काठमाडौं (अस) । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडले आर्थिक वर्ष ०७७/७८ मा ६३ लाख ३३ हजार रुपैयाँ मुनाफा गरेको छ । मंगलबार राजधानीको नयाँ बानेश्वरस्थित कार्यालयमा गरेको सातौं र आठौं साधारणसभामा कम्पनी अध्यक्ष तथा कार्यकारी प्रमुख विमल तिवारीले उक्त जानकारी दिएका हुन् ।
कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ छ । यस आधारमा कम्पनीले प्रतिसेयर आम्दानी ३ रुपैयाँ १७ पैसा रहेको छ । कम्पनीले गत वर्षको आम्दानीलाई जगेडा कोषमा राखेको छ । उक्त कोषबाट आगामी वर्ष बोनस वा डिभिडेन्ट वितरण गरिने कार्यकारी अध्यक्ष तिवारीले जानकारी दिए । साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन पारित गरेको छ । साधारणसभाले गत आवको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । प्रोभिडेन्टले डिम्याट खाता खोल्ने सेवा, पोर्टफोलियो मानेजमेन्ट सेवा, निक्षेप सेवा, शेयर खरिद बिक्री तथा परामर्श सेवा र सेयर बजारसम्बन्धी तालिम उपलब्ध गराउँदै आएको छ ।