काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि जेठ २६ गते एकै दिन साधारण सभा आव्हान गरेका छन् । प्रभु लाइफले विशेष साधारण सभा आयोजना गर्न लागेको हो भने महालक्ष्मी लाईफले पाँचौ वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो ।
महालक्ष्मी लाईफले विहान ११ बजे होटल अकामा, धुम्बारही, काठमाडौंमा सभा गर्न लागेको हो भने प्रभु लाइफले विहान ११ बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा सभा गर्न लागेको हो । महालक्ष्मी लाईफले प्रभु लाइफसँगैका मर्जर प्रस्तावका लागि तय भएको १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमतिलाई सभामार्फत स्वीकृति प्रदान गर्नेछ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै मर्जरका लागि आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय समेत महालक्ष्मी लाईफको सभाले गर्नेछ ।
त्यस्तै प्रभु लाइफले मर्जर सम्बन्धी आवश्यक प्रस्तावसँगै प्रस्तावित लाभांश समेत सभामार्फत पारित गर्नेछ । प्रभु लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ९ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ ।
प्रभु लाइफले यस वर्षको लाभांश प्रस्ताव संशोधन गरेको हो । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो । यस अघि कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा १० दशमलव ५२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । प्रभु लाइफले भने सभा प्रयोजनका लागि जेठ १२ गते एक दिन बुक क्लोज गर्दैैछ । बुक क्लोको आधारमा जेठ ११ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच २०७९ असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।