यूरोपियन युनियन (ईयू) पठाउने चिनी खरीद गर्न नेशनल ट्रेडिङ लिमिटेडले पुन: बोलपत्र आह्वान गर्ने भएको छ । नेशनल ट्रेडिङले ईयूबाट आएको चिनी खरीदको कोटा जोगाउन पुन: बोलपत्र आह्वान गर्ने तयारी गरेको हो । ‘अझै पनि चिनीको प्रस्ताव पठाउन हामीसँग पर्याप्त समय छ,’ नेशनल ट्रेडिङका नायब महाप्रबन्धक प्रदीप्तमान प्रधानले भने, ‘त्यसैले पुन: टेण्डर गरेर मागअनुसारको चिनी पठाउँछौं ।’ यसअघि, मङ्सिरको पहिलो साता ट्रेडिङले यूरोप पठाउने चिनी खरीद गर्न ३५ दिने बोलपत्र आह्वान गरे पनि निर्धारित मिति आइतवारसम्ममा कुनै पनि आवेदन परेको थिएन । आवेदन नपरेपछि चिनी यूरोप पठाउन ट्रेडिङ असमर्थ हुने र चिनीको कोटा गुम्ने आशंका गरिएको थियो । तर, ट्रेडिङका अधिकारीहरूले भने यूरोप चिनी पठाउने मौका गुमिनसकेको बताएका छन् । प्रधानले भने, ‘ईयूलाई असारमसान्तसम्ममा चिनी पठाए हुने भएकाले समय घर्किसकेको छैन, अझै पुन: टेण्डर गरेर चिनी पठाउने मौका बाँकी छ ।’
वर्ष ६, अंक ९८, मंगलवार, १३ पुस, २०६७