नामको विषय संसदमा प्रवेशै नगरी बजेट अधिवेशन अन्त्य भएपछि प्रदेश–१ को नाम अझै अनिश्चित बनेको छ ।
संसद बैठकमा पटक–पटक सांसदहरूले नामाकरणको विषय उठाए पनि सरकारले हरेक पटक आगामी अधिवेशनमा टुंगो लगाउने भन्दै सरकारले टार्दै आएको छ । स्थायी राजधानी टुंगो लागे पनि नामाकरणको विषय प्रदेश–१ मा पेचिलो बन्दै गएको छ । प्रदेशको नामाकरण भूगोलका आधारमा गर्ने या जातीय आधारमा गर्ने भन्ने अन्यौल अथावतै छ । हाल कोशी, सगरमाथा, किराँत र लिम्बुवानमध्ये के नाम राख्ने भन्ने विवाद तीव्र देखिएको छ । शुक्रबारबाट प्रदेशको छैटौं तथा बजेट अधिवेशन सकिएको छ । तर, यसपटकको बैठकमा पनि नामको विषय औपचारिक रुपमा संसदमा प्रवेश नगर्दा सत्तारुढ दलकै सांसदहरू रुष्ट बनेका छन् ।