काठमाडौं (अस) । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा पोखरा महानगरपालिका–२८ स्थित रत्नशोभा माविमा वृक्षारोपण गर्नुका साथै उक्त विद्यालयका विद्यार्थी र शिक्षकलाई शुद्ध पानी पिउन युरोगार्डसमेत हस्तान्तरण गरेको छ ।
बैंक सञ्चालक कृष्णशंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्जा विभाग प्रमुख हरिबहादुर बुढाथोकीले वार्षिकोत्सव अवसरमा सामाजिक गतिविधिअन्तर्गय यो कार्यक्रम गरिएको बताए । विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले वृक्षारोपण र युरोगार्ड हस्तान्तरणका लागि विद्यालयलाई छनोट गरेकामा धन्यवाद दिए । कार्यक्रममा वडा नम्बर २८ का वडा सदस्य विष्णुप्रसाद तिवारीले बैंकलाई नाफा कमाउने मात्र नभई सामाजिक कार्यमा सरिक हुनु सकारात्मक भएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै छरिएर रहेको पुँजीलाई एकीकृत गरी स्थानीय स्तरमै सञ्चालित उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको बताए । बैंकले हाल कास्की, बाग्लुङ, म्याग्दी र नवलपुरका विभिन्न १३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।