माघ २८, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ११ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड २२ लाखमा झरेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ९ करोड ४२ लाखमा सीमित भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडामा रू. २० करोड २१ लाख र बीमा कोषमा रू. ६४ करोड ३० लाख सञ्चित गरेको छ ।
त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ८४ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४२ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ४९ (वार्षिक), मूल्य आम्दानी अनुपात ८१ दशमलव शून्य २ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ५४ रहेको छ ।