सीधा उडान नहुँदा झन्झट बेहोर्नु परेको छ । यूरोपेली मुलुकपछि अस्ट्रेलिया र जापानबाट आउने पर्यटकको संख्या पनि उच्च छ । तर, विडम्बना के छ भने यूरोपेली संघले नेपाली उडान क्षेत्रलाई कालो सूचीमा राखेकाले त्यहाँ निगमको उडान शुरू हुन सकेको छैन । यसो भनिरहँदा के पनि भुल्नु हुँदैन भने यूरोपमा उडानको अनुमति पाए पनि निगमले स्तरीय र विश्वसनीय सेवा देला र यूरोपको पुरानो क्रेज बढाउन सकिएला भनेर सोच्नुचाहिँ सही नहुन सक्छ । अहिले नेपालले जापानको नारिता शहरमा उडान गरिरहेको छ । तर, त्यसले पर्याप्त व्यवसाय गर्न सकेको देखिँदैन । जापान आवतजावत गर्ने नेपालीले मात्रै पनि यसको व्यवसायलाई टेवा दिनुपर्नेमा त्यस्तो भएको छैन । तैपनि यसले केही आशा भने जगाएको छ । निगमले अस्टे्रेलिया उडान गर्ने भनिए पनि त्यो कहिलेदेखि शुरू हुन्छ भन्न सकिँदैन । स्लट लिइसकेको भन्ने जानकारी आएपछि अहिले केले रोकिएको हो थाहा छैन । वास्तवमा निगमको आन्तरिक व्यवस्थापनकै कमजोरी र लापर्बाहीका कारण निगम पछि पर्दै गएको छ र यसले विश्वास आर्जन गर्न कठिन हुने देखिन्छ ।
निगमले चीनमा उडान गर्ने भनिए पनि त्यसतर्फ पनि खासै प्रगति भएको छैन । बरु निजी लगानीको हिमालयन एयरलाइन्सले बेइजिङ उडान थालेको छ । चीनबाट थुप्रै उडान भए पनि निगमलाई भने उडान अनुमति दिइएको छैन । नेपालले जुन जुन देशसँग हवाई सेवाका लागि सम्झौता गर्छ ती देशमा दुवै देशका विमान आवतजावत गर्न पाउने बुँदा हुन्छ । तर, नेपालले जुनसुकै देशका विमानलाई पनि सजिलै अनुमति दिने गरेको छ भने अन्य देशले नेपाल वायु सेवा निगमलाई विभिन्न बहाना गरेर आलटाल गर्ने गरेका छन् । सबै देशले आफ्नो देशको व्यापारलाई उच्च प्राथमिकता दिन्छन् । तर, नेपालको सरकार र कूटनीतिक क्षेत्रले भाषण र वक्तव्यबाजीमा आर्थिक पक्षमा जोड दिने बताउने गरे पनि व्यवहारमा त्यसो भएको पाइँदैन ।
नेपालमा खर्चालु पर्यटक आउने मुलुक यूरोप हो । त्यहाँबाट पदयात्रा र सम्पदा अवलोकनका लागि प्रशस्त पर्यटक आउँछन् । तर, यूरोपेली संघको कालोसूचीबाट नेपाल अझै हट्न सकेको छैन । नेपालले सकेसम्म आफ्नो पहल जारी राखेको छ । अहिले ईयूको टोली नेपालको हवाइ सुरक्षाका अडिट गर्न नेपालमा आएको छ । उसले दिएको विभिन्न सुझावमा नेपालले प्रगति गरेकाले त्यसैअनुसार प्रतिवेदन आउने र कालोसूचीबाट हट्ने सम्भावना बढेको छ । कालोसूचीबाट हट्यो भने निगमले तत्कालै यूरोपमा उडान थाल्न पहल शुरू गर्नुपर्छ । विगतमा नेपालले जर्मनी, बेलायत आदि देशमा उडानको अनुभव गरिसकेकाले यी ठाउँमा उडान गर्न पाए निगमले राम्रो व्यापार गर्न सक्ने देखिन्छ । यसले यूरोपबाट खर्चालु पर्यटक ल्याउने भएकाले नेपालले पर्यटनबाट थप लाभ लिन सक्छ ।
नेपाल वायु सेवा निगममा जो आए पनि जे गरे पनि कहिल्यै सुधार आउन सक्दैन भन्ने देखिएको छ । सुदन किराँती पर्यटनमन्त्री भएपछि सुधारका लागि केही पहल भएको थियो । अनलाइन टिकट बुकिङ शुरू भयो । उनले प्रत्येक दिनको रिपोर्टिङ गर्नुपर्ने नियम बनाए । तर, निगमका विमान ग्राउन्डेड हुन थाल्यो । कहिले इन्जिन बिग्रिएर र त कहिले के भएर निगमको विमान उड्न सकेका देखिँदैन । अहिले एउटा ग्राउन्डेड जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाएको बताइन्छ । ३ महीनासम्म विमान बिग्रिएर ग्राउन्डेड हुनु भनेको कुनै पनि विमान कम्पनीका लागि अनौठो विषय हो । तर, नेपालमा यसरी ३ महीनासम्म विमान ग्राउन्डेड हुँदा कसैले पनि किन मर्मतमा यसरी बढी समय लगाइयो भन्नेमा चासो दिएको पाइँदैन । नेपालको सार्वजनिक खरीद ऐन अत्यन्त अव्यावहारिक छ । यसको प्रक्रिया पूरा गर्दा बढी समय लागेको देखिन्छ । सार्वजनिक खरीद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिजसहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शील टेन्डर आह्वान गरेको थियो । नियमानुसार छनोट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ । जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरू इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भए तापनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ ।
खासमा निगमको महाप्रबन्धक र अध्यक्षको नियुक्ति नै समस्याको जड हो भन्दा हुन्छ । खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छान्ने हो र उसलाई काम गर्न दिने हो भने केही सुधार आउन सक्छ । तर, कुनै महाप्रबन्धकले सुधारको योजना बनाइसक्दा उसले बिदा लिनुपर्ने भइसक्छ ।
जहाजको इन्जिनमा समस्या आउन सक्छ त्यो सामान्य विषय हो । तर, त्यसलाई मर्मत गर्न लागेको समयले गैरजिम्मेवारीलाई देखाउँछ । कानूनी प्रक्रिया सजिलो बनाउँदा भ्रष्टाचार हुन्छ, जटिल बनाउँदा पनि भ्रष्टाचार भइरहेको छ । आफ्नो जिम्मेवारी पूरा नगर्ने र उत्तरदायित्व बोध नहुने प्रवृत्तिका कारण निगम मात्रै होइन नेपालको सिंगो प्रशासन नै बदनाम छ भन्न सकिन्छ । त्यसमा पनि निगम त नेपालको भ्रष्टाचारको सबैभन्दा ठूला काण्ड हुने ठाउँ हो । विमान खरीददेखि एजेन्ट नियुक्तिसम्म, विमान मर्मतदेखि सामान्य खरीदसम्ममा सर्वत्र भ्रष्टाचार हुन्छ । अलि अलि भ्रष्टाचार त प्राय: धेरै ठाउँमा हुन्छ । तर, निगम भने भ्रष्टाचार र अकर्मण्यताका कारण कहिल्यै उठ्न सक्ने देखिँदैन ।
नयाँ विमान खरीदका योजना बनाइन्छ तर व्यवसायको योजना बनाइँदैन । उच्च व्यवस्थापन जहिले पनि विवादमा परिरहन्छ । वास्तवमा नेपालमा कुनै पनि सरकारी निकाय कडा नियममा बस्न नै चाहँदैनन्, त्यहाँका कर्मचारीले आफूलाई सजिलो हुने उपाय निकाल्छन् र सेवाग्राहीलाई दु:ख दिने नियतले काम गर्छन् । सेवाग्राहीलाई हैरानी पार्ने नियतले प्रक्रिया झन्झटिलो बनाएपछि तिनबाट अवैध लाभ लिने बाटो खुल्छ । निगमका कर्मचारीलाई पनि यस्तै आरोप लागेको छ । त्यसैले त्यहाँ कार्यरत कर्मचारीले निगमको सेवालाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्छ । यो फाइदामा गएमा त्यसको लाभ सबैभन्दा पहिले त्यहीँका कर्मचारीले पाउने हुन् ।खासमा यसको महाप्रबन्धक र अध्यक्षको नियुक्ति नै समस्याको जड हो भन्दा हुन्छ । खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छान्ने हो र उसलाई काम गर्न दिने हो भने केही सुधार आउन सक्छ । तर, कुनै महाप्रबन्धकले सुधारको योजना बनाइसक्दा उसले बिदा लिनुपर्ने भइसक्छ । राजनीतिक नियुक्ति हुने भएकाले उसले आफूलाई निगमप्रतिभन्दा पनि नियुक्तिकर्ताप्रति इमानदारी देखाउनुपर्ने हुन्छ ।
यी सबै हामीले आन्तरिक रूपमा सृजना गरेका समस्या हुन् । तिनको समाधान पनि हामीले नै गर्ने हो । तर, हाम्रो अकर्मण्य र विवादका कारण ठूलो परिमाणमा हाम्रो भागमा आउने व्यवसाय विदेशी वायुसेवा कम्पनीले लिइरहेका छन् । यसमा सुधार ल्याउन सबै तह लाग्नुको विकल्प छैन ।
हामी पर्यटन व्यवसायी जसरी हुन्छ निगमको उडान व्यापक हुनुपर्छ र यसले धेरैभन्दा धेरै देशमा उडान गर्नुपर्छ भन्ने सोचमा छौं । त्यसमा हामी कुनै पनि विकल्पमा सरकारलाई सहयोग गर्न तयार पनि छौं । तर, सरकारी अधिकारीहरू मुखले निजीक्षेत्रको साथ सहयोग चाहिन्छ भन्छन् व्यवहारमा भने कहिल्यै पनि कुरा सुन्दैनन् । एकाध मिटिङमा कुरा सुन्नुमात्रै समाधान होइन, निजीक्षेत्रलाई मान्यता दिएको हैन । निजी क्षेत्रले भनेका कुरालाई नीतिगत रूपमा र कार्यान्वयन तहमा सम्बोधन गरियो भने मात्रै यसको अर्थ हुन्छ ।
पन्त पर्यटन व्यवसायी हुन् ।