नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट ठेक्का प्रकरणमा मुछिएपछि दाहालले पर्यटन सचिव महेश्वर न्यौपाने समक्ष राजीनामा बुझाएका हुन् । मन्त्रालयले उक्त ठेक्का प्रकरणमा कार्यकारी निर्देशकको मिलेमतो रहेको देखाएपछि दाहालले पदबाट राजीनामा दिएका हुन् । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै ठेक्का प्रक्रियामा प्रश्न उठाएको थियो । लुइँटेल नेतृत्वको समितिले बतास समूहले नारायणहिटीको दक्षिण गेट नजिकै बनाएको पूर्वाधार भत्काइएको तर, बतास अन्तर्गतकै वि म्यानेजमेन्ट प्रा.लि.ले क्यान्टिन र क्याफ्टेरिया सञ्चालन गर्न प्रयोग गर्न पाउने जग्गा र त्यसको क्षेत्रफलको यकिन नगरी ठेक्का लगाईएको निष्कर्ष निकालेको छ ।