व्यापारघाटाको आँकडा उच्च दरले बढिरहेको सन्दर्भमा नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात हुनु सकारात्मक खबर हो । निर्यातको परिमाण कम भए पनि विकसित देशहरूमा समेत जुत्ता निर्यात हुँदा यसले थप निर्यातको सम्भावनालाई देखाएको छ ।
विदेशी कच्चा पदार्थ, विदेशी कामदार राखेर नेपाली उत्पादनले विश्वबजारसँग प्रतिस्पर्धा गर्न पक्कै पनि सहज हुनेछैन । अतः यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन अनुसन्धान र विकासका लागि सरकारले समेत प्राविधिक र वित्तीय सहयोग गर्नुपर्ने देखिन्छ ।
निर्यात र आयातबीच रहेको ठूलो खाडलका कारण मुलुकमा विदेशी विनिमय सञ्चितिमा तीव्र दबाब परेको छ । यसलाई सन्तुलनमा राख्न सरकारले विभिन्न किसिमका नियन्त्रणात्मक उपाय अवलम्बन गरेको छ जुन क्षणिक मात्रै हुन् । कुल विदेशी विनिमयमा विप्रेषणको योगदान झन्डै ५६ प्रतिशत रहेको छ भने विदेशी अनुदानको ११ प्रतिशत । पर्यटनको योगदान १० प्रतिशत हाराहारी रहेको तथ्यांक पाइन्छ । त्यस्तै निर्यातको योगदान ७ प्रतिशत हाराहारी छ ।
विप्रेषणको योगदान बढी छ तर सबैभन्दा अनिश्चित स्रोत यही हो । त्यसैले विप्रेषणको विकल्प खोज्न ढिला भइसकेको छ । आयात घटाउन तथा निर्यात बढाउन स्वदेशी उत्पादन बढाउनुको विकल्प छैन । यस्ता विकल्पमध्ये जुत्ता पनि एउटा सम्भावनाको क्षेत्र बनेर देखापर्नु सकारात्मक हो । अहिले वार्षिक ५० लाखभन्दा बढी जोर जुत्ता विदेश निर्यात भइरहेको छ । तर, नेपाली जुत्ताले मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन । नेपालमै मलेशिया, चीन आदि मुलुकबाट आयात भएका जुत्तासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ । ती देशमा सरकारी सहयोग तथा त्यहाँका कामदारको उत्पादकत्व क्षमताका कारण करीब २/३ डलरमा जुत्ता तयार हुने र ती जुत्ता प्रतिस्पर्धी बजारमा पुग्दा १३/१४ डलरमा विक्री हुने गरेको बताइन्छ । नेपाली जुत्ता त्यहाँ पुग्दा झन्डै २५ डलर पर्ने भएकाले ती देशमा प्रतिस्पर्धामा टिक्न सक्ने देखिँदैन । यद्यपि थोरै परिमाणमा भए पनि नेपाली जुत्ता निर्यात भने भइरहेको छ । भारतीय बजारमा भने ठूलो परिमाणमा निर्यात भइरहेको छ । नेपाली जुत्ताले सम्भावित प्रतिस्पर्धालाई ध्यान दिएर आफ्नो उत्पादन रणनीति तयार नगरे भोलिका दिनमा समस्या नपर्ला भन्न सकिँदैन ।
हो, पछिल्लो समय नेपाली जुत्ताको गुणस्तरमा सुधार आएको छ । आधुनिक डिजाइनका जुत्ता बन्न थालेका छन् । तर, जुत्ता उत्पादनमा अनुसन्धान र विकासको काम भएको पाइँदैन । त्यस्तै तालीम केन्द्र पनि छैन । उत्पादनमा स्थानीय कच्चा पदार्थको प्रयोग पनि भएको छैन जसले गर्दा यसको अपवार्ड र डाउनवार्ड लिन्केज बलियो देखिँदैन । यसका लागि व्यवसायीको प्रयासले मात्र पुग्दैन । त्यसैले यसमा निजीक्षेत्र र सरकारको साझेदारी आवश्यक देखिन्छ ।
व्यवसायीहरूले जुत्ताको बजार रणनीति तय गर्दा प्रतिश्रमिक उत्पादकत्व बढाउने उपाय खोज्नुपर्छ । त्यस्तै नेपाली श्रमिकलाई नै तालीम दिएर यसमा लगाउनुपर्छ । ५० हजार श्रमिकले काम गरिरहेको यस क्षेत्रमा ७० प्रतिशत कामदार भारतीय छन् । विदेशी कच्चा पदार्थ, विदेशी कामदार राखेर नेपाली उत्पादनले विश्वबजारसँग प्रतिस्पर्धा गर्न पक्कै पनि सहज हुनेछैन । अतः यसलाई प्रतिस्पर्धी बनाउन अनुसन्धान र विकासका लागि सरकारले समेत प्राविधिक र वित्तीय सहयोग गर्नुपर्ने देखिन्छ । अन्यथा, गलैंचा, गार्मेन्ट, पश्मिना आदि वस्तुको निर्यातले भागेको नियति यसले पनि नभोग्ला भन्न सकिँदैन ।
आन्तरिक बजारमा नेपाली जुत्ताले राम्रो स्थान पाउन थालेको छ । यसो हुनुमा मूल्य र डिजाइन प्रतिस्पर्धी हुनु नै हो । तर, गुणस्तर र ब्रान्डिङसमेत गर्न सके आन्तरिक बजारमा यसको बलियो उपस्थिति हुन सक्छ । आन्तरिक बजार राम्रोसँग लिएको वस्तुलाई निर्यात गर्न पनि सहज हुन्छ । चीन, मलेशिया आदि देशले ठूलो परिमाणमा जुत्ता उत्पादन गर्ने भएकाले लागत निकै सस्तो पर्छ । तर, त्यो परिमाणमा नेपाली जुत्ता उत्पादन गर्न कठिन हुन्छ । त्यसैले लागत घटाउन सरकारी सहयोग आवश्यक परेको हो ।
नेपालका केही उत्पादनले राम्रो ब्रान्डको परिचय बनाउन सकेको पाइन्छ । हिमालय पेट सप्लाई, कोबोल्ड घडी, शेर्पा एडभेन्चर, गुर्खा लेदर, यार्चागुम्बा ह्वीस्की जस्ता विश्वकै महँगा ब्रान्ड पनि नेपालको नामबाट नचिनिएका होइनन् । पछिल्लो समय नेपाली उपभोक्तालाई लक्षित गरेर ब्रान्ड पहिचानका वस्तु उत्पादन हुन पनि थालेका छन् । त्यसैले जुत्ताको विदेश निर्यातमा पनि प्रशस्त अनुसन्धान गरी नयाँ बजार रणनीति लिन आवश्यक देखिन्छ ।