न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : बैंकिङ र निजीक्षेत्रमा गुणात्मक विकास

पछिल्लो २० वर्षमा नेपाली अर्थतन्त्रमा देखिने र नदेखिने गरी थुप्रै परिवर्तन भएका छन् । तीमध्ये केही सकारात्मक छन् भने केही नकारात्मक छन् । कतिपय परिवर्तनले समाजलाई सही बाटोमा डोर्‍याएका छन् । कतिपय परिवर्तनमा सुधार गर्नुपर्ने देखिएको छ ।  २० वर्षको अवधिमा सबभन्दा ठूलो उपलब्धि बैंक तथा वित्तीय क्षेत्रको गुणात्मक विकास हो । यसरी विकास हुनुमा मुख्यगरी दुई कारण छन् । एउटा कारण निजीक्षेत्रलाई वित्तीय क्षेत्रमा लगानी गर्न खुला गरिनु र अर्को बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि आवश्यक ऐन/कानून बन्नु हो । वित्तीय क्षेत्रमा निजीक्षेत्र प्रवेशपछि उद्यमशीलताको विकासमा निकै मद्दत पुगेको छ । एकातिर वित्तीय संस्था चलाउनेहरू नै उद्यमी भए भने अर्कोतर्फ वित्तीय संस्थाले कर्जा प्रवाह गर्न थालेपछि उद्यमशीलताको विकासमा सहजता भयो । २०५८ सालमा नेपाल राष्ट्र बैंक ऐन आयो । सोही ऐनका कारण राष्ट्र बैंक स्वायत्त भयो । २०६१ सालमा बैंक तथा वित्तीय संस्था अध्यादेश (बाफिया) आयो । छाता ऐन आएपछि ३२ वाणिज्य, ८८ विकास बैंक र ७९ वित्त कम्पनी सञ्चालनमा आए । यो कदम नेपाली अर्थतन्त्रको आधुनिकीकरणका लागि रूपान्तरणकारी साबित भयो । यही अवधिमा निरन्तर विप्रेषण वृद्धि भयो, जसले गर्दा विप्रेषण र वित्तीय संस्था एकआपसमा परिपूरक जस्ता हुन पाए । विप्रेषण वृद्धि हुँदै गएपछि वित्तीय संस्थालाई निक्षेप प्राप्त गर्न सहज हुँदै गयो । निक्षेप वृद्धिले बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि निकै सहज भयो । अहिले व्यवस्थित र राम्रा कार्यालय नै वित्तीय संस्थाका हुने गरेका छन् । अन्तरराष्ट्रिय स्तरमा बैंकिङ प्रणालीमा भएका असल अभ्यासको सिको भइरहेको छ । प्रविधिको विकासले असल अभ्यासलाई मात्र सहयोग पुर्‍याएको छैन, प्रविधि भित्र्याउन पनि उत्तिकै योगदान छ । बैंक तथा वित्तीय संस्थाको विकासले गर्दा अहिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकारभन्दा वित्तीय क्षेत्रको आकार ठूलो बन्न सकेको छ ।  राज्यले अब प्रादेशिक सन्तुलन मिलाउने गरी रूपान्तरणकारी परियोजना ल्याउनुपर्छ । ठूलो परिवर्तन ल्याउने गरी ठूला आकारका परियोजना सञ्चालन हुनैपर्छ । अब ६ प्रदेशमा जलविद्युत् र मधेशमा अन्य कुनै ठूलो आयोजना बनाउन सकिन्छ ।   दुई दशकको अवधिमा बैंक तथा वित्तीय संस्थाको गुणस्तरीय विकाससँगै भएको अर्को उपलब्धि निजीक्षेत्रको विकास पनि हो । २०५७/५८ सालमा निजीक्षेत्रको राष्ट्रिय आयमा पूँजी निर्माणको अंश करीब १५ प्रतिशत थियो । अहिले त्यो बढेर २२ प्रतिशत हाराहारी पुगेको छ । र, नेपालमा भएको कुल पूँजी निर्माणमा निजीक्षेत्रको अंश ७४ प्रतिशत छ । बाँकी अंश सरकार र सहकारी क्षेत्रको हो । अब सरकारले चाहेर पनि निजीक्षेत्रलाई बेवास्ता गर्न नमिल्ने भएको छ । निजीक्षेत्र सुव्यवस्थित हुँदै गएको छ । निजीक्षेत्रका तीनओटा छाता संगठन (एफएनसीसीआई, चेम्बर अफ कमर्स, सीएनआई) ले अर्थतन्त्रको विकासका लागि व्यवस्थित रूपमा बाटो देखाउने काम गरिरहेका छन् । आर्थिक नीति र योजना बनाउन हिजो सरकारले मात्र अग्रसरता लिन्थ्यो । आज त्यो काम निजीक्षेत्रले पनि गर्दै छ । देश विकासका लागि निजीक्षेत्रले आफ्नो दृष्टिकोण दिन सफल भएको छ ।  वित्तीय क्षेत्रको विकासका लागि बाहेक निजीक्षेत्रले शिक्षा, स्वास्थ्य, हवाई, पर्यटन, सेवा, यातायात क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यस कारण २० वर्षमा अर्थतन्त्रमा आएको सकारात्मक परिवर्तनको अर्को पाटो वैदेशिक लगानीमा भएको सुधार हो । यतिखेर प्रत्यक्ष वैदेशिक लगानीको सञ्चिति रकम २१८ अर्ब रुपैयाँ पुगेको छ । जुन जीडीपीको ५ प्रतिशतभन्दा बढी हो । जुन २० वर्ष पहिले थिएन । यद्यपि नेपालले सन् १९५२/५३ देखि वैदेशिक लगानी लिन थालेको हो ।  ९० को दशकमा तीव्र गतिमा उत्पादनमूलक, खानी तथा उत्खननको क्षेत्रमा उल्लेख्य मात्रामा वैदेशिक लगानी प्राप्त भयो । खासगरी सिमेन्ट उद्योगमा धेरै वैदेशिक लगानी आयो । यस अवधिमा जलविद्युत्, वित्तीय क्षेत्रमा पनि वैदेशिक लगानी आयो । जुनजुन क्षेत्रमा वैदेशिक लगानी प्राप्त भयो ती क्षेत्र आधुनिक भए । उदाहरणका लागि वित्तीय क्षेत्रलाई नै लिन सकिन्छ । वित्तीय क्षेत्र आधुनिकीकरण हुनुमा वैदेशिक लगानीको योगदान छ । स्ट्यान्डर्ड चार्टर्ड, इन्डोस्वेज, नबिल बैंकमा शुरुआती चरणमा वैदेशिक लगानी आयो । त्यसपछि थप पाँच बैंकमा विदेशी लगानी भित्रियो । आठओटा वाणिज्य बैंकमा ज्वाइन्ट भेन्चर्सका रूपमा विदेशी लगानी आयो । वैदेशिक लगानीसँगै वित्तीय प्रविधि पनि भित्रियो । वित्तीय क्षेत्रमा वैदेशिक लगानी भित्रिएपछि नेपालको निजीक्षेत्र बैंक स्थापना गर्न उत्साही भयो । निजीक्षेत्रको लगानीमा २१ वाणिज्य बैंक सञ्चालनमा आए ।  २० वर्षको अर्को महत्त्वपूर्ण परिवर्तन वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै विप्रेषण आप्रवाहको वृद्धि हो । २०५४ सालअघि राहदानी काठमाडौंमा मात्र बन्ने गथ्र्यो । जब तत्कालीन सरकारले २०५४ मङ्सिरदेखि जिल्ला तहबाट पनि राहदानी वितरण गर्ने नीति लियो, त्यसयता गाउँगाउँमा राहदानी लिनेको संख्या ह्वात्तै बढ्यो । त्यसअघि वैदेशिक रोजगारीमा हजारको संख्या जाने गर्थे । पछिल्लो समय लाखको संख्यामा जान थाले ।  तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो । विदेशमा जाने संख्या बढेसँगै जबर्जस्त अर्थतन्त्रमा विप्रेषणको प्रभाव पर्न थाल्यो । अहिले जीडीपीको तुलनामा साढे २२ प्रतिशत विपे्रषण भित्रिने गरेको छ । यो देशबाहिरको वित्तीय स्रोत हो । केही वर्षमै नेपालले पर्याप्त विदेशी विनिमय स्रोतको विकास गर्‍यो । यसले व्यापक रूपमा नेपालीको जीवनस्तर परिवर्तन गरेको छ । ९० को दशकमा ४२ प्रतिशत जनता गरीबीको रेखामुनि थिए । अहिले त्यो घटेर १८ प्रतिशतमा झरेको छ । नेपालको आन्तरिक प्रयासले मात्र यो सम्भव थिएन । नेपालीले विदेशमा काम गर्ने अवसर नपाएको भए गरीबी घट्नेवाला थिएन ।  नेपालले गुमाएको मौका यस अवधिमा नेपालले कैयौं मौका गुमाएको पनि छ । खासगरी युवा जनशक्तिबाट नेपालले लाभ लिन सकेन । युवाशक्तिलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकेको भए नेपालले प्रगति गर्ने धेरै सम्भावना थियो । यो अवधिमा बढेको जनताको चेतनास्तर देश विकासमा प्रयोग हुन सकेन । युवाको चेतना खाडी मुलुक र मलेशियामा पुगेर बिलाएको छ । युवाले दबाब दिन नसक्दा नेपालको आर्थिक र भौतिक प्रगति हुन सकेन । वैदेशिक रोजगारीको साटो ती युवा नेपालमा भएको भए देश विकासका लागि दबाब सृजना गर्थे । देशमा प्रगति हुन नसक्दा अहिलेको युवा पुस्ता निराश छ । सीमित व्यक्तिले राजनीतिमा कब्जा जमाउँदा झनै निराशा छाएको छ । नेपाली राजनीतिमा प्रतिस्पर्धा हुन नसक्नु अर्को समस्या हो ।  त्यस्तै शिक्षा र स्वास्थ्यमा निजीक्षेत्र आए पनि हुनुपर्ने जति सुधार देखिएको छैन । सरकारले शिक्षा र स्वास्थ्यमा विनियोजन गरेको बजेट राम्रोसँग प्रयोग हुन सकेको देखिँदैन । सरकारी स्कूलमा राम्रो शिक्षा छैन । सरकारी स्कूल र कलेज सुषुप्त अवस्थामा छन् । यस्तो अवस्था देख्दा अब सरकारी शिक्षा र स्वास्थ्य संस्था लुप्त हुन्छन् कि भन्ने चिन्ता छ । सरकारी, सामुदायिक शिक्षण संस्था दुरवस्थामा आइपुगेका छन् । सरकारी अस्पतालको गुणस्तरमा सुधार नहुँदा उपचार नपाएर मर्नुपर्ने अवस्था छ । विद्यमान शिक्षा र स्वास्थ्य सेवाको संरचनाले गर्दा नेपाली समाज विभाजित जस्तो छ । एकथरी समूह दु:खैदु:खको अवस्थामा छन् भने अर्कोथरी वर्गलाई दु:ख, पीडाको वास्ता छैन । उनीहरू सधैं सुकिलामुकिला हुने गरेका छन् । पछिल्लो समयमा जलविद्युत्बाहेक अन्य क्षेत्रमा वैदेशिक लगानी आउन नसकेकाले पनि केही न केही समस्या छ भन्ने बुभ्mनुपर्छ । नेपाली अर्थतन्त्रलाई आधुनिकीकरण तथा पछिल्लो समयमा देखिएको विदेशी मुद्रा सञ्चितिको समस्या घटाउन वा पूर्ति गर्न पनि वैदेशिक लगानी आवश्यक छ । अर्थतन्त्रको भविष्य सुनिश्चित गर्ने हो भने आगामी दिनमा वैदेशिक लगानीलाई जोड दिनुपर्छ । व्यापारघाटा न्यूनीकरण गर्न वैदेशिक लगानी भित्र्याउनुपर्छ । २० वर्षयता पूर्वाधारका ठूला आयोजनाको पहिचान भएको छ । यस्ता आयोजनाले आर्थिक रूपान्तरणको काम गर्न सक्छन् । कतिपय आयोजना पूरा पनि भएका छन् । १५–२० वर्षअघि पहिचान भएका गौरवका आयोजना कार्यान्वयन गर्न सक्ने हो भने आर्थिक विकासमा निकै प्रगति हुन्छ । उदाहरणका लागि पश्चिम सेतीलाई लिन सक्छौं । पश्चिम सेती बनेको भए यतिखेर सुदूरपश्चिममा कायापलट भइसक्थ्यो । त्यस्तै १२०० मेगावाटको बूढीगण्डकी बनेको भए ऊर्जामा निकै सुरक्षा हुन्थ्यो । ऊर्जामा सुरक्षित हुनेबित्तिकै समग्र अर्थतन्त्रमा आउने रौनक फरक हुन्थ्यो ।  नकारात्मक पक्ष २० वर्षको अवधिमा भएका नकारात्मक अवस्थालाई केलाउँदा शिक्षा र स्वास्थ्य अग्रस्थानमा आउँछन् । समाजमा शैक्षिक असमानता सृजना भएको छ । सरकारी शिक्षण संस्थाको सिकाइ कमजोर साबित भएको छ । निजी र सरकारी शिक्षण संस्थाका कारण असमानताको खाडल बढेको हो । त्यस्तै सरकारी अस्पताल पनि दुरवस्थामा छन् । निजीक्षेत्रको उदयपछि शिक्षा र स्वास्थ्य महँगो भएको छ । वित्तीय क्षेत्रको स्रोत सीमित व्यक्तिको हातमा पुग्नु पनि यस अवधिको अर्को नकारात्मक पक्ष हो । समग्रमा हेर्दा वित्तीय क्षेत्रको राम्रो विकास भए पनि गरीब वर्गले त्यस्तो प्रगतिबाट लाभ लिन सकेन । गरीब वर्गलाई वित्तीय पहुँच पुर्‍याउन गाउँगाउँमा विकास बैंक, वित्त कम्पनी स्थापना हुनुपर्छ । त्यस्तै विप्रेषणबाट प्राप्त स्रोतमा सीमित व्यक्तिको हालीमुहाली हुनु अर्को नकारात्मक पक्ष हो । खाडी मुलुकमा कमाउने एउटा वर्ग र हालीमुहाली अर्को वर्गले गर्दा समाजमा असमानता सृजना भएको छ । यसले नेपाली अर्थतन्त्रलाई कदापि राम्रो गर्दैन । विप्रेषण सदुपयोगका लागि पनि सरकारी स्तरबाट नीति आउन सकेनन् ।  पछिल्लो समयमा उद्योग क्षेत्र थप खस्किनु अर्को नकारात्मक पक्ष हो । अहिले उत्पादनमूलक क्षेत्रको जीडीपीमा योगदान ५ प्रतिशतमा झरेको छ । जसले नेपालमा रोजगारीका अवसर, उद्यमशीलता र आधुनिकीकरणको विस्तार हुन सकेन । यस अवधिमा उत्पादनमूलक क्षेत्रमार्फत अर्थतन्त्रको रूपान्तरण, उद्यमशीलताको विस्तार तथा रोजगारीका अवसर प्रदान गरी व्यापारघाटा न्यूनीकरण गर्ने सम्भावना थियो । त्यसो हुन सकेन । व्यापारघाटा र उच्च आयात बढ्दै जानु यस अवधिका थप नकारात्मक पक्ष हुन् । यस्तो क्रम बढ्दै गएर जीडीपीमा व्यापारघाटाको ३२ र आयातको अंश ३६ प्रतिशत पुगेको छ । यो अर्थतन्त्रले धान्नै नसक्ने स्थिति हो । यसले गर्दा विप्रेषणमार्फत प्राप्त भएको वैदेशिक स्रोत मुलुकमा टिक्न सकेन । विदेशमा काम गर्नेमार्फत प्राप्त भएको वैदेशिक स्रोत आयातमार्फत पुन: विदेशमै फर्कियो । उच्च आयातका कारण विप्रेषण देश विकासमा प्रयोग हुन सकेन ।  काठमाडौं वरिपरि मात्र भौतिक पूर्वाधारका ठूला परियोजना बन्नु अर्को नकारात्मक पक्ष हो । सन् १९९० को दशकमा दुर्गममा विकास गर्नुपर्छ भन्ने होड थियो । तर, बहुदलीय व्यवस्था आएपछि दुर्गममा ठूला परियोजना निर्माण भएको देख्न पाइएको छैन । उदाहरणका लागि उत्तर–दक्षिण कोरिडोरलाई नै लिन सकिन्छ । काठमाडौंदेखि टाढा भएकाले होला उत्तर–दक्षिण कोरिडोरको प्रगति सन्तोषजनक छैन । निर्माण कार्य निकै सुस्त छ । काठमाडौं वरिपरिका भौतिक पूर्वाधार भने धमाधम भइरहेका छन् । काठमाडौंमा विकास हुनु हुँदैन भन्ने होइन, तर देशभरि विकासको सन्तुलन मिलाउन आवश्यक हुन्छ । सन्तुलन मिल्न सकेन भने समाजमा विभाजन हुन्छ । यस्तै अवस्थाले कर्णाली र सुदूरपश्चिमका नागरिक निकै थोरै पारिश्रमिकमा जीवन निर्वाहका लागि भारतको रोजगारीमा जान बाध्य छन् । यतिखेर वैदेशिक लगानी ल्याउन नसक्नु राज्यको अर्को असफलता हो ।  अबको बाटो राज्यले अब प्रादेशिक सन्तुलन मिलाउने गरी रूपान्तरणकारी परियोजना ल्याउनुपर्छ । ठूलो परिवर्तन ल्याउने गरी ठूला आकारका परियोजना सञ्चालन हुनैपर्छ । अब ६ प्रदेशमा जलविद्युत् र मधेशमा अन्य कुनै ठूलो आयोजना बनाउन सकिन्छ । ६ प्रदेशमा जलविद्युत् आयोजना बनाउन सक्ने सम्भावना छ । यसो गर्न सक्यो भने दुर्गमको विकास हुन्छ । एउटा परियोजनामा ४०–५० करोड रुपैयाँ छुट्ट्याएर काम थाल्ने हो भने यसले राम्रो नतीजा दिन्छ । वैदेशिक लगानी जुटाउन पनि सहज हुन्छ । चालू खाताको ४१३ अर्ब घाटालाई कम गर्न पूँजी, वित्तीय खाताबाट त्यसलाई पूर्ति गर्न सकेको भए वित्तीय तनावको अवस्था आउँदैनथ्यो । अबको कार्यदिशा स्वदेशी बचतले मात्र पुग्दो रहेनछ भन्ने बुझेर काम गर्नुपर्छ । सन् २०२६ पनि हामी विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएका कारण यूरोपेली मुलुकबाट पाउने अनुदान घट्ने देखिन्छ । त्यति बेला खर्च चलाउन बजारबाट महँगो कर्जा लिनुपर्ने हुन्छ । यही परिवेशलाई हेर्ने हो भने वैदेशिक लगानी सुधार हुनैपर्छ । वैदेशिक लगानी आउन नसक्नुका कारण लगानी लिने प्रक्रिया निकै झन्झलिटो भएकाले हो । सिमेन्ट उत्पादनका लागि आएको डंगोटे फर्केर जानुका पछाडि झन्झटिलो प्रक्रिया एउटा प्रमुख कारण हो । वैदेशिक लगानी ल्याउन भारतको जस्तो प्रक्रिया नेपालले अपनाउन सक्छ ।  त्यस्तै कम्तीमा ५ करोड रुपैयाँ लगानी गर्नैपर्ने नीतिलाई संशोधन गर्नुपर्छ । विदेशमा रहेका नेपालीले १–२ करोड लगानी गर्न चाहन्छन् तर ५ करोडको व्यवस्थाले समस्या बनाएको छ । विदेशमा रहेका नेपालीको एक पुस्ताले ५ करोड त कमाउन सक्दैन । नेपालमा अहिले गरिएको व्यवस्थाअनुसार लगानी ल्याउन विदेशमा बस्ने नेपालीको ४–५ पुस्ताले रकम जम्मा गर्नुपर्छ । वैदेशिक लगानी सहज बनाउन अहिले गर्नुपर्ने अर्को काम अनलाइन रजिस्ट्रेशनको व्यवस्था, डिजिटल हस्ताक्षरको प्रयोग तथा सबै प्रक्रियाका लागि एकद्वार प्रणालीको विकास हो । कृषिक्षेत्रमा पनि वैदेशिक लगानी खुला गर्नुपर्छ । परम्परागत कृषिले आम्दानी हुन सकेन । त्यसैले कृषिमा वैदेशिक लगानी चाहिएको छ । सरकारले मल, पानी, बीउको व्यवस्था गरेर मात्र हुँदैन । कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरणको व्यवस्था गर्न लगानी चाहिएको छ ।  (रुद्र खड्कासँगको कुराकानीमा आधारित)

सम्बन्धित सामग्री

‘नबिल ग्रीन विक’ नारासहित दिगो बैंकिङ वार्षिकी मनाउँदै नबिल बैंक

नबिल बैंकले नबिल ग्रीन विक नारासहित दिगो बैंकिङ वार्षिकोत्सव मनाउँदैछ । बैंकले गत २०७८ असार १५ गते शुरु गरेको नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताका साथ पहिलो वर्ष पुरा गरेको अवसरमा सो कार्यक्रमको वार्षिकी मनाउन लागेको हो । असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर बैंक नबिल ग्रीन विक नारा तय गर्दै यसपटकको वार्षिकी मनाउन लागेको हो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन ग

पोखरा फाइनान्सको २५ औं वार्षिकोत्सव

पोखरा फाइनान्सले २५औं वार्षिकोत्सव मनाएको छ ।कास्कीको न्यूरोडमा प्रधानकार्यलय रहेको यस वित्तीय संस्थाले २०५३ सालदेखि कारोबार सुरु गरेको हो । नेपालभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स राष्ट्रिय स्तरको एक स्थापित पुरानो वित्तीय संस्था रहेको कम्पनीको दावी छ ।स्थापनाकालको २५औं वर्षसम्म आइपुग्दा संस्थाले ठूलो संख्यामा ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वका […]

पोखरा फाइनान्सले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । कास्कीको पोखरामा मुख्य कार्यालय रहेको पोखरा फाइनान्सले २५ औं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालको २५ औ वर्षसम्म आइपुग्दा संस्थाले अत्याधुनिक बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वमा सहभागी भई विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी १५० करोड छ भने चुक्ता पुँजी १.०४ अर्ब रहेको छ । वार्षिकोत्सव अवसरमा प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

सेञ्चुरी बैंकले मनायो ११औं वार्षिकोत्सव

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।एघारौं वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्षअघि सरल बैंकिङ सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पुँजी व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गर्दै बैंक आगामी दिनमा ग्राहकलाई अझ […]

सेञ्चुरी बैंकले मनायो ११औं वार्षिकोत्सव

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्षअघि ‘सरल बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जनालगायत सबै हिसाबमा ठूलो र […]

सिभिल बैंकले मनायो ११ औं वार्षिकोत्सव, विविध कार्यक्रमहरू आयोजना

सिभिल बैंक एघारौँ वर्षमा प्रवेश गरेको छ ।  बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरी एघारौँ वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा वार्षिकोत्सव मनाइएको हो ।  बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरूमा समेत बिभिन्न कार्यक्रमहरू आयोजना गरेको छ ।  बैंकको प्रधान कार्यालयमा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर स...

माछापुच्छ्रे बैंकले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा बैंकमा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा १० दिने क्यासब्याक अफर अवधि समापन भएको छ । योजनाअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस वा ई–कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक २ सय १० र अफर अवधिभर अधिकतम २ हजार १०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्ने व्यवस्था थियो । क्यास ब्याकका अतिरिक्त ग्राहकले दैनिक उपहार जित्न सक्ने प्रावधान छ । डेबिट र  क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकमध्येबाट एक जनाले मेगा बम्पर उपहारस्वरूप फोन पेका तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्छन् । बैंकले वार्षिकोत्सव अवसरमा नियामक निकाय, ऋणी, ग्राहक सबैलाई आउँदा दिनमा थप गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ ।

ग्रीन डेभलपमेन्टले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा पोखरा महानगरपालिका–२८ स्थित रत्नशोभा माविमा वृक्षारोपण गर्नुका साथै उक्त विद्यालयका विद्यार्थी र शिक्षकलाई शुद्ध पानी पिउन युरोगार्डसमेत हस्तान्तरण गरेको छ । बैंक सञ्चालक कृष्णशंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्जा विभाग प्रमुख हरिबहादुर बुढाथोकीले वार्षिकोत्सव अवसरमा सामाजिक गतिविधिअन्तर्गय यो कार्यक्रम गरिएको बताए । विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले वृक्षारोपण र युरोगार्ड हस्तान्तरणका लागि  विद्यालयलाई छनोट गरेकामा धन्यवाद दिए । कार्यक्रममा वडा नम्बर २८ का वडा सदस्य विष्णुप्रसाद तिवारीले बैंकलाई नाफा कमाउने मात्र नभई सामाजिक कार्यमा सरिक हुनु सकारात्मक भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै छरिएर रहेको पुँजीलाई एकीकृत गरी स्थानीय स्तरमै सञ्चालित उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै  आएको बताए । बैंकले हाल कास्की, बाग्लुङ, म्याग्दी र नवलपुरका विभिन्न १३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स आइतबारदेखि १९ वर्ष पूरा गरी २० औं वर्ष प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा विभिन्न संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा क्षेत्रपाटीस्थित छत्रपाटी चिकित्सालयलाई अक्सिजन प्लान्ट स्थापनामा सहयोग पु¥याउन काठमाडौं महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धरको उपस्थितिमा चिकित्सालयका कोषाध्यक्ष सजनी जोशीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सहयोग रकमको चेक हस्तान्तरण गरे । यस्तै, ललितपुरको बुङमतिमा रहेको अपांग सेवा संघलाई तीन वर्षदेखि खाद्यान्न अनुदान उपलब्ध गराउँदै आएकामा सो अनुदान थप एक वर्षका लागि दिने गरी संस्थाका अध्यक्ष दयाराम महर्जनले सम्झौता गरेका छन् । हाल कम्पनीले निक्षेप ६ अर्ब २१ करोड, चुक्ता पुँजी ८६ करोड ४० लाख र कर्जा ४ अर्ब ६० करोड प्रवाह गरी ०७७ चैत मसान्तसम्म १० करोड ८४ लाख सञ्चालन मुनाफा आर्जन गरेको कार्यक्रममा जानकारी दिइयो । हाल संस्थाले २१ वटा शाखा र दुई वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ भने आधुनिक बैंकिङ सेवाअन्तर्गत  एटिएम, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, लकर सुविधा, आईपीएस/कनेक्ट आईपीएस, सि–आस्वा, रेमिटलगायत सेवा सञ्चालन गरिरहेको छ ।