हाल विश्वव्यापी रूपमा कोरोनाले सबै जनमानसलाई कुनै न कुनै रूपमा प्रभावित बनाएको छ । यसले पनि उही दिगो विकास लक्ष्यको सिद्धान्त ‘लिभ नो वन बिहाइन्ड’ झैं विश्वव्यापी रूपमा कसैलाई पनि छोडेन ।
सन् २०१६ देखि सन् २०३० सम्म लागू हुने गरी नेपाललगायत विश्वका १ सय ९३ राष्ट्रले दिगो विकास लक्ष्यका १७ लक्ष्य, १ सय ६९ उपलक्ष्य र त्यसभित्रका विश्वव्यापी सूचकांकहरूलाई कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता गरेका छन् । सन् २०३० सम्म गरिबी निवारण गर्ने, असमानता र अन्यायविरुद्ध लड्ने, मौसम परिवर्तनको सामना गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने जस्ता १७ वटा लक्ष्यहरू समेटिएको दिगो विकास लक्ष्य, २०३० को कार्यसूची विश्वभरका नेताहरूद्वारा सेप्टेम्बर २०१५ मा अवलम्बन गरी स्वीकार गरिएको हो । दिगो विकासका लक्ष्यहरू विश्वव्यापी लक्ष्यका रूपमा चिनिन्छन्, जुन आफैंमा अत्यन्त महत्वकांक्षी लक्ष्यहरू हुन् ।