चैत २, काठामाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संस्थापक शेयर विक्री प्रकृया अझै अन्योलमा रहेको छ ।
नियमक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा विक्री खुलाकै क्रममा फागुन १३ गते रोकिएको विक्री प्रकृया अझै टुङ्गो नलागेको हो ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शत प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसेकेको ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो ।
कम्पनीले फागुन १ गतेदेखि १५ गतेसम्म दोस्रो चरणमा विक्री खुला गरिएको यो शेयर केहि दुविधाका कारण रोक्न निर्देशन दिएको बार्डले बताएको छ ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यस विषयमा कम्पनीको स्पष्टीकरण माग गर्दै नेपाल राष्ट्र बैंकमा यो विषयमा छलफल भएको जानकारी दिए ।
हाल राष्ट्र बैंकको नियमनमै रहने यस कम्पनीको अवितरित हकप्रद शेयर विक्री पछिको बाधा अड्चनका विषयमा राष्ट्र बैंकको समेत रायको प्रतिक्षामा रहेकाले विक्री प्रकृया ढिलाई भएको जानकारी गिरीले दिए ।
बैंकबाट हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएकाले पुनः विक्री गर्ने विषयमा बोर्डले निर्णय गरिनसकेको जानकारी उनले दिए ।
कम्पनीले न्यूनतम प्रतिकित्ता रू. १०० तोकेर संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
पहिलो चरणमा न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त शेयर कम्पनीले नियमावली संशोधन नै गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरेको छ । पहिलो चरणमा कम्पनीले न्यूनतम एक करोड कित्ताको सीमा राखी गत असोज ७ गतेदेखि १४ गतेसम्म यो शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
कम्पनीले संस्थापकतर्फको उक्त शेयरसँगै सर्वसाधारणतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा सर्वसाधारण तर्फको शेयर भने विक्री भएको थियो ।
कम्पनी पनि बोर्डको निर्देशन कुरेर बसेको बताउँछ । विक्री खुलाकै क्रममा बोर्डको निर्देशमा स्थगित गरिएको संस्थापक शेयर विक्रीको प्रकृया अघि बढाउँन बोर्डकै निर्देशन कुरेर बसेको जानकारी कम्पनी सचिव जीवन बस्नेतले दिएका छन् ।
बोर्डले प्रष्ट पार्न निर्देशन दिएका दुई बुँदाहरु प्रष्टाईसकेको बताउँदै सचिव बस्नेतले कम्पनीको हितमा आवश्यक निर्णय बोर्डले गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।