काठमाडौं। नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट र लगानीको हिसाबले सम्भाव्य ४२ हजार मेगावाटलाई आधार मान्दा सबैजसो आयोजना कुनै न कुनै हिसाबमा विकासको विभिन्न चरणमा पुगेका छन् । तर, ३० हजार मेगावाट उत्पादन सम्भावना रहेको सोलारमा अहिलेसम्म हजार मेगावाटका आयोजना मात्रै विकासको विभिन्न चरणमा छन् । त्यसबाहेक व्यक्तिगत रूपमा घरायसी प्रयोजनका लागि राखिएका सिंगल सोलार प्यानलको संख्या पनि घट्दो क्रममा छ ।
जलविद्युत् उत्पादन भने हरेक वर्ष बढिरहेको छ । अहिले नेपालमा जलविद्युत्को जडितक्षमता ३ हजार मेगावाट पुगेको छ । २/३ वर्षअघि जडितक्षमता १२/१५ सय मेगावाट मात्रै हुँदा नियमित विद्युत् पाउने सर्वसाधारणले उत्पादन बढेपछि भने झन् धेरै हैरानी पाइरहेका छन् ।
विगतमा समय तोकेर यतिदेखि यतिबजेसम्म विद्युत् आपूर्ति हुँदैन भन्ने लोडशेडिङ तालिका निकालिन्थ्यो । उक्त समयमा वैकल्पिक ऊर्जाका लागि भन्दै सोलार र इन्भर्टरको जोहो गरिएको हुन्थ्यो । २०७४/७५ पछि क्रमश: लोडशेडिङ अन्त्य हुँदै गएपछि अहिले सीमित व्यक्तिबाहेक धेरैले सोलार र इन्भर्टर राखेका छैनन् । विद्युत् उत्पादन क्षमता बढेर दोब्बर भए पनि यसको आपूर्ति भने झन् झन् खस्किँदै गएको छ । जडित उत्पादन क्षमता १५ सय मेगावाट मात्र हुँदा सहजै विद्युत् आपूर्ति पाइरहेका उपभोक्ताले बिजुलीको उत्पादन बढ्दै जाँदा त्यसको सजाय पाउँदै गएको भान हुन्छ ।
झ्याप्प झ्याप्प बत्ती जानु, पंखा, एसी, मोटरलगायत धेरै बिजुली खपत गर्ने उपकरण चलाउन पावर नपुग्नु त कहिले हाई भोल्टेज विद्युत् आपूर्ति भएर घरको सबै बिजुलीको सिस्टम नै बिग्रिनु अहिले आम समस्या भइसकेको छ ।
विकसित देशमा कोइलाको अभाव भई उत्पादनमा कमी आउँदा नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेको छ । तर, उनीहरूले विद्युत् आपूर्तिमा कमी हुँदै छ भन्ने संकेत पाउनेबित्तिकै आफ्नो घरको बिजुली माग आफै धान्ने गरी वैकल्पिक व्यवस्था गर्न शुरू गरिसकेका छन् । अर्थात् उनीहरूले घरको छानोमा सोलार प्यानल राखेर आफूलाई चाहिने विद्युत्को जोहो आफै गरिरहेका छन् । नेपालमा पनि बिजुलीको गुणस्तरमा सुधार आएन भने ७/८ वर्षअघि नेपालमा राम्रै व्यापार भइरहेको सोलारको माग फेरि पनि बढ्न सक्ने ऊर्जाक्षेत्रका जानकार बताउँछन् ।
विगतको भन्दा परिष्कृत सोलार प्यानलका कारण अहिले थोरै खर्चमा पनि आफूलाई चाहिने विद्युत् आफै जोहो गर्न सकिने अवस्था छ । हिजोका दिनमा एउटा घरको छतभरि सोलार राख्दा पनि आफैलाई नपुग्ने बिजुली उत्पादन हुन्थ्यो । तर, अहिले छतभर होइन घरको एउटा कुनामा मात्रै सोलार राख्दा पनि घरलाई पुग्ने बिजुली उत्पादन गर्न सक्ने प्रविधि विकास भइसकेको छ । यो वर्ष जलवायु परिवर्तनका कारण विश्वभरको तापक्रम बढेको छ । तापक्रम बढ्नु भनेको स्वत: ऊर्जाको माग पनि बढ्नु हो । नेपालमा पनि भरपर्दो वितरण प्रणाली भइदिएको भए पंखा राखेको परिवारले एसी राख्न सक्थे भने ग्यास विस्थापित गरेर विद्युतीय चूल्होमा खाना पकाउन सक्थे । तर, वितरण प्रणालीमा सुधार आउने कुनै संकेतसम्म नदेखिएकाले अब सर्वसाधारणले फेरि सोलार प्यानल राखेर भए पनि विद्युतीय चूल्होमा खाना पकाउन सक्ने जानकार बताउँछन् ।
नेपालमा सोलारको अवस्था
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालका ६६ लाख ६० हजार ८४१ घरधुरीमध्ये ४ लाख २९ हजार १४१ घरधुरीले वैकल्पिक ऊर्जा सोलारको प्रयोग गरिरहेका छन् । त्यो भनेको कुल घरधुरीको ६ दशमलव ६ प्रतिशत हो । सन् २०११ मा सोलार प्रयोग गर्ने घरधुरीको संख्या ७ प्रतिशतभन्दा बढी थियो । त्यसबाहेक ८२ हजार ४१८ घरधुरीले बिजुली नै बाल्न पाएका छैनन् । उनीहरूको घरमा सोलारसमेत नरहेको तथ्यांकले देखाउँछ ।
हजार मेगावाट सोलार विकासको चरणमा
नेपालमा पछिल्लो ३ वर्षको अवधिमा १ हजार मेगावाट क्षमताका सोलार आयोजना विभिन्न चरणमा गएका छन् । त्यसमध्ये १२ ओटा सोलार आयोजनाबाट ५८ मेगावाट विद्युत् उत्पादन शुरू नै भइसकेको छ । यद्यपि यसलाई जलविद्युत्सँग तुलना गर्दा २० मेगावाट मात्रै हो । पछिल्लो ३ वर्षको अवधिमा १२ ओटा आयोजनाबाट विद्युत् उत्पादन शुरू हुँदा अहिले यस क्षेत्रमा हजारौं लगानीकर्ताले सम्भावना खोजिरहेका छन् ।
अहिले ५ मेगावाट क्षमताका २ आयोजनाले निर्माणको अनुमति माग्दै विद्युत् विकास विभागमा निवेदन दिएका छन् । १४१ मेगावाट क्षमताका ४ आयोजनाले सर्वेक्षण अनुमति माग्दै विभागमा निवेदन दिएका छन् । ९९ मेगावाट क्षमताका १४ आयोजनाले निर्माण अनुमति पाएका छन् भने ७०५ मेगावाट क्षमताका ४० आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् । सबै गरेर अहिले १ हजार मेगावाट क्षमताका सोलार आयोजना विभिन्न चरणमा रहेको देखिन्छ ।
सोलार भए चाहिँदैन जलाशययुक्त आयोजना
नेपालजस्तो नदी प्रवाहमा आधारित आयोजनाको बाहुल्य रहेको ठाउँमा ऊर्जा सम्मिश्रणका लागि सोलारको निकै ठूलो महत्त्व छ । तर, सरकारले त्यसअनुसार नीतिहरू नल्याउँदा सोलारको विकास सोचे जसरी हुन नसकेको ऊर्जाविज्ञ डा. सन्दीप शाहले बताए ।
भारतमा आजको दिनमा २४ प्रतिशत अंश सोलारको पुगेको भए पनि नेपालमा भने यो १ प्रतिशत पनि पुग्न सकेको छैन । तर, सरकारले भने ऊर्जा सम्मिश्रणका लागि सोलारको अंश १० प्रतिशत राख्ने निर्णय पहिले नै गरेको थियो । निर्णय गरेअनुसार काम नगर्दा सोलार विद्युत्को उत्पादन निकै पछि परेको छ ।
३ हजार मेगावाट जलविद्युत् उत्पादन हुँदा १ हजार मेगावाट सोलार उत्पादन गर्न सकेको भए नेपालमा हिउँदमा भारतबाट आयात गर्नुपर्ने विद्युत््को परिमाण निकै नै घटाउन सकिन्थ्यो भने वर्षामा पनि विद्युत् खेर जाने अवस्था आउने थिएन । सोलार उत्पादनले दिउँसोको माग धान्ने र अर्धजलाशययुक्त आयोजनाले बिहान बेलुकाको पिक माग धान्ने हो भने जलाशयुक्त जलविद्युत् आयोजना नहुँदा पनि सहजै विद्युत्को गुणस्तरीय आपूर्ति गर्न सकिने जानकारहरू बताउँछन् ।
घरायसी प्रयोगका लागि रूफटप सोलार
रूफटप सोलार राख्दा १ किलोवाट क्षमताको मूल्य करीब ८० हजार रुपैयाँ पर्छ । एक किलोवाटको सोलारबाट दैनिक ५ युनिट विद्युत् उत्पादन हुन्छ । ५ किलोवाट क्षमताको रूफटप सोलार राख्दा करीब ४ लाख रुपैयाँसम्म खर्च हुन्छ । यसले दैनिक २० देखि २५ युनिट विद्युत् उत्पादन गर्छ । बेलाबेलामा प्यानलमा रहेको धूलो सफा गरिदिने हो भने ४० वर्षसम्म सोलारबाट करीब उत्ति नै क्षमताको विद्युत् लिन सकिने रिडी पावर कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपाल बताउँछन् ।
एक हजार वर्गफिटको घरको छतमा २५ किलोवाट क्षमताको रूफटप सोलार राख्न सकिने र यसले दैनिक १०० युनिट विद्युत् उत्पादन गर्ने उनको भनाइ छ ।
रूफटप सोलार राखेर नेट मिटरिङको सुविधा लिँदा दिउँसो खपत नभएको विद्युत्लाई प्राधिकरणले किनिदिन्छ भने रातमा चाहिने विद्युत् प्राधिकरणले नै दिन्छ । महीना पुगेको दिन सोलारको उत्पादन बढी भएमा विद्युत् प्राधिकरणले पैसा तिर्छ भने उत्पादन कम भएको अवस्थामा अपुग बिजुलीको मात्रै ग्राहकले पैसा दिनुपर्छ । यो व्यवस्था केही समयअघि कार्यान्वयनमा आएको पनि अहिले विद्युत् प्राधिकरणले यसमा थप गृहकार्य नगरेको पनि नेपालले बताए ।